भारतमा कोरोनालाई ९३ र ८८ वर्षीय दम्पतिले हराए, डाक्टर भन्छन्– एक दुर्लभ अध्याय

बिएल संवाददाता

नयाँदिल्ली

भारतमा ९३ र ८८ वर्षे दुई व्यक्तिले कोरोना भाइरसलाई हराउन सफल भएका छन्। कोरोनाबाट संक्रमित केरलाका ९३ वर्षीय थोमस र उनकी पत्नी ८८ वर्षीया मरियम्मा उपचारपछि निको भएका हुन्। अस्पतालबाट उनीहरुलाई छिट्टै डिस्चार्ज हुने तयारीमा रहेको इन्डियन एक्सप्रेसले जनाएको छ।

उनीहरुमा पाको उमेरका साथसाथै डायबिटिज र हाइपरटेन्सन जस्ता समस्या पनि थियो। अस्पतालमै थोमसलाई हृदयाघात पनि भएको थियो। उनकी पत्नी मरियम्मालाई ब्याक्टेरियल इन्फेक्सन भएको थियो। यसको बाबजुद पनि दुवै जना कोरोनाविरुद्धको लडाइँ जित्न सफल भएका छन्।

थोमसका छोरा, बुहारी, नाती र अन्य दुई आफन्त पनि कोरोना संक्रमित थिए। उनीहरु पनि उपचारपछि निको भएर घर फर्किएका छन्। थोमसका छोरा–बुहारी इटलीबाट फर्किएका थिए। कोरोना संक्रमण भएपछि उनीहरुलाई पथानामथिट्टा जिल्लाको कोट्टायाम मेडिकल कलेलमा भर्ना गरिएको थियो। 

इन्डियन एक्सप्रेससँग डा‍‍‍‍‍‍‍‍‍‍. सजि कुमारले भनेका छन् भनेका छन्, ‘यो संक्रामक कोभिड–१९ को उपचारको सफलतामा एक दुर्लभ अध्याय हुन सक्छ। हामीले ६ पटकसम्म थोमस दम्पतिलाई गुमाउँछौं कि भन्ने सोचेका थियौं। तर, उनीहरुको भाग्य बलियो रहेछ। उनीहरुमा भगवानको आशिर्वाद रहेछ।’

थोमस र उनको परिवारका सदस्यहरुलाई अस्पतालबाट घर पठाउने बेला अस्पतालका डाक्टर, नर्स र कर्मचारीहरुले ताली बजाएका थिए। बिदाइ गर्नेबेला उनीहरुले आफूहरुका लागि पाकेको खानाको प्याकेट र मिठाई उपहार पनि दिएका थिए।

थोमसको परिवारलाई अझै दुई हप्तासम्म घरमै क्वारेन्टाइनमा बस्न चिकित्सकहरुले सुझावसमेत दिएका छन्। १४ दिनपछि उनीहरुको फेरि स्वास्थ्य परीक्षण गर्नुपर्ने चिकित्सकहरु बताउँछन्।

प्रकाशित मिति: : 2020-03-31 13:59:58

प्रतिकृया दिनुहोस्