शिवप्रसाद ढुंगाना
काठमाडौंमा कक्षा १२ पढ्दै गरेका सिद्धिचरण नगरपालिका १२ का अर्जुन शाक्य चैत १० गते राति २ बजे घर आइपुगे। उनी कोरोना संक्रमणबाट जोगिन घर आएका हुन्। ‘परिवारले नआउन भने पनि आएको हुँ, घर आएपछि ढुक्क छु’, उनले भने।
साथीसंगी भेटघाट र अनेक हल्लाका कारण सहरमा त्रास बढेको उनले बताए। संक्रमण भइहाले गाउँमा उपचार नहुने भए पनि संक्रमणको डर घरगाउँमा नभएको उनको बुझाइ छ। लिखु गाउँपालिका ९ का प्रदिप लामा पाँच दिन पहिले नै गाउँ फर्किए। उनले सहरमा कोरोनाको त्रासले गाउँ रोजेको बताए। घरमा परिवारसँग आरामले बस्ने पाइने र डर त्रास नहुने उनको पनि बुझाइ छ। गाउँमा उपचार नहुने भए पनि संक्रमणको डर कम र दैनिक त्रासदीमा बस्न नपर्ने लामाको भनाइ छ। शाक्य र लामा दुई प्रतिनिधि पात्र मात्रै हुन्। रोजगारी र अध्ययनका लागि सहर पसेका हजारौं व्यत्तिाm कोरोनाको त्रासले गाउँ फर्किएका छन्।
सहरमा सुविधा सम्पन्न अस्पताल, स्वास्थ्यकर्मी र औषधि उपचार सहज भए पनि उनीहरु त्रासकै कारण गाउँ सुरक्षित ठानेर घर फर्किएको बताउँछन्। ‘औषधि उपचार नहुने ठाउँलाई नै आफन्तको सहाराका लागि मान्छेले सुरक्षित महसुस गरेको सामाजिक अभियान्ता बोधनारायण श्रेष्ठ बताउँछन्। श्रेष्ठले सहर र विदेशबाट फर्किएका व्यत्तिाmलाई परिवार र समाजको सुरक्षाका लागि पनि स्वास्थ्य परीक्षण आवश्यक रहेको बताए।