क्वारेन्टाइनको विकल्प छैन!

कोरोना भाइरस मान्छेबाटै मान्छेमा सर्छ। शुरुमा सार्स-कोभ -२ नाम दिइएको यो कोरोनाभाइरसले कोभिड-१९ नामक रोगको महामारीको निम्त्याएको छ।

यो भाइरस एक व्यक्तिबाट अर्को सम्पर्कमा सीधै प्रसारण हुने मात्र नभई संक्रमित व्यक्तिले छोएको सामग्रीहरू वा सतहहरु छोएर पनि सर्ने र कुनै लक्षण नदेखिएका व्यक्तिहरुबाट पनि सर्ने हुनाले धेरै सावधानी अपनाउनु पर्ने भएको हो। त्यसैकारण मान्छेहरुको बीचमा दूरी राख्न र सकेसम्म आफ्नै घरमा बस्न अनुरोध गरिएको हो।

यदि कसैलाई रोग लागिहालेमा यो अरुलाई सर्नबाट बचाउनको लागी अरुको सम्पर्कबाट पृथक राख्नुलाई आइसोलेसन भनिएको छ। कतिपय ज़िम्मेवार व्यक्तिहरुले आफुलाई शंका लागेर आफुखुशी आफ्नै घरमा वा अन्य कुनै स्थानमा अलग बस्नेगर्दछन, जसलाई सेल्फ-आइसोलेसन भनिएको छ। रोग फैलन सक्ने संभावना न्यून गर्न आवतजावतमा लगाइने प्रतिबन्धलाई भने क्वारेन्टाइन भनिन्छ।

कोरोना भाइरसको कारण हुने रोग कोभिड-१९ को विभिन्न रेस्पोन्स टिममा समन्वयकारी भूमिकामा रहेको हुनाले मैले यस विषयमा अपडेट हुने प्रयास गरिरहेको छु। छिनछिनमा परिवर्तन भैरहेको अवस्थाका बीच बुधवार राती टेलिफोन कन्फरेन्समार्फत एकजना विज्ञसँग अन्तरंग कुराकानी गर्ने मौका मिल्यो। जोन हप्किन्स विश्वविद्यालयको संक्रामक रोग विभागमा काम गर्ने चिकित्सा प्राध्यापक डा. ज्ञानु लामिछानेलाई एउटा प्रश्न सोधेको थिएँ,  'डा. साप अमेरिकामा अहिले यो कोभिड-१९ को केस ह्वात्तै बढ्न थाल्यो। किन यस्तो भएको होला?

'मलाई त केही हुन सक्ने चान्स कम छ भनेर सुरुमा मानिसहरु लापरवाही गरिरहेका छन,' उहॉंले चिन्ता व्यक्त गर्नुभयो। सूक्ष्म जीवाणुले बाँच्न, बढ्न र रोग सार्न प्रयोग गर्ने आधारभूत संयन्त्रको अध्ययन गर्ने यी प्रख्यात वैज्ञानिकले प्रकट गरेको चिन्ताले मलाई पनि त्रसित बनाएको छ।

यो अप्ठेरो परिस्थितिमा आफ्ना मान्छे भेट्न मन लाग्छ। अनि देखेपछि भोलि के कसो होला भेट भएको बेला अंगालो हालेर माया गरिहालौं भन्ने सोच आउँन पनि अस्वाभाविक होइन।

हामीले इटलीमा सबैभन्दा धेरै मानिस संक्रमित भएको कुरा सुनेका छौं। इटलीमा दैनिक भेट हुने साथीभाइलाई अंगालो हाल्ने र म्वाईं खाने चलन छ। यसले गर्दा इटलीमा छिट्टै यो संक्रमण फैलियो। यसबाट हामीले सिक्नुपर्ने कुरा नै यही हो कि मानिसबीच प्रत्यक्ष सम्पर्क नगर्ने। के गर्ने त? एक्लो महसूस भएमा आफ्ना मान्छेलाई फ़ोन गर्ने, पुस्तक पढ्ने, टिभी हेर्ने, क्यारमबोर्डजस्ता इन्डोर गेम खेल्ने वा करेसाबारीमा काम गर्ने आदि क्रियाकलापमा आफुलाई व्यस्त राख्न सकिन्छ।

मलाई त केही हुँदैन होला भनेर मानिसहरु लापरवाही गरिरहेका छन् । मान्छेबाट मान्छेमा सर्ने यो रोग मानिसको यही लापरवाहीका कारण बढिरहेको छ।
डा. ज्ञानु लामिछाने, चिकित्सा प्राध्यापक , जोन हप्किन्स विश्वविद्यालय, संक्रामक रोग विभाग

गएको साता मैले एउटा लेख लेखेको थिएँ। सूचना मानवको सबैभन्दा ठूलो हतियार हो। तर, हामीले विश्वसनीय वैज्ञानिक विश्लेषणबाट आएको सूचनालाई पालन गरेनौं भने ठूलो पश्चाताप हुनेछ।

