पोखरिया अस्पतालमा आइसोलेशन कक्ष सञ्चालन

रासस

वीरगञ्ज

पर्साको पोखरीया अस्पतालमा स्थापना गरिएको आइसोलेशन कक्ष सञ्चालनमा आएको छ। 

राष्ट्रिय जनता पार्टीका सह—महासचिव एवम् समाजसेवी निजामुद्दीन समानी र उद्योगी सत्यनारायण क्यालले आइसोलेशन कक्ष सञ्चालनका लागि आवश्यक पर्ने स्वास्थ्य सामग्री उपलब्ध गराएपछि बुधवारदेखि सो कक्ष सञ्चालनमा आएको हो। 

उपलब्ध गराएको स्वास्थ्य सामग्रीमा कोरोना भाइरसका शङ्कास्पद बिरामीको स्वास्थ्य परीक्षणका लागि चिकित्सकले लगाउनुपर्ने व्यक्तिगत सुरक्षा सामग्री (पिपीइ) १० थान, सेनिटाइजर, मास्क, ग्लोव्स र ज्वरो नाप्ने थर्मल गन रहेका छन्। उक्त सामग्री अस्पतालका चिकित्सक अनिल यादवलाई हस्तान्तरण गरिएको थियो। 

आइसोलेशन कक्ष स्थापना भएपनि चिकित्सकले पिपीइको अभावमा कोरोना भाइरसका सम्भावित सङ्क्रमितलाई जाँच गर्न नसकिने बताएपछि सो कक्ष सञ्चालनमा आएको थिए। 

सो अवसरमा महासचिव समानीले विभिन्न सहयोगीदाताको सहयोग लिएर कोरोना भाइरस सङ्क्रमितको चेकजाँचमा कुनै प्रकारको बाधा अवरोध नहोस् भन्ने उद्देश्यले आवश्यक सामग्री सहयोग गरेको बताए।

कार्यक्रममा पोखरीया नगरपालिकाका प्रमुख दिपनारायण रौनियार र उपप्रमुख सलमा खातुनले कोरोना भाइरस (कोभिड–१९) को रोकथाम, प्रतिरक्षा र उपचार व्यवस्थालाई थप प्रभावकारी बनाउन नगरपालिकाले आवश्यक गृह कार्यमा जुटेको जानकारी दिए। 
 

पोखरीया नगरपालिकाले कोरोना भाइरस सङ्क्रमणको जोखिम न्यूनीकरणका लागि जिल्ला उच्चाङ्गल रामदेव कलवार उच्च माध्यमिक विद्यालय पोखरीयामा नौ शय्याको क्वारेन्टाइन र पोखरीया अस्पतालमा तीन शय्याको आइसोलेशन कक्ष स्थापना गरिएको थियो।

प्रकाशित मिति: : 2020-04-02 12:58:01

प्रतिकृया दिनुहोस्