सायद, अब कोरोना नजान्ने कोही पनि छैन, होला। अंग्रेजी नयाँ वर्षको आगमनसँगै विश्वको शक्तिशाली राष्ट्र मानिने चीनको वुहान शहरबाट डरलाग्दो महामारीको रूपमा फैलिएको कोरोना अर्थात् कोभिड–१९ ले नछोएको भूगोल सायदै छैन।
भाइरस विश्वका आर्थिक र राजनीतिक रूपले बलिया ठानि देशहरूमा पस्यो र त्यहाँको जनजीवनमा रूवाबासी नै मच्चाएको छ।
वुहानमा ठूलो मात्रामा मानवीय क्षति ब्यहोरेको चीनले आफ्नो कडा मेहनेत र जनताको धैर्यताको इच्चा शक्तिले बिस्तारै कोरोनाबाट टाढा–टाढा हुन थालेको महसुस गरिरहेको छ।
कोरोनाले विश्वको १९८ देशमा महामारीको रूप लिएको छ। तसर्थ यो संकटको घडीमा हामी सबैले आफूले जानेको, बुझेको र देखेका कुराहरू एक–अर्कालाई बुझाउँने, सल्लाह–सुझाब दिने र भाइरसबाट जोगिने कार्य गर्नु नै सबैभन्दा उत्तम बिकल्प हो।
विश्व जगत नै चिन्तित र त्रासपूर्ण भएको यस्तो समयमा हरेक राष्ट्रले कोरोना भाइरससँग युद्व लड्ने प्रयत्न गरिरहेका छन्। कतिपय त यसलाई तेस्रो विश्व युद्वको संज्ञा पनि दिइरहेका छन्।
संसारका अधिक भन्दा बढी राष्ट्रमा छोटो समयमा ठूलो आकार लिएर फैलिएको कोरोनाले आर्थिक अवस्थालाई निकै चुनौती खडा गरेको छ। अर्कोतिर यसले माननीय क्षति दिनानुदिन बढाउँदा हरेक राष्ट्रका नागरिकमा त्रासपूर्ण भावना उत्पन्न भएको छ।
चीन, अमेरिका, इटाली, स्पेनलगायत अति विकसित मुलुकमा कोरोनाकै कारण हजारौं नागरिकको मृत्यु भइसकेको छ भने लाखौं ब्यक्तिहरू संक्रमित भएर कोरोनाको चपेटामा परेका छन्।
कोभिड–१९ बाट भारत उच्च जोखिममा रहेको वैज्ञानिकले बताइरहेका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदर दास मोदीको निर्देशनमा २२ मार्च २०२० देखि ३१ मार्चसम्म पहिलो चरणको भारत बन्दको आव्हान गरिएको थियो– भने २४ मार्च २०२० देखि १४ अप्रिलसम्मका लागि पुनः भारत पूर्ण रूपमा बन्दको घोषणा गरिएको छ।
राज्यहरूले कोरोना भाइरसलाई न्यूनिकरण गर्नको लागि आ-आफ्नो क्षेत्रलाई पूर्ण रूपले बन्देज गर्दै केन्द्रीय सरकारको निर्देशन पालना गरिहेका छन्।
भारतमा कोरोनाको प्रभाव अथवा भारत बन्दको असर भारतीय नागरिक र यहाँ रोजगारी लागि आएका नेपाली नागरिकलाई झन् ठूलो समस्या देखिएको छ। करिब–करिब २० देखि ४० लाखसम्मको हाराहारीमा भारतका बिभिन्न शहरमा बसोबास गर्ने नेपाली नागरिकको दैनिकीमा निकै असर परेको छ।
यसबीचमा केही नागरिकहरू दुःखद यात्राका साथ देश फर्किए पनि लाखौंको बसाँई चिन्ताजनक र असुरक्षित छ। यहाँ कोरोना संक्रमितको संख्या दिन प्रतिदिन बढ्दै गएपछि त्रासले स्वदेश फर्किने नेपालीको ठूलो चाप देखियो। यो संख्या अहिलेसम्म पनि कायमै छ। कतिपयहरू यात्राकै क्रममा बिचल्लीमा परेका छन्।
भारतमा बसेर काम गर्ने नेपालीहरु गाउँ जान नपाएर दुखेसो पोखिरहेका छन्। यतिबेला दूतावास खोजिरहेका छन्।
होटल, रेस्टुरेन्टमा काम गर्ने नेपालीहरु ब्यापार–ब्यवसाय बन्द भएपछि कामबाट हट्नु परेको छ। लामो बन्दले ठूलो समस्या उत्पन्न हुदाँ चिन्न्ता थपिने क्रम जारी नै छ। भारतले बन्दका सूचनाहरु जारी गर्दा–गर्दै यहाँबाट नेपाल जान हिँडेका कयौ नेपालीहरु भारतको मथुरा, गड्डाचौकी, गौरीफण्टा नाका र दिल्लीमा अझैसम्म अलपत्र अवस्थामा छन्।
कतिपयलाई दूतावास मार्फत नेपाल पठाउने प्रयास सफल भए पनि, संख्या निकै वृद्धि भएको देखिन्छ।
नेपाल भित्रिनेबाट नै कोरोना आउने सम्भावना बढी भएका कारण नै नेपाल सरकारले ११ चैत २०७६ देखि एक हप्तासम्म पुरै नेपाल बन्दको घोषणा गरेको छ। सरकारको यो कार्य राम्रो छ, तर पनि आफ्ना नागरिकको बारेमा चिन्ता र चासो राख्ने मुख्य दायित्व पनि हो।
नेपाली दोस्रो चरणको भारत बन्दको घोषणापछि थप चिन्तित बनेका छन्–भने कयौं आफूले काम गर्ने ठाउँबाट तलब पनि नपाएको गुनासो पोखिरहेका छन्। स्वदेश फर्किने बातावरण पनि छैन, यता बसेर बाहिर जान सक्ने अवस्था पनि छैन। यो प्रदेशको सबैभन्दा दुःखद क्षण हो।
हामीले आफूले गर्न सक्ने कार्य आफ्नो जिम्मेवारी भित्रका कुराहरू स्वयं आफैंले गर्ने दायित्व भएको कारण सबैले कोरोनाबाट बच्न सक्ने उपायहरु नभुलौं– आफूले जानेका, बुझेका अनुभवहरु सबैलाई बाढौं। प्रवासमा भएका हरेक नेपाली आइपर्ने समस्याहरु सबै मिलेर सहयोग गर्दै हातेमालो गरौं।