प्रदेश नं १ मा मङ्गलबारसम्म कोभिड–१९ को आशङ्कामा ४६ जनाको थ्रोट स्वाब नमूना सङ्कलन गरिएको छ। दश महिलासहित ४६ को स्वाब नमूना सङ्कलन गरिएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा सुरेश मेहताले जानकारी दिए।
सङ्कलन गरिएका नमूनामा झापाबाट पाँच, मोरङबाट सात, सुनसरीबाट २५, धनकुटाबाट एक, ते¥हथुमबाट दुई, सोलुखुम्बुबाट दुई, उदयपुरबाट एक र पाँचथरबाट तीन जना रहेका छन्। सङकलित नमूनामध्ये ३० जनाको रिपोर्ट नेगेभिट आएको र १६ को रिपोेर्ट आउन बाँकी रहेको प्रवक्ता डा। मेहताले बताए।
प्रदेशमा मङ्गलबारसम्म चार महिलासहित सात जना आइसोलेसनमा भर्ना भएका छन्। भर्ना भएकामध्ये सोलुखुम्बुमा एक, उदयपुरमा दुई, पाँचथरमा तीन र ताप्लेजुङमा एक जना रहेको डा। मेहताले बताए। प्रदेशमा कोभिड–१९ बाट सङ्कमितको उपचारका लागि ३५ अस्पतालमा ३६१ वटा आइसोलेसन श्यया तयारी अवस्थामा रहेका छन्।
सामाजिक विकास मन्त्रालयले प्रदेशका जिल्ला स्वास्थ्य कार्यालय, स्थानीय तह, सुरक्षा निकाय तथा अस्पतालहरुलाई कोरोना नियन्त्रणसम्बन्धी विभिन्न स्वास्थ्य सामाग्रीहरु मङ्गलबार वितरण गरेको छ।
मन्त्रालयले व्यक्तिगत सुरक्षा उपकरण (पीपीइ) २९७ थान, आईआर थर्मामिटर १६ थान, सर्जिकल मास्क २२ हजार १५० थान, ग्लोब्स १८ हजार ५२६ थान, ह्याण्ड सेनिटाइजर ८१८ थान र पीपीइ गाउन ३५ वटा वितरण गरेको प्रवक्ता डा मेहताले बताए।
यसैबीच प्रदेश नं १ का स्वास्थ्य संस्थाहरुले ‘फिबर क्लिनिक’ बन्द गरेको भन्दै अविलम्ब सञ्चालन गर्न मन्त्रालयले निर्देशन दिएको छ।
सामाजिक विकास मन्त्रालयले आकस्मिक र फिबर क्लिनिक बाहेकका अन्य सेवा बन्द गर्न निर्देशन दिए पनि कतिपय स्वास्थ्य संस्थाहरुले फिबर क्लिनिक पनि बन्द गरेको गुनासो आएपछि सञ्चालन गर्न निर्देशन दिएको हो।