सबै एकै त्रासमा बाँचेको समय

हामी घर भित्र लुकेका छौं। अदृश्य सन्त्रास कालको रुप लिई हामीलाई खपाखप निल्न उभिएको छ। मानिस आफू सुरक्षित रहन के पो गर्न तत्पर भएन र!

प्रकृति दोहन हामीबाटै भयो। हामी विश्व विजेता। पशु पंक्षी, खोला नाला, पहाड पर्वत, केहीले हामीलाई छेक्न सकेन। विशाल समुद्र जहाजले मात्र होइन, हवाईजहाजले पार गर्न सक्यो मानव सभ्यताले। समुद्रमा गोता लगाएर भित्रै पस्न सक्यो। अन्तरिक्षमा आफू जताततै उड्नसक्यो।

विज्ञापनको अनेक अविष्कारले सुख सम्पन्नता सबै आफ्ना अधिन लियो। मानव विवेक बुद्धि ज्ञान आदिकै कारण सबै प्राणी मध्ये सर्वश्रेष्ठ। यस श्रेष्ठतामा उसले ठाउँ ठाउँमा प्रकृतिमाथि विजय प्राप्त गर्‍यो । दुख बिराम भएमा औषधिको उत्पादन गरी उसले आफूलाई रोकमुक्त हुने प्रयास गर्‍यो। यसमा पनि नयाँ बिरामहरुको केही चुनौतीहरू सहित ऊ अघि बढी नै रह्यो। आज हामी विज्ञानका युगमा छौं।

परमाणु युद्व देश-देश माझ र केही उग्रवादको त्रास भने हामी बोकी आएका हौं। सबै सुरक्षा रहँदा रहँदै पनि मानिस एक अर्कामा दुश्मनी गरी आपसमा युद्वका आशङ्काले सदा त्रसिद छ। विश्व एक दुई भाग बनी एक अर्काको पक्ष विपक्ष बनिई उभिएको घडी पनि हो आजको समय।

व्यापार आदिमा देश देश माझ होड पनि चलिरहेको बेला हो यो। शक्ति र महाशक्ति माझको तानातान पनि छ। शक्ति सम्पन्न देश महाशक्ति भई आफूलाई ललकार्ने हो कि? महाशक्तिलाई यो डर छ। शक्ति सम्पन्नलाई महाशक्तिको थिचोमिचो सदा सही रहन गाह्रो भईआएको छ।

उत्पादक देशलाई आफ्नो बजार चाहिएको छ। विश्व एउटा बजार हो। उत्पादनहरु बेच्नु त पर्छ नै। आवश्यक देशले समान पाउँछ, उत्पादकले आर्थिक लाभ। यो समान बेच्ने पनि होड छ। यसमा पनि देश देश बीच  एउटा प्रतिस्पर्धा छ। सैनिक शक्ति बढाउने होड एकातर्फ डरलाग्दो रुप देखाएर ङिच्च दारा देखाएर उभिएको छ।

कहाँदेखि कहाँसम्म वर्णन गरौं, प्रत्येक देश देश मात्र होइन व्यक्ति व्यक्ति आशङकित भएका बेलामा छौं हामी।

प्रकृतिको अतिक्रमणले प्रकृति पनि मानव रक्षक मात्र भएर नरहेको क्षण हो यो। आँधि, तुफान सुनामी, बाढी, पहिरो, भुँइचालो, सुखा कति रुप लिई प्रकृति पनि मानव सङहार तर्फ अग्रसर भएको देखिन्छ।

मलाई त लाग्छ एक दिन मनुष्यद्वारा प्रताडित पशु पंक्षीहरूले पनि हाम्रो विरोधमा एक जुट बनी आन्दोलन गर्नेछन्। आशङ्कै आशङ्काको छ हाम्रो आजको संसार।

यस समय  ‘कोरोना’ नामक रोग हाम्रा सामू आईलाग्यो। जसले देशका सीमाना हेरेन। सम्पन्न विपन्न रोजेन। शक्तिशाली कमजोड भनेन। औषधि मुलोमा प्रगति गरेको देश भनी छोडेन। अजिंगरले आहार निले झैं मानिस बिरामी बनाउँदै, कालको मुख बाएर, खपाखप निल्न थाल्यो। उपचार नलाग्ने हैंजा आए मानिस मर्छ। तर यो कोरोना लागेका मानिसलाई छुनु नहुने। यो सरूवा रोग। सास फेराई, खोकी, हाच्छ्यौ गर्दा मात्र होइन, हात मिलाउँदा छुवाछुत मै पनि सरूवा रोग चिनाबाट शुरू भो। इटाली, स्पेन, अमेरिका हाहाकार छ। प्रायः विश्वका सबै देश प्रभावित। यसको औषधि बनिएकै छैन।

भारतमा यो अलिक ढिलो गरी आईपुग्यो। सरकारी तन्त्रको व्यवस्था अनुसार मानिस मानिसको भेटघाट यातायात, हाट बजार, शिक्षण संस्थानहरू, सरकारी कार्यालय हरू सबै बन्द गरिए। मानिस मानिस देख भेट नहुनू। एक आपसमा छुवाछुत नहोस्। सास मुख छोपेर माक्स लाएर फेर्नू। अतिनै जरूरी नभए घरबाट बाहिर ननिस्कनू। हामी यसैका पालनमा छौं।

मानिस घरबाट बाहिर त ननिस्कनु, तर सबै भित्र बसेर पनि संसार नचल्दो। बिरामीको उपचार गर्ने डाक्टर, नर्स, अस्पताल कर्मचारी कस्तै अवस्थामा पनि सदा तैनाथ रहनूपर्ने।

सुरक्षामा खटिएका पुलिस, सैनिक कुनै आपतमा पनि लुक्न नमिल्ने। सफाई कर्मचारी, औषधि, खाद्यान्न, साग सब्जी ,र, दूध व्यापारी, आवश्यक यातायात ड्राइभर, कर्मचारी, अन्य सरकारी तन्त्रका मानिसहरू आफू पूर्ण आफ्ना कर्तव्यमा समर्पित रही, परोपकारका निम्ति मात्र सदा अग्रसर रहनु परेको छ।

यस घडी हामी बन्द छौं। हाम्रो ध्येय आफूसम्म रोग आईनपुगोस् र आफ्नो माध्यमले अर्कासम्म सर्ने डर नफैलियोस्। देश निरोग बनोस्। संसार सुरक्षित रहोस्।

सरकारी आदेश हाम्रो निम्तिनै हो। हामी त ननिस्कनुमा मात्र छौं। यस त्रासद घडीमा पनि रात दिन हाम्रा निम्ति खटिने माथि भनिएका असंख्य वाध्यतावश निस्कनुपर्ने महानुभावका अघि मेरो शिर नतमष्तक भएर झुक्छ।

जे होस्, जसो होस्। आज हाम्रो शक्ति बल, बुद्धि भन्दा धेर हामीले संयम त्याग धैर्यसँग आफूलाई जोगाउनुछ। भोलिका झलमल्ल घाम हेर्न हामीले आज भने तपस्यानै गर्नुपर्छ। यहाँ प्रतिस्पर्धा, डाह, रिस आरिसको ठाउँ छैन। सबै एकै त्रासमा बाँचेको समय छ।

प्रकाशित मिति: : 2020-04-06 11:23:46

प्रतिकृया दिनुहोस्