सरकारले लकडाउनको तयारी गर्दै गर्दा जुम्ली किसान मार्सी धानको क्यालेन्डर हेर्दै थिए। क्यालेन्डरमा बेन्नु बनाउने दिन श्रीपञ्चमी (बसन्त) बाटै सुरु हुन्छ। तर मार्सी फलाउनको लागि सबैभन्दा बढी खट्नुपर्ने महिना चैत हो भने क्यालेन्डर सबैभन्दा प्रभावकारी रुपमा लागु हुने महिना पनि चैत नै हो। संयोग यहि बेला देशमा भएको लगडाउनको कुनै पर्वाह नगरि किसानहरु धमाधम मार्सी धानका बेर्ना छर्दैछन्।
लकडाउनको प्रभाव सबैभन्दा बढी सदरमुकाम खलंगामा देखिए पनि बजार आसपास र गाउँतिर किसानको चहलपहल घटेको छैन। जसको प्रमाण हो, चैत २० गते। चैत २० लाई जुम्लीहरु बिसुवा पर्वको रुपमा मनाउँछन्। जसको मुख्य विशेषता भनेको घरमा उमारिएको बीउ बेर्नामा छर्नु हो।
चैत १२ गतेबाट धान खेतीको चाप सुरु हुन्छ। मंसिरमा जौ छरेपछि खासै खेतीपातीको काम नहुने हुनाले जुम्लीहरु व्यापार तथा कामको सिलसिलामा जिल्ला बाहिर तथा भारतसम्म जान्छन्। तर चैत १२ गतेसम्म जहाँ गएपनि खेतीपातीको लागि घर अनिवार्य फर्किसक्नुपर्ने हुन्छ।
क्यालेन्डर अनुसार १२ गते धान बताउने, सुकाउने र भिजाउने काम हुन्छ। चार दिन भिजाएको धान १६ गते उतार्न हल्का सुकाउने गरिन्छ। बीेउलाई घरको भान्सा कोठामा भोजपत्र र हरिया सल्लीपिरले न्यानो गरी कपडाले बेरेर राख्नुपर्छ। यसले बीउ अंकुराउनलाई सहयोग गर्छ। हरेक दिन साँझ बिहान चिसो पानी छर्केर अंकुराएको धानको टुसालाई ठूलो बनाइन्छ। यसरी चार दिनपछि टुसाएको बीउ २० गते छरिन्छ।
खनजोतको काम पुरुषले गर्ने भएकाले भारत तथा देशभर घुम्ती व्यापार गर्न र काममा हिँडेको जुम्ली चैत १२ गते आइपुग्छ। एउटा भनाइ नै छ– ‘चैत १२ गते नआएको जुम्ली मर्यो भनी जान्नु।’ त्यसैले चैत १२ गते धान भिजाउने बेलासम्म घर नआएको जुम्ली मर्यो होला भन्ने अनुमान गरिने हुनाले यस्तो उखान भन्ने गरिएको संस्कृति सम्बन्धिका जानकार रमानन्द आचार्य बताउँछन्।
‘सूचनाका अन्य माध्यम नभएको र सम्पर्क नहुने हुनाले चैत १२ गते घर नपुगेको जुम्ली मरेको आशंका गरिन्छ,’ उनेले भने, ‘पहिले पहिले धान भिजाउने बेला घर नपुगेका सदस्यको किरिया गर्ने चलन थियो। तराइमा गर्मीका कारण औलो लाग्ने र चिसोमा बस्ने मानिस छिटै मर्ने सम्भावना हुनेहुँदा पनि यस्तो गर्ने गरिन्थ्यो।’ हरेक वर्ष बर्षे बाली भित्र्याएसँगै व्यापार तथा काममा हिडेका जुम्लीहरु धमाधम घर फर्किन लागेका छन्।
कामको सिलसिला र रोजगारीको लागि जिल्ला बाहिर वा भारत गएका मानिसहरु अनिवार्य रुपमा मार्सी धानको बीउ भिजाउने बेला घर पुग्नै पर्ने भन्ने चलन छ।लकडाउनको अवधिमा चैतको ५–६ गते देखि नै जुम्ला फर्किनेको लर्को लागेको थियो। बीउ राख्नकै लागि भनेर समयमै घर फर्किएको सिंजाका शिव न्यौपानेले बताए। ‘म त अलि समयमै घर फर्किएर बीउ भिजाउने समय पाए,’ उनले भने, ‘पछि आउने साथीहरु कोही अहिले क्वारेन्टाइनमा बसिरहेका छन् त कोही सिधै घरमा आएर आज बीउ बेन्नुमा छर्किदैछन्।’