मान्छेहरुले लापरवाही गर्नसक्ने एउटा अर्को कारण अब यो रोगको औषधी भेट्टिइजाला भन्ने आशाले पनि हुन सक्छ। यसको औषधी कहिलेसम्म पाइएला त? मैले केही दिनअघि हावर्ड विश्वविद्यालका पूर्वप्राध्यापक एवं औषधीविज्ञ डा. श्याम कार्कीसँग सोधेको थिएँ।

व्यक्तिगत रूपमा आफै इन्फ्लुएन्जाको रोकथाम र उपचारमा प्रयोग गरिएको ड्रग्सको क्लिनिकल परीक्षणको विभिन्न चरणमा सामेल हुनुभएका डा. कार्कीको भनाई अनुसार यो कोरोना भाइरसको भ्याक्सिन प्रमाणित हुन कम्तिमा पनि ९ देखि १२ महिना लाग्न सक्छ भने औषधी प्रयोगमा आउँन त अझै दुई देखि पॉंच बर्ष लाग्छ। किनभने औषधीको प्रयोग सिधै मान्छेमा नगरेर पहिले जनावरमा गरिन्छ। त्यसपछिको चरणमा मान्छेमा प्रयोग गरेपछि पनि त्यसको प्रभावकारिताको ठहर हुन थप समय लाग्छ। त्यसकारण यसै बर्ष यो औषधि पाउँने कुनै आशा छैन।

हामीले खोपको क्लिनिकल परीक्षण सुरु भएको छ भन्ने जस्ता समाचार सुनेका छौं, तर हामी यी कुराको भर परेर अहिले नै लापरवाही गर्न मिल्दैन।

त्यसैगरी क्लोरोक्विन सफलतापूर्वक प्रयोग भइरहेको कुराबारे पनि चर्चा गरिएको छ। राष्ट्रपति ट्रम्पले त घोषणा पनि गरे कि उनले करोडौं डोज अर्डर गरेका छन्। तर हामीले बुझ्नुपर्ने कुरा के छ भने पहिले त क्लोक्विन मलेरियाको लागि अनुमोदित छ र कोविड-१९ को लागि कहिले पनि प्रयास गरिएको छैन। कोभिड-१९ मा क्लोक्विनको प्रयोग सम्बन्धमा रिपोर्टहरू आएका भएपनि प्रमाणित कुनै छैनन्। एफडीएले यसको लागि क्लिनिकल परीक्षणको लागि अनुमति दिन सक्छ र यदि धेरै दवाव दिइयो भने अनुकम्पापूर्ण प्रयोगको लागि स्वीकृति दिन सक्छ जसको मतलब अन्य कुनै औषधी नभएको खण्डमा बिरामीले आफैले जोखिम उठाउन मन्जुरी दिएमा यो औषधि प्रयोग गर्ने सहमति दिने हो।

सामान्यतया कुनै पनि नयॉं औषधी अमेरिकाको फुड एण्ड ड्रग एड्मिनिस्ट्रेशन (एफडिए) बाट पूर्ण रुपमा अनुमोदित हुन ५ वर्ष र $३०० मिलियन डलर लाग्छ। यदि फास्ट-ट्र्याकबाटै आयो भने पनि यसलाई स्वीकृत हुन कम्तिमा २ वर्ष लाग्छ।

त्यसरी स्विकृत भैसकेको औषधी पनि पोष्ट मार्केटिंग सर्भेलेन्स डाटा मूल्यांकनमा उद्देश्य अनुरूप काम नगरेको पाइएमा, एफडीएले स्विकृति फिर्ता लिन सक्छ। विगतमा यस्तो भएको धेरै दृष्टान्त छन्।

यदि धेरै छिटो भयो भने यसको खोप ९ देखि १२ महिनामा उपलब्ध हुन्छ र औषधि २-५ बर्षमा उपलब्ध हुन सक्छ। एक फरक परिदृश्यमा, यदि ड्रग चीनबाट आयो भने, जहाँ ड्रगले त्यस्तो कठोर मापदण्ड पार गर्नुपर्दैन, यो बजारमा एक वा दुई बर्षमा उपलब्ध हुन सक्छ। तर अमेरिकाको बजारमा उपलब्ध हुनको लागि यसले पनि अरु औषधीझैं कड़ा जाँच प्रक्रिया पार गर्नुपर्छ।

मेरो मात्र सुझाव केवल तिनीहरूमा पूर्ण रूपमा निर्भर हुनुहुँदैन, तपाईंले प्राप्त गर्न सक्ने सबै चिकित्सकीय सल्लाह प्रयोग गर्नुहोस् र यदि तपाईं तिनीहरूलाई प्रयोग गर्न चाहनुहुन्छ भने, केही हानी नहोला।
-डा. श्याम कार्की, हावर्ड विश्वविद्यालका पूर्वप्राध्यापक एवं औषधीविज्ञ

