कोरोनाको आत्मकथा

विष्णु पन्थी

(म्यान्मार)

मलाई केही थाहा छैन। मलाई कसले, कसरी, कहिले गर्भधारण गर्‍यो। म बिउँझेर थाहा पाउँदा कुनै काँचको बन्द शीशीमा भतभताइरहेको थिएँ। म कुनै तरल पदार्थमा निथ्रुक्क ढाडिएको रहेछु। म कहिलेदेखि त्यहाँ थिएँ भन्ने सही अनुमान लाउन सकिन्न। त्यो तरल पदार्थ सङ्लो थियो। शीशी पनि स्वच्छ सफा थियो। त्यसैले त्यहाँबाट मैले वारपार छर्लङ्ग देख्नसक्थेँ। मलाई अचम्म लाग्यो त्यस बेला जब मैले म जस्तै काँडादार साथीहरूलाई मेरै वरिपरि लामलगाई चहारिरहेको पाएँ। अगाडि पछाडि, तल माथि, दायाँ बायाँ जताततै स्वतन्त्र यताउति डुलिरहेका, पौडिरहेका। हाम्रो प्रजातिको मुलुक त्यही रहेछ भन्ने बुझेँ। हामी एकै ठाउँमा ठूलो संख्यामा रहेछौं। उनीहरूलाई देखेपछि मात्र मेरो घैंटोमा घाम लाग्यो। बल्ल मैले मेरो रूप, रङ्ग र आकार थाहा पाएँ। हामी सबै पुक्क उक्सेका, भुक्क परेका डल्ला, बाटुला, भुण्टे, गेन्चे भनेर सुहाउँदा।

झूसे-झूसे, समात्दा बिझाउने खाल्का। हामी अपाङ्ग थियौं। अपूर्णता हाम्रो भौतिकाकार थियो। तर पनि त्यसको अभावको बोध कहिलै भएन। हामी अंगविहीन भए पनि आफ्नो गतिवधि आफ्नो लागि बुझ्ने र परिआउँदा प्रतिकृया दिनसक्ने हामीमा सामर्थ्य भने रहेछ।

हाम्रो आकर्षण भनेको हाम्रो रंगविरंगी डीलडोल नै हो। रातो, गुलाबी, नीलो, बैजनी जस्ता धेरै रंगमा विभाजित जमात रहेछ हाम्रो। हामी ताँती लाग्दा कति राम्रा देखिँदाहूँला सम्झँदा बिछट्टै खुशी लाग्थ्यो मलाई।

तर हाम्रो खुशी एक दिन समाप्त हुने भयो। हाम्रा संरक्षक, अभिभावक हुन कि जन्मदाता - ती अजीब देखिने भीमकाय जीवहरू सबै एकैनासे देखिन्थे। सबैले एकै खाले लुगा लाउँथे। उनीहरूको वास्तविक रूप रंग देखिन्नथ्यो। पूरा शरीरलाई ढाक्नेगरि जिउ छोपिने लामो सेतो कोट, हातमा पञ्जा, खुट्टामा मोजा, शीर ढाक्ने विशेष किसिमको टोपी लाएका हुन्थे। आँखा, नाक, कान, मुखलाई भिन्नै टालोले छोपेका हुन्थे। किन होला यो सारा झञ्जाल? किन यस्तो झेल-बखेडा? कारण जान्ने असफल जिज्ञासा सबैमा थियो जो त्यस दिन अचानक आफैं स्पष्ट भएर आयो।

त्यस दिन कोठामा भाँडभैलो मच्चेको थियो। ती जीव हरू सबैको भागाभाग थियो। त्यस कोठामा हल्ला, एकार्कालाई भनाभन भइरहेको देखियो। मामला भद्रगोल लाग्यो। कारण जान्ने ईच्छा जाग्यो। सौभाग्यवश,त्यसै दिन कारणको टुंगो लाग्यो। हामीमाझ हाम्रै प्रजातिका एक वयस्क र ज्ञानी देखिने जेठा दाइ थिए। उनी सितिमिती हामीबीच मिसिन आउँदैनथे। हाँचबाट व्यग्लै, टाढै अलग्गिएर बस्ने बानी थियो उनको।

हामी भने आफ्नै संसारमा मस्त र व्यस्त थियौं। उनको वास्ता-व्यास्ता गर्न चासो थिएन हामीलाई। त्यस दिन उनी विचित्र व्यवहार गरिरहेका थिए। बाहिर मच्चेको हाहाकारप्रति उनी अत्यन्तै चिन्तित थिए। हाम्रो शीशा-महल भित्र उनी छटपटाइरहेका थिए। हामी उनको व्यग्रताको कारण जान्न उत्सुक भयौं। उनको पछि पछि लाग्न थाल्यौं। मौकाको ताकमा हामीमधे कुनैले एकाएक प्रश्न गरिहाल्यो, "दाइ किन आज यति साह्रै अशान्त देखिनु भो?" यति सुन्नेबित्तिकै उनीभित्रको मौनता भंग भयो मानौ उनी कदाचित यसै प्रश्नको प्रतिक्षामा थिए। उनले तत्क्षण सम्पूर्ण आत्म परिचय सहितको ज्ञान भण्डार प्रस्तुत गरे - "तिमीहरूलाई थाहा छैन केही पनि। ती बाहिर डुलिरहेका प्राणीहरूलाई मान्छे, मनुष्य या मानव भनिन्छ। तिनीहरू विश्वका सबैभन्दा विचित्र र उच्चकोटिका बुद्धिजिवी हुन्। तिनीहरूको असल रूप हामीले देखेका छैनौं। यस ठाउँमा प्रवेश गर्दा उनीहरूले यस्तो वस्त्र धारण गरेर आउनपर्छ। यो उनको सुरक्षाको लागि हो।" हामी सबै उत्सुकतासाथ सुनिरह्यौं।

