राष्ट्रिय आविष्कार केन्द्रले तयार पारेको कोरोना भाइरस (कोभिड १९) विरुद्ध लडाइँको अग्रिम मोर्चामा जुध्ने चिकित्सकको पोशाक ‘पीपीई’ (पर्सनल प्रोटेक्टिभ इक्युप्मेण्ट) अत्यावश्यक भएका अस्पताललाई वितरण गर्न थालेको छ।
आइतबारसम्म सम्म ४५० वटा पीपीई गाउन तयार भइसकेको राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख एवम् सामाजिक अभियन्ता महावीर पुनले जानकारी दिए।
पुनका अनुसार तीन वटा गार्मेन्टमा अहिले पनि पीपीई बनाउने काम धमाधम चलिरहेको र एक दिनमा १५० वटा पीपीई तयार भइरहेको छ।
‘जति धेरै सकिन्छ त्यति धेरै बनाउने हो र वितरण गर्ने हो’, उनले भने, ‘अस्तिदेखि पीपीई गाउनको अति आवश्यक भएका अस्पताललाई ५ देखि १० वटासम्म वितरण गरिरहेका छौ।’
उनले बाहिरी जिल्लामा पनि आइतबारदेखिनै सामाग्री पठाउन सुरु गरेको बताए। अमेरिका-नेपाल मेडिकल फाउन्डेसन, नेपाल र नेपाल मेडिकल एसोसिएसनको संयुक्त टिमसँग मिलेर पीपीई वितरण गरिएको पुनले जानकारी दिए।
यसैबीच अस्पतालका लागि अत्यावश्यक सर्जिकल अर्थात मेडिकल मास्क, रबर ग्लोब्स र आँखाको सुरक्षाका लागि लगाउने चस्मा अथवा भाइजर, एन ९० मास्क तत्काल आवश्यक भएकाले बिक्री गर्न वा दान दिन इच्छुकले सम्पर्क गर्न अनुरोधसमेत गरेका छन्।
‘विपतको यो घडीमा केन्द्रले उत्पादन गरेका पीपीई निःशुल्क र कुनै भेदभाव नगरि बाँढेको भन्दै उनले यदि कसैले यी सामानको पैसा दिन चाहेमा राष्ट्रिय आविष्कार केन्द्रको खातामा दान गर्न सक्ने पुनले बताए।
को हुन् महावीर ?
२०७६ कात्तिक १ गते कीर्तिपुरमा स्थापना भएको राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख हुन् महावीर पुन । उनले सन् २००७ मा रामोन म्यागासेसे पुरस्कार जितेका थिए। यसलाई ‘एसियाको नोबेल पुरस्कार’ मानिन्छ । गाउँगाउँमा वायरलेस प्रविधि प्रयोग गरी इन्टरनेट सेवा र कम्प्युटर विस्तार गरेवापत उनलाई म्यागासेसे पुरस्कारबाट सम्मानित गरिएकाे हाे। यसअघि उनी सन् २००२ मा अशोका फाउन्डेसनबाट ‘अशोका फेलो’का रुपमा चुनिएका थिए।
आफ्नो ठाउँका लागि काम गरेबापत उनले स्नातकोत्तर डिग्री हासिल गरेको अमेरिकाको नेब्रास्का विश्वविद्यालयले उनलाई मानार्थ विद्यावारिधि प्रदान गरेको थियो । वैज्ञानिक र सामाजिक अभियन्ता उनको परिचय हो ।
महाबीर पुनकाे जन्म २०११ साल माघ ९ गते म्याग्दीको नाँगीमा भएकाे हाे। उनी ब्रिटिश गोर्खा सैनिकका छोरा हुन्। सदरमुकाम बेनीबाट नौ घन्टा पैदल हिँडेपछि पुगिने हिमाली गाउँ– नाँगीमा हजुरबासँग भेडाबाख्रा चराउँदै उनी हुर्केका थिए।
दोस्रो विश्वयुद्धपछि अवकाश पाएर फर्किएका सैनिकहरुले गाउँमा खाेलिदिएकाे स्कुलबाट उनले प्रारम्भिक शिक्षा हासिल गरेका थिए। भूपू सैनिकले सेनामा जे सिकेका हुन्थे, त्यही पढाइ हुन्थ्यो उबेलाकाे स्कुलमा। कलम–कापी हुँदैनथ्यो, ढुंगाले काठमा लेखेर पढ्नुपर्थ्याे। पुनले सात कक्षामा पढ्दा पहिलाे पल्ट सिसाकलम देखेका थिए। कक्षा ८ मा पुगेपछि मात्र पुस्तककाे अनुहार हेर्ने माैका पाएका थिए।