यी सबै कुरा गर्दै गर्दा समाजमा तातोपानी, निम्बू, अदुवा, लसुन आदिबाट पनि कोभिड -१९ बाट बचावट वा उपचार हुने बारेमा भैरहेको चर्चाको बारेमा पनि मैले वास्तविकता के हो त भनेर औषधि विज्ञ डा. कार्कीलाई सोधेको थिएँ। तर, यी कुराहरु कुनै पनि वैज्ञानिक माध्यमबाट नआएका हुनाले डा. कार्कीले कुनै टिप्पणी गर्न चाहनु भएन तर यस्तो सुझाव दिनुभयो, 'मेरो मात्र सुझाव केवल तिनीहरूमा पूर्ण रूपमा निर्भर हुनुहुँदैन, तपाईंले प्राप्त गर्न सक्ने सबै चिकित्सकीय सल्लाह प्रयोग गर्नुहोस् र यदि तपाईं तिनीहरूलाई प्रयोग गर्न चाहनुहुन्छ भने, केही हानी नहोला।”

सेन्टर फर डिजिज कन्ट्रोलको निर्देशन अनुसार कोभिड-१९ बाट हल्का बिरामी व्यक्ति आफ्नो घरमा एक्लै बस्दा हुन्छ। यस्तो अवस्थामा आफ्नो घर बाहिरका सबै गतिविधि प्रतिबन्धित गर्नुपर्छ, चिकित्सा स्याहार प्राप्त गर्ने बाहेक। काम, स्कूल, वा सार्वजनिक क्षेत्रमा नजानु होस्। सार्वजनिक यातायात, सवारी-साझेदारी, वा ट्याक्सी प्रयोग नगर्नु होस्। सिटामोल लिनुहोस् तर ब्रुफिन चाहिं नलिनुहोस् । अस्पताल जानु नै पर्ने अवस्था आएमा पहिला स्थानीय स्वास्थ्य संस्थामा फ़ोन गर्नुहोस्।

यी दुबै बैज्ञानिकका कुरा तथा सेन्टर फर डिजीज कन्ट्रोलको निर्देशनको समेत एउटै निष्कर्ष निस्कन्छ: हामीसँग क्वेरान्टिनको विकल्प छैन। त्यसकारण घरमै बसौं। आफ्ना साथी भाई परिवारहरुलाई पनि घरमै बस्न प्रेरित गरौं। आफन्तलाई सुसूचित गर्ने एउटा उपाय यो फ़ेसबुकको प्रोफ़ाइल फ्रेम पनि हुनसक्छ-

http://www.facebook.com/profilepicframes/?selected_overlay_id=521717258547919

कोरोना भाइरसको खोप वा औषधी तत्कालै आउन सम्भव छैन, जे जस्ता  समाचार बाहिरिए पनि विज्ञहरू यसै भन्छन्। त्यसैले अहिलेका लागि कोरोना भाइरस संक्रमणबाट आफू पनि सुरक्षित हुने र अरूलाई पनि सुरक्षित बनाउने हो भने आइसोलेसन र क्वारेन्टिनको विकल्प छैन।

घरमा लामो समय बस्नु पनि सहज छैन तसर्थ यो पनि नबिर्सौं कि नियमित व्यायाम र सन्तुलित आहारले शारीरिक तन्दुरुस्तीमा मदत पुग्छ भने प्रार्थना, योग, र ध्यानले हाम्रो मानसिक स्वास्थ्य र आत्मविश्वास बढाउँछन। शारीरिक तन्दुरुस्तीका साथै मानसिक शान्ति र आत्मविश्वासले संयुक्त रुपमा हाम्रो रोग प्रतिरोधात्मक क्षमताको अभिवृद्धि गर्छन्।

त्यसकारण आहार-विहार, ध्यान, योग, प्रार्थना जारी राखौं। तर जमघट पूर्णरूपमा बन्द गरौं। एक व्यक्ति र अर्को व्यक्तिबीच दूरी राखौं। कोरोना भाइरस लागिसकेको व्यक्तिमा पनि एक-दुई हप्ता कुनै लक्षण नदेखिने तर यसै बीच एक व्यक्तिबाट अर्को व्यक्तिमा भने सर्दै जाने भएकोले हामी सतर्क हुन अति आवश्यक छ। अवस्था केही समय कठिन हुनेछ।

आफ्नो वरपर कोही मान्छे भोकले नमरून् भन्ने कुरा पनि ख्याल गर्नुहोला। कोरोनालाई करुणाले जित्नेछ।

प्रकाशित मिति: : 2020-03-27 05:25:00

प्रतिकृया दिनुहोस्