वैदेशिक रोजगार बोर्डको सचिवालय, बबरमहल । जुन कामका लागि आमालाई लिएर गएका थियौं, त्यो काम बनेन। भोलिपल्ट बिहान फेरि बोर्डको सचिवालयमा भेट्ने बाचासहित भनें ‘आमा, अहिले म जान्छु ।’
‘कहाँ जाने ?’ एकोहोरो मतिर हेरेर उहाँले सोध्नुभयो। ‘अफिस जाने काम गर्न, अहिले त काम छ नि ।’ मैले सहज उत्तर दिएँ।
‘हामीसँगै सुत्ने हैन आज ?’ उहाँले मुस्कुराउँदै भन्नुभयो। होइन भन्न पनि सकिनँ । हो भनेर कसरी ढाँट्नु? केही बोलिनँ। उहाँलाई हेरेर फिस्स हाँसे । शायद उहाँले मेरो भाषा बुझ्नुभयो होला । उहाँ पनि मुस्कुराउनुभयो।
बोर्ड सचिवालयको ढोकामा थ्याच्च बसेर उहाँले झोला खोल्नुभयो। लुगलुग काँपेका उहाँका हातले झोलाको चेन सजिलै खोल्न सकेन। मैले सघाएँ। झोलाबाट रातो प्लास्टिकको पोको बिस्तारै निकालेर भन्नुभयो, ‘भट्ट ल्याइदिएको छु तँलाई।’
प्लास्टिकमा पोको पारेको भट्ट (भटमास) मेरो हातमा राखिदिनुभयो। र फेरि झोलाबाट एउटा बोतल निकाल्नुभयो। त्यो पनि मेरो हातमा राखिदिनुभयो। बोतलमा उहाँले मलाई रक्सी ल्याइदिनुभएको रहेछ।
मायाको पोको भटमास र रक्सी समातें । त्योबेला उहाँलाई कोसेली ल्याइदिएकोमा धन्यवाद भन्ने शब्न नै भेटिनँ...