पिताकाे ब्रिटिश सेनामा अवकाश भएपछि पुरै परिवार नाँगीबाट बसाइँ सरेर २०२५ सालमा चितवनको खैरेनी पुगेकाे थियाे। त्यतिबेला बसाइँ सर्नुकाे कारण थियाे, परिवारकाे अध्ययन। गाउँमा राम्राे स्कुल थिएन। सेनाबाट फर्किएका कारण पिता आफ्नाे परिवारलाई राम्राे शिक्षा दिन चाहन्थे।
पुन १४ वर्षको उमेरमा ९ कक्षा भर्ना भएका थिए, खैरेनी माविमा। उनले त्यहीँबाट एसएलसी पास गरे । यसपछि थप अध्यनका लागि काठमाडाैं आएका पुनले अमृत साइन्स क्याम्पस, काठमाडौंबाट आईएससी पुरा गरे। २०३१ देखि २०४४ सम्म उनी १३ वर्ष निरन्तर शिक्षण पेशामा लागे।
२०४४ सालमा ३३ वर्षको उमेरमा उनलाई अमेरिकामा छात्रवृत्तिमा स्नातक गर्ने अवसर जुर्याे। ०४९ सालमा स्नातक पुरा गरेर नेपाल फर्किएपछि उनी जन्मथलो नाँगी पुगे– शिक्षा फैलाउने योजनासहित। जहाँबाट उनको परिवार २४ वर्षअघि बसाइँ सरेको थियो ।
नाँगीमा उनले हिमाञ्चल माध्यमिक विधालय स्थापना गरे । केही वर्षपछि फेरि अमेरिका गए, स्नातकोत्तर गर्न । सन २००१ मा स्नातकोत्तर सकेर फर्केपछि हिमाञ्चल हाइस्कुलमा आधुनिक शिक्षा भित्र्याउने अभियान स्वरुप उनले कम्प्युटर पढाउने व्यवस्था मिलाए। यही अध्पापन गराउँदै गर्दा उनी गाउँगाउँमा इन्टरनेट र कम्प्युटर पुर्याउने र पुस्तकालय खोल्ने अभियानमा सक्रिय भए। उनकाे यही कामकाे पछि उच्च मूल्यांकन भयाे।
उनले सन् २०१२ मा आफ्नाे एकल प्रयासमा राष्ट्रिय आविष्कार केन्द्रको घोषणा गरे। जसका लागि उनले कास्की बेगनाश ताल उत्तरपट्टिको ठूलोकोट डाँडामा रहेको २८ रोपनी जग्गा राष्ट्रिय आविष्कार केन्द्रलाई प्रदान गरे।
उनकाे राष्ट्रिय आविष्कार केन्द्र खोल्ने सपना यसै वर्ष पूरा भएको हाे। उनी त्यसका प्रमुख हुन् । उनी भन्ने गर्छन्, ‘जुन देशका जनता नयाँ खोजमा लाग्दैनन्, जुन देशको सरकार ‘इनाेभेसन’ लाई प्राथमिकता दिँदैन, त्यो देश कहिल्यै समृद्ध हुँदैन।’
विश्वब्यापि महामारीकाेरूप लिँदै गएकाे कोरोना भाइरस लागेका बिरामीको उपचारमा संलग्न चिकित्सकले लगाउने ‘ड्रेस’ समेत तयारी नभएकाे अवस्थामा पछिल्लाे समय नेपाली चिकित्सकहरू चिन्तित थिए । चिकित्सकहरूले नै यति ठूलाे विश्वास गरेर जिम्मेवारी दिएपछि पुनले भने, ‘मटेरियल चाहिँ वाटरप्रूफ र एयरप्रूफ हुने कपडा हुने रहेछ । केही सीप लागेन भने वर्षादीजस्तोले पनि काम चलाउन सकिँदो रहेछ । तर, त्यो राम्रो चाहिँ हुँदो रहेनछ । मेटेरियल पनि बजारमा खोजिरहेका छौँ । बिराटनगरमा पनि मान्छेले खोज्दै छन् । यहाँ हामीले अहिले पाएको मेटेरियल चाहिँ झण्डै २५–२६ सय मिटर छ । यसले चार सय थानलाई पुग्छ ।’