मुलुक संघीय संरचनामा प्रवेश गर्दा सुदूरपश्चिमवासीले महिनौं आन्दोलन गरे, अखण्ड सुदूरपश्चिमका लागि। त्यो आन्दोलनको कारण सुदूरपश्चिमवासीको सपना पनि पुरा भयो। टुक्रिएन पएन, यो भूभाग।
लगत्तै सरकार बन्यो। त्यो पनि सबैको अडकललाई फेल पार्दै। कहिल्यै नाम नसुनेका व्यक्ति त्रिलोचन भट्ट एकाएक सुदूरपश्चमको राजनीतिमा उदाए, पूर्व माओवादी नेता लेखराज भट्टको चाहना र आर्शिवादले।
भारतीय शहरमा कुनै बेला चौकीदारी गरेका यी ब्यक्ति प्रदेशको मुख्य मन्त्री चयन भएपछि आम सुदूर पश्चिमेलीहरूको मनमा थियो– भारतमा चौकीदारी गरेर थुप्रै हण्डर खाएका यिनले जनताको कुरा बुझ्ने छन् र सुदूरपश्चिम विकाशको रफ्तार द्रुत गतिमा अगाडि बढ्ने छ।
तर, उनी मुख्यमन्त्रीको पदमा आसिन भएको तीन वर्ष बित्न लाग्दा, प्रदेशका जनताले आफूलाई टुहुरो र असुरक्षित महसुस गर्न थालेका छन्। यसको ज्वलन्त उदाहरण बनेको छ, कोरोना भाइरसको विश्वब्यापि त्रासबीच उनको अचम्मको मौनता।
सेती प्रादेशिक अस्पताल यो क्षेत्रको एक मात्र जनताको अस्पताल हो, जहाँ मानिसले अन्तिम श्वाससम्म विश्वास गर्छन। तर, शुक्रबार कोरोना संक्रमणको पुष्टी भएका अमृत शाही यही अस्पतालमा लडिरहँदा उनले चुइँक्क पनि बोलेका छैनन्। अस्पतालदेखि मुख्य मन्त्री बसोबास गर्ने ठाउँ मुस्किलले किलोमिटरको दूरी होला। मुलुक ‘लकडाउन’ भएको यति दिन बितिसक्दा पनि उनको रहस्यमय मौनताले सुदूरका जनता भन् बढी असमञ्जसमा देखिएका छन्।
कुनै बेला उनी जस्तै चौकीदारी गरेका व्यक्ति पनि भारतको विभिन्न प्रदेशको मन्त्री बनेका छन्। अझ्, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी त आफूलाई चौकीदार भन्न पाउँदा गर्वले छाती फुलाउने गर्छन्। भारतमा हरेक दिन उनीहरूले जनतालाई सम्बोधन गरिरहँदा हाम्रो मुख्य मन्त्री भने मौन छन्।
भारतमा २१ दिनको ‘लकडाउन’ घोषणा भएपछि यतिबेला नेपालीहरू छिमेकी देशमा रोजगारी छोडेर धमाधम देश फर्किरहेका छन्। तर,जनतासँग उनको कुनै संवाद छैन।
उल्टै उनीमाथि सिप्रदीले बेच्न नसकेका २२ वटा ट्रकलाई एम्बुलेन्स बनाएर पाँच करोड भ्रष्टाचार गरेको आरोप लागेको छ। हिजोआज दैनिकी चर्चा भनेको यही एम्बुलेन्सबाट कहिले चित्तल त कहिले टिभी र फ्रिज तस्करी भइरहेको छ।
जनतासँग वाचा गरिएका एउटा पनि प्रदेश गौरवको आयोजनामा काम सुरु भएको छैन। एसियाली विकास बैंकले धनगढी शहरलाई व्यवस्थित गर्ने योजना अगाडि सारे पनि मुख्य मन्त्रीको कमजोर इच्छाशक्तिका कारण तीन वर्षदेखि आयोजना लड्किएर बसेको छ।
कोरोना भाइरसले विश्व आक्रान्त भएको बेला उनले खर्च गर्न नसकेको डेढ अर्ब बजेट पार्टीका आसेपासे र ठेकेदारलाई सुटुक्क बाँडेका छन्। धनगढीवासीको अत्याधिक माग रहेको पूर्वपश्चिम राजमार्गसँग शहरलाई जोड्ने ११ किलोमिटर वैकल्पिक बाटोमा उनको ध्यान गएको छैन। राज्यले आफै सार्वजनिक यातायात सञ्चालन गर्ने भनिएको गुरु योजना कमिशनको खेलमा अल्भिएको छ।
राज्यका स्वास्थ्य मन्त्री पनि कम नौटकीबाज छैनन्। कोरोनाको त्रास बढ्दै जाँदा उनले बयान दिए, ‘कोरोना परीक्षण गर्ने मेशिन अर्को वर्षको बजेटमा ल्याउँछौं।’ जबकी केन्द्रले दिएको बजेट आधाभन्दा बढी खर्च हुन सकिरहेको छैन।
कोरोना महामारी फैलिएपछि दुईजना प्रमुख चिकित्सकले पिपिए अभावमा प्रादेशिक अस्पताल छोडिसकेका छन्। यसले शहरमा झन् बढी त्रास बढेको छ। यता वन मन्त्री माया भट्ट आफ्नो सचिवलाई ज्यान मार्ने धम्किदिँदै मन्दिरमा १६ करोड खर्च गर्न भ्याइसकेकी छिन्।
पहिले भन्ने गरिन्थ्यो, काठमाडौंले सुदूरलाई हेर्ने दृष्टिकोण फरक छ। सुदूरको सरकारमा रहेका व्यक्तिको अनुहार हेरेर अहिले भन्न सकिन्छ, केन्द्र सरकार साँचो रहेछ। यति बेला सरकारमा होटलवालादेखि निर्माण व्यवसायी। जग्गा दलालदेखि बैकरसम्म विभिन्न पदमा आसिन छन्। यस्तो अवस्थामा उनीहरूबाट आशा गर्नु पनि बेकार छ।
सुदूरको प्रादेशिक अस्पतालमा एम्बुलेन्स चालकले केही समयअघि सुरक्षित लुगाको अभावमा हड्ताल गरेका थिए। त्यसैले अहिलेको अवस्थामा सुदूरपश्चिमका जनतालाई केही भयो भने, ‘राम राम भन्नु बाहेक’ अरु कुनै विकल्प छैन।
याे पनि:
बेरोजगार हुने डरले पलपल मृत्युसँग लडिरहेका छन्, युरोपमा बस्ने नेपालीहरू