सङ्कटमा स्थानीय तहको कामले सङ्घीयताको औचित्य पुष्टि

रासस

काठमाडौँ

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कोरोना भाइरसको सङ्क्रमणले सङ्घीयताको औचित्य पुष्टि भएको बताएका छन्।

उनले स्थानीय तहले सङ्कटका बेलामा देखाएको कामले सङ्घीयता र स्थानीय तहको अधिकार आवश्यक थियो भन्ने पुष्टि भएको बताएका हुन्। 

नेता पौडेलले स्थानीय तहले क्वारेन्टाइन बनाउनेदेखि गरिब विपन्नलाई राहत दिनेजस्ता काम गरेकामा प्रशंसा गर्दै स्थानीय तहमा जनप्रतिनिधिलाई प्रशिक्षित बनाउन सकेको भए सङ्कटका बेलामा अझै क्षमता देखाउन सक्ने पनि स्पष्ट पारेका छन्।
 
वरिष्ठ नेता पौडेलले आज सामाजिक सञ्जालमार्फत अहिलेको विषम परिस्थितिमा सरकारले केही राम्रा काम गरेको भए पनि पर्याप्त काम गर्न नसकेको भन्दै असन्तुष्टि जनाए। 

राज्यको भूमिका बारेमा सरकारमा बसेकाहरुले नजरअन्दाज गरेको आरोप लगाउँदै उनले सङ्कटका बेलामा राज्यको भूमिका खड्किएको आमनागरिकले महसुस गरेको दावी गरे। 

कोरोना भाइरसको सङ्क्रमणबाट नेपालमा आत्तिनुपर्ने अवस्था नभएको भन्दै उनले संयमित भई आत्मविश्वास बढाएर सरकारले जारी गरेको लकडाउनलाई विवेकपूर्ण उपयोग गर्न आमनागरिकलाई आपिल गरे।

अनियमितताबारे छानविनको माग 
 
वरिष्ठ नेता पौडेलले कोरोना भाइरसको सङ्क्रमण रोकथाम तथा उपचारका लागि स्वास्थ्य सामग्री खरिदमा देखिएको भनिएको अनियमितताको छानविन गर्न माग गरेका छन्।

उनले सरकार स्वास्थ्य सामग्री खरिदमा भएको देखिएको भ्रष्टाचार ढाकछोप गर्न लागेको आशङ्का गर्दै भ्रष्टाचारमा जोसुकै संलग्न भए पनि तत्काल छानविन गरी कारवाहीको माग गरेका छन्।

नेपाली सेनाले गर्ने खरिद प्रक्रियामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन गर्दैन भन्ने मानसिकतामा सरकार देखिएको उनको  आरोप छ। उनले चीनमा कोरोनाको सङ्क्रमण देखिएकै अवस्थाबाट किन नेपाल सरकारले पर्याप्त तयारीमा नलागेको भनी प्रश्न गरे। 
 
 
समयमै विदेशबाट आएकाको पहिचान नहुँदा त्रास
 
कोरोना भाइरस  सङ्क्रमण फैलिएका मुलुकबाट आएका नेपाली नागरिकको पहिचान गर्न नसकेका कारण आमनागरिकमा त्रास फैलिएको भन्दै विदेशबाट आएका नागरिकलाई स्वास्थ्य सेवाको पहुँचमा आफूलाई पु¥याउँदै स्थानीय तहको सम्पर्कमा बसी राज्यलाई सङ्कटमा सहयोग गर्न उनले अपिल गरेका छन्। 

नेता पौडेलले आमनेपाली काँग्रेसका कार्यकर्तालाई  स्थानीयस्तरमा आफँै निर्वाचित जनप्रतिनिधि जस्तो भएर आफू र आफ्नो समाज जोगाउने काम लाग्नसमेत निर्देशन दिए।
 
अहिलेको विषम परिस्थितिले विश्वमा हराउँदै गएको मानवीयता र वातावरण विरोधी विकासको  बारेमा समीक्षा गर्नुपर्ने बेला आएको नेता पौडेलको भनाइ छ। 

विश्वलाई बजारीकरणका कारण गुमाउँदै गएको मानव–मानवबीचको सद्भाव र मानवीयता देखाउने अवसर मिलेको बताउँदै नेता पौडेलले विश्वले अब विकासको अहिलेको मोडेल परिवर्तन गरी प्रकृत्ति मैत्री विकासको मोडेललाई आगाडि बढाउन लाग्नुपर्ने बेला आएको बताए।

प्रकाशित मिति: : 2020-04-03 17:51:28

प्रतिकृया दिनुहोस्