लेकतिर नहुने भएपनि जुम्लाका आठवटै स्थानीय तहमा धान खेती हुन्छ। कोरोना भाइरस संक्रमणको त्रास भएपनि अधिकांश किसान लकडाउनको वेवास्था गर्दै खेतमा जम्मा हुन थालेका छन्। बिहानै बीउ छरेर विसुवा पर्व मनाइरहेका छन्।
विसुवामा जुम्लाका किसानले धानको बीउ बेर्नामा राखेको खुसियालीमा मनाइन्छ। बिहीबार चैत २० गते अर्थात विसुवा पर्वको दिनमा जुम्लीले कालीमार्सी धानको बीउ बेर्नामा राख्ने परम्परा भएको स्थानीय जानकार पूर्णसिंह कठायतले बताए। ‘चन्दननाथ बाबा र लछालकृति पैकलाले कालीमार्सी धानको उत्पादन गरेको दिनको सम्झनामा विसुवा पर्व मनाउने चलन छ’ उनले भने, ‘परम्परादेखि नै बाजा बजाएर कालीमार्सी धानलाई बेन्नु छर्ने गरिदै आएको छ। त्यसैले चैत २० लाई स्थानीय पर्वको रुपमा लिइन्छ।
चैत २० मा बेन्नुमा राखिएको बीउलाई जेठ–असारमा खेतमा रोपिने कृषि विकास कार्यालयका प्रमुख बालकराम देवकोटाले बताए। ‘बेन्नुमा बीउ छर्ने २० गते निश्चित दिन भएकाले किसान बाध्यात्मक स्थितिमा बेर्नामा बीउ छरिरहेका छन्। जिल्लाभरि एकै दिन छर्ने गरिन्छ,’ उलने भने, ‘ढिलो भए ६ महिने धानको चक्र नै बिग्रन्छ। वैज्ञानिक हिसाबले पनि आजको दिन बीउ बेर्नामा राख्नै पर्छ।’
जिल्लामा २ हजार ८ सय हेक्टरमा धान खेती हुँदै आएको छ भने ५ हजार ६ सय मेट्रिक टन धान उत्पादन हुने कृषि विकास कार्यालयको तथ्यांक छ। जुम्लामा मार्सी धानको बीउ पत्ता लागेपछि यहाँको मुख्य बाली धानलाई मानिदै आएको छ। मुख्यबालीको तयारी भएन भने भोकमरीको सम्भावना हुने बताउँछन् तातोपानी गाउँपालिका ढाँगीबाडाका शिक्षक गाणेश डाँगी। ‘अहिले धान खेतीका लागि जुटेनन् भने किसानहरुको दैनिकी नै डामाडोल हुन्छ,’ उनले भने।
घरपरिवारले टिकाटालो गरेर बेर्नामा बीउ आएको चन्दननाथ नगरपालिका –१ आचार्यबाडाका गोबिन्द आचार्यले बताए। ‘आजको दिन हाम्रो महत्त्वपूर्ण सामाजिक पर्व हो,’ उनले भने, ‘पहिले पहिले महिलाहरुलाई अघि पछि निकै काममा खटिनु पर्ने भएकोले विसुवालाई माइत बिसाउनी समेत भनिथ्यो।’
चैत महिना देखि कामको सिजन हुने भएकोले यहाँका छोरी चेलीले माइत जान पाउदैनन्। छोरी चेलीले देउडा लगाउने परम्परागत मान्यता छ। एक आपसमा रमाइलो गरी सुख, दःुख साट्ने गर्छन्। ‘तर लकडाउनको समय भएकाले हामीले बेर्नामा बीउ मात्रै छर्यौं। छोरी, बहिनीलाई माइत बोलाएनौं,’ गोबिन्दले थपे।
समयमै बीउ नछरे धान पाक्दैन। धान नपाकेपछि खेती गरे नगरेको केही अर्थ हुँदैन। त्यसैले लकडाउनको प्रवाह नगरी बेन्नुमा आएको चन्दननाथ १० का किसान कन्न कामीले बताए। ‘धानको बीउ छर्न जान लागेको छु। यो साल बीउ राम्रै भएको छ। धान पनि राम्रै होला भन्ने आश गर्याका छौं,’ उनले भने ‘धान खेतीबाट धेरै दुःख छ। लगानी अनुसारको उत्पादन हुँदैन। पूर्खाले गरिआएको धान र मुखमा माड हाल्ने बाटो यही भएकोले हरेक साल यस्तै गर्छौं।’
हरेक वर्ष जस्तोसुकै आपत आइलागे पनि किसानहरु आफ्नो कर्मबाट पछि हट्दैनन्। त्यसैले लकडाउनको पर्वाह नगरी मार्सीधानको बीउ बेर्नामा राखिएको छ।
याे पनि:
महावीर पुन भेन्टिलेटरको डिजाइन गर्दै, कोरोना जाँच्ने बुथ बनाउने इञ्जिनीयर आह्वान