कोरोनासँग लड्दै किसान

रासस

रसुवा

खेतीपातीका याममा  कोरोना भाइरसको त्रास बढे पनि दक्षिणी रसुवाका बासिन्दा भने आफ्नो परम्परागत खेती प्रणालीलाई निरन्तरता दिइरहेका छन्। 

लकडाउनको पूर्ण पालना गर्दै किसानहरु आफ्ना घर नजीकैको खेतबारीमा मकै रोप्ने तयारीका लागि जमीन खन्ने काम गरिरहेका छन्। 

स्थानीय अगुवा किसान एवं समाजसेवी साधुराम पौडेल भन्छन्, 'नेपाल सरकारले लागु गरेको लकडाउनको हामी किसान पनि पूर्ण पालना गर्छाैँ, वल्लो घर पल्लो घर गर्दैनौँ, सीधै खेतीमा छुट्टाछुट्टै जान्छौँ र काम गर्छाैँ। आपसमा भेटघाट गर्ने कामलाई हामीले बन्द गरिसकेका छौँ, छिमेकीलाई केही भन्नुपरेमा परैबाट ठूलो स्वरले बोल्छौँ।'

 एउटै घरका मानिस पनि कोदालो लिई खेतबारीमा काम गर्न जाँदा  अलि टाढा  छुटृाछुटृै रहन्छन्। लकडाउनका कारण छरछिमेकीलाई भारोपर्ममा बोलाउने र आपसी भेटघाट गर्ने काम  पनि तिनले बन्द गरेका छन्।

वसन्त ऋतुमा रोपिने पहिलो प्रमुख बाली मकै भएकाले खेतबारीको जोतखन तथा माटो हल्का बनाउने काम अगाडि बढाइएको किसानले बताएका छन्।

 माथिल्लो क्षेत्रका प्रायःजसो किसानले मकै तथा आलु रोप्ने काम गरिसकेका छन् भने दक्षिणी रसुवाको धैबुङ, मनिगाउँ, जिबजिबे, भोर्लेलगायत क्षेत्रमा परम्परादेखि रोपिँदै आएको मकै रोप्ने समय शुरू भएको बताइएको छ।

  दक्षिणी भेकको तल्लो क्षेत्रमा भने वैशाख महिनामा मकै रोपण गरिने जनाइएको छ। किसानले आफ्ना खेतबारीमा जाने गोरेटा बाटोदेखि घरसम्मका फोहरमैलासमेत नियमित सफा गरिरहेका छन्। 

 जिबजिबे क्षेत्रको  सडकलगायत मानव बस्तीको ससाना गल्लीगल्लीमा  समेत कीटाणुनाशक औषधि छर्ने काम सम्पन्न गरिसकिएको कालिकास्थान ५ का वडाध्यक्ष रामहरि देवकोटाले बताए।

 जिल्लामा मानिसहरु निकै सजग  छन्। आफूहरु कोभिड– १९ बाट बच्न र बचाउन नियमित साबुनपानीले हात धुने, मास्क लगाउने, पानी उमालेर खाने, भेटघाट नगर्ने तथा लकडाउन अवधिभर इष्टमित्रको घरमा ओहरदोहर नगर्ने जस्ता विषयमा सतर्क रहेको जिबजिबेका बासिन्दा बताउँछन्।

प्रकाशित मिति: : 2020-04-01 11:28:29

प्रतिकृया दिनुहोस्