कोरोना पछिको नेपाल

विज्ञान र वैज्ञानिकको अथक प्रयासले अवस्य कोरोना भाइरसको औषधि उपचार हुनेछ। आम मानिसमा आजको जस्तो डर त्रास हुने छैन। विश्व समुदाय हर्षले गद्गद् हुनेछ । मानिस चाडै आफूले देखेको, भोगेको विकराल पीडा भुल्नेछन् । विश्व आफ्नै गतिमा कुद्ने छ । सबैभन्दा धेरै पीडित फ्लोरेन्स नाइटिङ्गलको भूमीले  पीडा भुल्ने छ । उ आफ्नो ऐतिहासिक पात्र नाइटिङ्गललाई एकपटक पुनः सम्झने छ।

विशाल शहर भेनिस, मिलानका नहरमा पुष्पगुच्छा देखिने छन् । यता नेपालमा खासै ठूलो परिवर्तन देखिने छैन । अस्पताल थपिने छैनन् । आइसियू र भन्टिलेटर बढ्ने छैनन् । सेवा सुविधा पुरानै ढर्राको हुनेछ । जनताको मुहारमा उही पुरानै चित्रमा अभाव, दबाब र प्रभाव देखिने छन् । पहिला पनि विपत्ति केहीलाई फापेकै हो । अहिले कोभिड –१९ को कहर कसैलाई वरदान साबित हुनेछ ।

शक्तिशालीका आसेपासेले कोरोना भाइरसले गर्न नसकेको काम गर्नेछन् । निश्चितरूपमा केहीलाई वैवभ प्रदान गर्नेछ। माक्सबाट उठेको कमिसनले महल ठडिनेछ । मेसिन किन्दा आएको कमिसनले चिल्ला राता कार चढ्ने छन् । पिपिईकाे कमाईंले भव्य पार्टी आयोजना हुनेछ । सेनिटाइजरको गन्धले बास्नादार अत्तर किन्लान । लकडाउनले केही थान लक्की नव करोडपति थपिने छन् । गिद्द र जुकाको बिगबिगी यत्रतत्र हुनेछ । समाज पूर्ण रुपमा परजीवी हुनेछ।

हाम्रो विपत्तिप्रतिको बुझाइमा नयाँ आयम थपिने छन् । हामी फाइदा र विलासिताका भोगी हुनेछौं । नाफादायक काममात्र गर्नेछौं । कुन कुन कुरा कुन विपत्तिमा आवश्यक हुन्छ, के किन्दा बढि फाइदा हुन्छ, त्यसको पहिल्यै अनुसूचि तयार हुनेछ । जमिन हल्लिदा छिट्टै पाल अर्डर हुनेछ । शरीरको तापक्रम ९९ नपुग्दै नयाँ नयाँ मेडिकल कीट आउनेछन् । केही मानिस खुसी हुनेछन् । केहीले यस्तै अवस्थामा करोड, अर्ब कमाउनेछन् । संकट आउँदा मौकामा चौका, छक्का हान्न एकसय एक तयार हुनेछन् ।

भोलिको नेपालमा कुनै चाडपर्व, रितिरिवाज आवश्यक पर्ने छैन । यी संकट, विपत्तिका घडिहरु चाडपर्व हुनेछन् । समाजमा कमिनसनखोरी पहिलो दर्जाको अब्बल पेशा हुनेछ । कमिसनका नयाँ नयाँ रुप देखिनेछन् । मानिस बुढा बा, आमा घरमा बसेको सुतेको, खाएको र पालेको कमिसन माग्नेछन् नभए वृद्ध भत्ता खोसाखोस गर्नेछन् ।

नेपालका विश्वविद्यालयमा शिक्षाका नयाँ कोर्सहरु ल्याइने छ । कमिसनशास्त्र, भ्रष्टाचारशास्त्र, हनुमानवादका नविनतम् पाठ्यक्रममा डिजाइन गरिनेछ । युवाको पहिलो  रोजाइमा ती विषय पर्नेछन् । यी विषयका कक्षा कोठा भरिभराउ हुनेछन् । विद्यार्थी कक्षाका भुइँमा समेत बसेर पढ्नेछन् । किनकि यी विषयको  स्कोप धेरै हुनेछ । यस्ता विषयका जनशक्तिको बजारमा ठूलो माग हुनेछ । विद्यार्थीमा यी विभिन्न शास्त्रमा विद्यावारीधि गर्ने होडबाजी चल्नेछ । सरकारले छानिछानि कमिसनशास्त्र, भ्रष्टाचारशास्त्र, हनुमानवाद लगायतका विज्ञलाई मन्त्री, प्रधानमन्त्रीका सल्लाहकारमा नियुक्त गर्नेछ ।

नेपाली सन्दर्भमा कोरोना पछिको खेल पुरानै हुनेछ । मैदान पुरानै हुनेछ ।  खेलाडी नयाँ थपिने छन् । कोचको सोच बिचार उहीँ पुरानै हुनेछ । दर्शकमा पुरानै मानसिकता हाबि हुनेछ । नीति नियम पुरानै हुनेछन् । नयाँ त नम्बरमात्र हुनेछ, ७७, ७८ र ९० त्यस्तै त्यस्तै ।