वास्तवमा हामीले उनको अभिव्यक्ति बुझ्न सकिरहेका थिएनौं। त्यै पनि सुन्न भने आनन्द आइरहेको थियो। उनले थपे, "यस ठाउँलाई वैज्ञानिक प्रयोगशाला भन्छन्। यहाँ विज्ञानको नयाँ नयाँ खोजहरूको परीक्षण हुन्छ।

मान्छेको जात जति खाए पनि नअघाउने, जति पाए पनि सन्तुष्ट नहुनेखाले हुन्छ। उसले अनुसन्धान गरेर अनगिन्ति वैभव प्राप्त गरिसकेको छ। हिजोसम्म उसले अरू सबैको कामलाग्ने वस्तुहरू बनाउँथ्यो र सबैले विज्ञानको जय जय मनाउँथे। तर मान्छेको लालच पछिल्लो समयमा चुलिँदै गयो र उसले विनाशकारी अश्त्र हतियार बनाउन थाल्यो र विश्वमा त्यसको व्यापार गर्न थाल्यो। त्यसै बेलाबाट विश्वप्रलयको उल्टो गिन्ती सुरू भयो।

‘अब म हाम्रो विषयमा भन्छु, ध्यानले सुन। हामी तिमी सबै पनि मान्छेको त्यही घिनौलो लालचको उपज हौं। हामी बाहिरबाट जति राम्रा देखिए पनि हाम्रो भित्री रूप भयानक छ। हामी मान्छेको सबैभन्दा नौलो आविष्कार हौं। तब हामीलाई 'नोवल' भन्छन्। वैज्ञानिक युग सन् २०१९ मा हाम्रो अस्तित्वको पत्ता लागेको हुनाले नोवलको साथ १९ लाई जोडेका छन्। आजका दिनमा हामीजति विषाक्त र विध्वंशकारी किटाणु अथवा भाइरस अरू केही छैन भन्छन्। यसअघि पनि केही विभिन्न नाम गरेका विषालुअणुबमहरू प्रयोगमा आइसकेका छन् र त्रास मचाइसकेका छन्। तिनीहरूसँग नाम छुटाउन हामीलाई 'कोरोना' भन्छन्। सबै जोडेर भन्दा हाम्रा उत्पादकहरूले हामीलाई "नोवल-१९ कोरोना भाइरस" भनेर चिनाएका छन्। साथी हो जति हाम्रो नाम सुन्दा राम्रो छ उति नै बदनाम हामी आज भएका छौं। आज यहाँ बाहिरको प्रयोगशालामा देख्यौ होला। थाहा छ आज यहाँ के दुर्घटना घट्यो? प्रयोगशालाको कुनै लापरवाह कर्मचारीको त्रूटिले हामीभित्रका केही किटाणु बाहिर फुत्केछन्। हामी बाहिर फुत्कनु भनेको संसार विनाश हुनु हो। हामी त्यस्ता असुर हौं जसलाई जति छोयो किटाणुको गणना उति नै दोब्बर, तेब्बर हुँदै जान्छ र त्यसै अनुरूप हाम्रो सम्पर्कमा आउने मानव तथा जीवप्राणीहरूले दुष्परिणाम भोग्नपर्छ। विश्वको स्वस्थ्य वायुमा हामी विचरण गर्न पाउनु हाम्रो सौभाग्य र मानवको दुर्भाग्य हो। आज यहाँ त्यो घटिसकेको छ र यिनी सुरक्षित वैज्ञानिकहरू समेत यति आत्तिएका देखिन्छन् भने किटाणुबाट ग्रसितहरूको कस्तो दुर्गति भएको होला? हो त्यसै दुःखद अवस्थाको अनुमान गर्दै म विचलित भएको हूँ। अब त बुझ्यौ होला हैन?’

हामी सबै स्तब्ध थियौं। सोध्न कुनै प्रश्न शेष रहेको थिएन। उनको प्रवचन आफैंमा पर्याप्त र पूर्ण थियो। जे घटेको थियो त्यो निश्चितरूपमा दुर्भाग्यपूर्ण थियो। अवश्य नै संसारका प्रणीहरूले यतिबेला कष्ट विपद भोगिरहेका होलान्। तर बाहिरको दुनियाँबारे हाम्रो जानकारी शून्य थियो। त्यो हाम्रो परिकल्पना बाहिरको थियो। अन्तमा हाम्रा अग्रज दाइको निर्देशनमा हामीले उनको सोरमा सोर मिलाई यस्तो प्रार्थना गर्‍यौं - ‘हामी अनजान किटाणु हौं। हामीमा गुण छ या दोष हामीलाई थाहा छैन। यदि हामी अन्य प्राणीप्रति घातक छौं भने हाम्रा उत्पादकले हामीलाई नष्ट गरून् । हाम्रो अस्तित्व शेष रहन नदिउन्। हामीले कदाचित स्वेच्छाले संसारको विनाश चिताएका होइनौं। हाम्रा संरक्षकहरूले पनि अवश्य नै जानी जानी दुस्साहस गरेनन् होला किनभने उनीहरू पनि त्यसै लोकमा बस्छन्। हाम्रा उत्पादकहरू र उनका आफन्तहरू साथै सबै मानवजातिलाई उनका आराध्यले रक्षा गरून्।’

इति।

(पन्थी - म्यान्मारका वरिष्ठ साहित्यकार हुन्।)

प्रकाशित मिति: : 2020-03-28 22:21:10

प्रतिकृया दिनुहोस्