सरकारसँग काेराेनाविरुद्धको लडाइमा सहकार्य गर्न तयार छु: गान्धी

एजेन्सी

काठमाडाै‌ं

भारतीय राष्ट्रिय कांग्रेसकी महासचिव प्रियंका गान्धीले सहकार्य गर्न तयार रहेको उल्लेख गर्दै उत्तर प्रदेशका मुख्यमन्त्रीलाई पत्राचार गरेकी छिन्। 

मुख्यमन्त्री योगी आदित्यनाथलाई शुक्रबार पठाएको पत्रमा गान्धीले कोरोना भाइरसविरुद्धको लडाइमा सहकार्य गर्न तयार रहेको उल्लेख गरेकी हुन्।

पत्रमा लेखिएको छ, ‘देशको आपतकालीन अवस्थामा सरकारसँग पुर्णरूपमा सहकार्य गर्न तयार रहेकोे निर्णय हाम्रो पाटीले गरेको जानकारी गराउँछु ।’

उनले अहिले मतभिन्नता बिर्सेर कोरोना विरुद्ध एकजुट भएर लडनुपर्ने समय रहेको पत्रमा उल्लेख गरेकी छिन्। 

गरीब तथा निम्नवर्गका जनताप्रति विषेष ख्याल राख्न पनि गान्धीले मुख्यमन्त्री योगीको ध्यानार्कषण गराएकी छिन्। 

उनले दैनिक काम गरिखाने मजदूरवर्गलाई तत्काल राहत प्याकेज बाँड्न गर्न पनि सुझाव दिनुभएको छ । काङ्ग्रेस नेत्री गान्धीले ति राहतका कार्यक्रमहरु तत्कालै सम्वन्धित व्यक्तिको घरघरमा पुर्‍याउन अत्यावश्यक भइसकेकोमा जोड दिइन्। 

‘हामीलाई विभिन्न ठाउबाट प्राप्त विवरणमा स्वास्थ्यकर्मीहरूका लागि अत्यावश्यक सामाग्री प्राप्त हुन नसकेको उल्लेख गरिएको छ, त्यसप्रति हामीलाई गम्भीर चासो र चिन्ता लागेको छ,’ पत्रमा लेखिएको छ । स्वास्थ्यकर्मीहरुलाई तत्काल अत्यावश्यक स्वास्थ्य सामाग्री उपलव्ध गराउन गान्धीले माग गरेकी छिन्।

उनले पिडीतहरुलाई सहयोग गर्न कांग्रेसका कार्यकर्ताहरुको स्वयंसेवी टोली र हेल्पलाइन नम्बर (सेवा केन्द्र)तयार गरिएको पनि जानकारी दिइन् । उतर प्रदेश प्रशासनले उनीहरुलाई तीव्र गतिमा परिचालन गर्न सक्ने महासचिव गान्धीको भनाइ छ ।
 

प्रकाशित मिति: : 2020-03-28 09:05:08

प्रतिकृया दिनुहोस्