मैले मेरो व्यक्तिगत निराशा व्यक्त गरिरहँदा उता इजरायली लेखक युभल नोहा हरारीले आफ्नो दुरदर्शि लेख “कोरोना पछिको विश्व” मार्फत विश्वलाई केही नयाँ रोचक चित्र दिए । चित्र केहि रोचक र पेचिलाे थिए । मानिसको  गोपनियतामाथि उनको ठूलो चिन्ता थियो । उनको भाव जर्ज अर्वेलले १९८४ मा लेखेको उपन्यासको अधिनायकवादी वाक्य “बिग ब्रदर इज वाचिङ यु” को झझल्को देखिने चित्र थियो । मानिस कसैको नियन्त्रणमा छ भन्नु हो ।

हरारीले लेखमार्फत चाइनाले जस्तो गोपनियता राखे मानिसको व्यक्तिगत रुचिको कुनै तुक नहुने । मानिस निरंकुश शासकको अधिनमा बसे उही कठपुतलीको अवस्था हुने चित्रण गरेका छन् । निराशा र आशा व्यक्त गर्दै  हरारीले विश्व भाइचारा, सहयोग र मानवता र आपसी समझदारी बढाउन विश्वासलाई सुझाव दिएका छन्। आज कोरोना छ भोली अर्काे त्रास नहोला भन्न सकिन्न । यस्ता त्रास जित्न अन्तर्राष्ट्रिय स्तरबाट ऐक्यवद्धता र आपसी हितका लागि “म” नभइ “हामी” को साझा अवधारणा बढाइ सबैले ऐक्यबद्धता जनाउनु पर्छ  ।

वास्तवमा अहिले पनि शक्तिशाली राष्ट्रमा प्रविधिले मानिसको पिछा गरेको हुन्छ । उसका हरेक क्रियाकलापलाई चियो गर्दै क्यामरामा कैद गरिएको हुन्छ । यसका पनि राम्रो नराम्रा दुबै पक्ष छन् । खैर विश्वका शक्ति सम्पन्न राष्ट्रमा त्यसको अभ्यास र प्रभाव देखिएला । उनीहरूका मानिसमा डरत्रास बढ्ला तर नेपाली सन्दर्भमा भने कोरोना पछिको वा आउने भविष्यमा खासै ठूलो असर देखिने छैन । नेपाली एउटा उखान छ “आए आँप, गए झटारो” भनेझैं भ्रष्टाचारमा लिप्त मानसिकता भएकोले, हामीलाई के को डर, के को लाज सरम ? काम पुरा भए राम्रै हुन्छ, नभए मिडिया आए फिर्ता दिने वा राजिनामा दिएर सुरक्षित बस्ने परिपाटी बनाएकै छन् । जसले गर्दा भोलि पल्टदेखि तनाव मुक्त हुन्छन् ।

पुनः नयाँ बाटो नयाँ रणनीति बुन्न हाम्रा नेता सिपालु छन्, नै । नेपाली राजनीतिकर्मी, नेताको अगाडि, हाम्रो अवस्थामा हरारीको गोपनियताको तर्कले कुनै काम गर्दैन । अर्को कुरा हाम्रोमा नाङ्गो नाच नाच्ने चलन व्याप्त छ । नेताका नाङ्गो नृत्य भनौ या ठूला ठूला किस्सा हाम्रै अगाडि छन् । ललिता निवास काण्डमा विष्णु पौडेलको जग्गा फिर्ता, गोकुल बाँस्कोटाको ७० करोडको मोलमोलाई, वाइडबडि काण्डलगायत अन्य धेरै भ्रष्टाचारका काण्ड आज कहिँकतै सुनिदैनन् । यिनले पदबाट राजिनामा दिएपछि सबै आरोपबाट मुक्त भए । सबैभन्दा सरल र सहज अहिले नेपाली राजनीतिको बाटो नै यही भएको छ ।

वास्तवमा नेपाली समाजमा हरारीले लेखेको जस्तो प्रभाव नहोला । हाम्रो भाषा, संस्कार, रहनसहन पश्चिमाको भन्दा धेरै फरक छ । त्यसकारण पनि हामीमा हरारीले भने जस्तो लक्षण नदेखिएला । तर हामीसँग विभिन्न कालखण्डमा राजनीतिक तथा प्राकृतिक आपत्त विपत्त पछि ठूलो हलचलबाट केहि नयाँ एवम् रोचक चित्र देखिएका छन् र भविष्यमा देखिने छन् ।

२००७ सालको आन्दोलनले राणाकालीन अधिनायकवादी शासनको अन्त्य भयो । देशमा प्रजातन्त्रको स्थापना भयो । राजाले पुनः शक्ति पाए भने नेपाली कांग्रेस पार्टीले राजनीतिक वृत्तमा नयाँ  इतिहास रच्यो । पहिलोपटक देशले जननिर्वाचित प्रधानमन्त्री पायो । राज्यले नयाँ शासन मार्फत केही प्रशासनिक, राजनीतिक, आर्थिक परिवर्तन देखायो तर त्यो लामो टिक्न सकेन ।

