टोखा नगरपालिका–३ बानियाटारमा दैनिक मजदूरी गरेर जीवनयापन गर्दै आएका २२ परिवारका ८५ जनालाई खाद्यान्न वितरण गरिएको छ।
‘मिसन अन्नपूण’ समूहले जनकल्याण सामाजिक केन्द्रको सहकार्यमा विश्वव्यापीरुपमा फैलँदै गएको नोबेल कोभिड–१९ को सम्भावित सङ्क्रमणलाई मध्यनजर गर्दै नेपालमा समेत लकडाउन गरेपछि दैनिक मजदूरी गरेर जीविकोपार्जन गर्न समस्या परेका २२ परिवारलाई खाद्यान्न वितरण गरेको हो।
मिसन अन्नपूर्णका संयोजक विवेक शर्माले प्रतिपरिवारलाई दश किलोग्राम चामल, दुई किलोग्राम दाल, एक किलोग्राम नुन, आधा लिटर तेल, दुई किलोग्राम आलु र एक पुरिया ठूलो साबुन वितरण गरेको जानकारी दिए। यस्तै रु १२ हजार ५०० नगदसमेत वितरण गरिएको छ।
'खानाको अभावले कोही पनि नेपाली भोकभोकै नमरोस् भनेर मिसन अन्नपूर्ण अभियान सञ्चालन गरेको हुँ', संयोजक शर्माले भने। उनले काठमाडौँ, भक्तपुर र ललितपुरमा बस्ने जोकोही खानाको अभाव भए फोन गर्न आग्रहसमेत गरेका छन्।
जनकल्याण सामाजिक केन्द्रका अध्यक्ष विकास दासले बाँके र भारतबाट टोखामा आई मजदूरी गरेका व्यक्तिलाई सहयोग गरिएको जानकारी दिए।
सहयोग लिनेमा बालबालिकादेखि ६० वर्ष उमेर समूहका व्यक्ति रहेका थिए। विश्वव्यापी रुपमा फैलँदै गएको कोभिड–१९ को नेपालमा सम्भावित सङ्क्रमणका कारण सरकारले चैत ११ गते विहानदेखि २५ गतेसम्म ‘लकडाउन’ गरेपछि दैनिक मजदूरी गरेर पेट पाल्दै आएका विपन्न परिवारलाई खानाको अभाव हुँदै आएको छ।