संसार नै कोरोनामय भएको छ। जे विषयमा कुरा गर्न थालौँ, कोभिड–१९को यो महामारीको कुराले प्रवेश पाइहाल्छ। हामी सबैको दैनिकीमा यो आतङ्कले उथलपुथल ल्याइदिएको छ। कोभिड–१९को डरले हामी सबै घरभित्र बन्दी भएका छौँ। आर्थिक हिसाबले मध्यमवर्ग माथिका परिवार अहिलेसम्म जसोतसो धानिएकै छन् तर गरिबको बेहाल भने सुरु भइसकेको छ। परीक्षणको क्षमता सीमित भएकैले हुनुपर्छ, ‘सार्स–२–कोरोनाभाइरस’ नाम दिइएको यो नयाँ भाइरसबाट संक्रमितहरू धेरै पत्ता लागेका छैनन्। थाहा पाउने गरी ठूलो संख्यामा कोभिड–१९का लक्षणहरू देखा पर्न थालेपछि कस्तो परिस्थिति आउने हो, कल्पनै गर्नसमेत पनि साहस चाहिने स्थिति छ। सानै गल्तीले पनिस्थिति अनियन्त्रित हुन सक्छ।
र, जब रोगग्रस्त मानिसको संख्या मकैका फूल फुटेझैँ विस्फोटक रूपमा बढ्न थाल्छ, कोरोनाले कुनै विभेद नगरी धनी, गरिब, निर्धा, शक्तिशाली, शासक/शासित सबैलाई गाँज्नेछ। हामीले सतर्कता र तयारीका निम्ति पाएको समय र अवसर छिटोछिटो गुमाउँदैछौँ। अझै पनि केही समय बाँकी छ। यो महत्वपूर्ण अवसर नगुमाउने हो भने हामी अझै जित्न सक्छौँ। बोल्न र लेख्न सक्ने नागरिकले राज्यबाट भएका केही प्रयत्नलाई सकेसम्म सकारात्मकताका साथ हेर्नुपर्छ र त्यसमा सहयोग गर्नुपर्छ भनेरै अहिलेसम्म धेरै आलोचना भएको छैन। तर जुन स्तरको चेत, इमान्दारी र मेहनतको आवश्यकता छ, त्यो सरकारका सबै अङ्गमा छैन कि भन्ने डर झन् झन् बढ्दैछ। र, यो डर प्रमाणित भएछ भने कोरोनाले भन्दा बढी हानिहुनेछ।