२०१७ सालमा राज्यले पन्चायती व्यवस्था पायो । राजाले सम्पूर्ण शक्ति आफ्नो हातमा लिए । पन्चायती व्यवस्थाले पनि केही नयाँ तरङ देखायो निरङकुश शासनमार्फत जनताका राजनीतिक अधिकार आफ्नो पकडमा राखेर राजावादी प्रभुत्व कायम भयो । राजाको अगाडि, पछाडि हिड्ने छोटे राजाहरु जन्मे, मन्डलेको नकापमा । पन्चायती मन्डलेवादबाट समाजले व्याप्त दु:ख पायो । समस्या झेल्दै गुमराहमा बस्न बाध्य पारियो ।

२०४७  बाट केही नयाँ हकअधिकार प्राप्त भएपनि नेताको शक्ति मोह, नातावाद कुपावादले केही नयाँ समान्ति जन्माए पनि नेताहरुकै पुरातनवादी मानसिकताले आसेपासेलाई पोस्न बाहेक अरु काम भएन । २०६२–६३ को जनआन्दोलनले नेपाली राजनीतिको कायापलट भयो । राजसंस्थाको अन्त्य भयो । देशमा संघीय गणतन्त्रात्मक शासन पद्धतिको थालनी भयो । नयाँ संविधान बन्यो, प्रधानमन्त्री फेरिए तर समस्या पुरानै । खाने, खुवाउने र रजाइँ गर्ने ।

पछिल्लो विपत्ति, संकट नेपालीले देखेको, भोगेको २०७२ महाभुकम्प हो । भुकम्प पछिको नेपालको विषयमा विश्वलाई थाहा छ । २०७२ को भुकम्पले हाम्रो धरातल, हाम्रो अवस्था, नीति नियम र निकायको चित्र सबैमाझ उतारेको छ । हाम्रा नेता कस्ता थिए । कर्याकर्ताको भूमिका कस्तो थियोे । योजना कस्ताकस्ता थिए, के के भयो र के हुँदैछ त्यो पनि देखेका छौं । राहतमा कसले रजाइँ गरे त्यो पनि थाहा छ । अन्तर्राष्ट्रिय सहयोग कता हरायो त्यो पनि थाहा छ । भलै भुकम्प पीडा बनेर आयो । धेरैको जिउ, धन लिएर गयो तर केहीलाई भने राम्रै दियो । कसैलाई नव करोडपति बनायो । दुई पांग्रेबाट चार पाग्रेमा बढुवा दियो । धेरैले घरका तला थपे । बैंक ब्यालेनस बडाए । अरु हिनामिनाको लेखाजोखा त हुँदै होला ।

अहिले कोरोना भाइसको कहरमा पनि हाम्रा नेताले भुकम्पकै दृश्य दोहार्‍याउँदै छन् । अत्यावश्यक माक्स, पिपिई लगायतका मेडिकल उपकरणमा घोटाला तथा कमिसनको घिनलाग्दो खेल खेल्दैछन् । संकटमा फाइदा खोज्ने घुस्याहा प्रवृत्तिबाट आजित नेपाली समाज आक्रान्त भएको छ । यस्तो संक्रमणकालीन अवस्थामा भ्रष्टाचार गर्नेबाट देश विकासको सपना देख्नु आम नेपाली जनताको भुल भएको छ ।

अन्त्यमा, विश्वका शक्तिशाली राष्ट्र कोरोना भाइरसविरुद्धको लडाइँमा छन् । यो संक्रमणकालीन स्थितिलाई शक्तिशाली राष्ट्रहरुले कोभिट–१९ विरुद्ध युद्धको संज्ञा दिएका छन् । हाम्रो स्थिति अलि फरक छ । जसोतसो कोरोनाको कृपाले हालसम्म त्यति क्षति भएको छैन । सबैभन्दा ठूलो, नेपालीको ज्यानमा हानी भएको छैन । तर विडम्बना भ्रष्टाचारी भाइरसले नेपालमा सिमा काटिसके । संकटमा लुट मच्चाएर, विपत्तिमा बितन्डा मच्चाएर । खैर, अहिले विश्वमा एउटा ठूलै संग्राम चलेको छ,  कोरोन भाइरस भर्सेस् मानिस । युरोप अमेरिकतिर कोरोना हाबी हुँदैछ । हाम्रोमा भने भ्रष्टाचारीको पल्ला भारी छ । भ्रष्टाचारी र भ्रष्टाचारले अग्रता कायम गरकै छ ।

याे पनि:

मस्को अस्पतालको बेड नम्बर २०

विद्धान शिक्षक प्रकृतिको लद्दु विद्यार्थी हामी मान्छे

गन्धर्वलाई रोगभन्दा भोकको चिन्ता (भिडियाे)

लकडाउनमा महत्वपूर्ण अनलाइन शिक्षा प्रणाली

हामीसँग भएको रकम सबै सकेर भोलि टाट पल्टिए के गर्ने?

 

प्रकाशित मिति: : 2020-04-05 08:00:00

प्रतिकृया दिनुहोस्