तीन पटक ग्रामी अवार्ड उचालेका गायक बिल विदर्सको निधन

संगीत क्षेत्रको प्रख्यात ग्रामी अवार्ड तीन पटक उचालेका गायक बिल विदर्सको निधन भएको छ। विदर्सको गत सोमबार लस एञ्जलसमा ८१ वर्षको उमेरमा निधन भएको उनको परिवारले शुक्रबार विज्ञप्तिमार्फत जनाएको छ।

पारीवारीक स्रोतका अनुसार उनको निधन मुटुसम्बन्धी रोगका कारण भएको हो।

सन् १९७० तिर ‘लिन अन मी, लभ्ली डे, एन्ट नो सनसाइन’लगायतको चर्चित गीत पस्कन सफल गायक विदर्स सानदार गायकी र सुमधुर आवाजका धनी थिए।

उनका ‘लिन अन मी’ र ‘एन्ट नो सनसाइन’ अहिलेसम्मकै उत्कृष्ट संगीतमा पर्छन्। अमेरिकाका तत्कालीन राष्ट्रपति बाराक ओबामा र बिल क्लिन्टनका अघि उनले लिन ‘अन मी’ प्रस्तुत गरेका थिए।

 बुवा र आमाको पारपाचुकेपछि उनी मामाघरमै हुर्के। १७ वर्षकै उमेरमा विमानको मेकानिक भएर काम गरे। ९ वर्ष मेकानिक भएर काम गरेपछि उनी लस एन्जलस पुगे। त्यहाँ गीतार किनेर संगीत यात्रा थालेका थिए।

दह्याङ ओभर, ट्वान्टी एट डेज, अमेरिकन ब्यूटी, जेरी म्यागक्वायर, क्रुकलिन, फ्लाइटलगायतका फिल्ममा पनि उनका संगीत प्रयोगमा आएका छन्।

‘हामीलाई माया गर्ने व्यक्ति गुमाउनु पर्दा दुखित छौं। उनी असल पति र पिता थिए। उनले संगीत र कवितामार्फत इमानदारीपूर्वक मानिसहरुलाई एक अर्कासँग जोड्‍ने गर्थे।’ परिवारले मिडियालाई भनेका छन्,‘उनको संगीत संसारमै आधारित थियो।’

प्रकाशित मिति: : 2020-04-04 09:59:15

प्रतिकृया दिनुहोस्