लकडाउनमा कलाकार : कोही व्यायाममा, कोही पुस्तक पढ्दै त कोही सिर्जना फुराउँदै

काठमाडौंप्रेस

काठमाडाै‌ं

चीनको वुहानबाट सुरुभएको कोरोनाभाइरसको त्रास विश्वभर छ। अहिले पूरै विश्वनै ठप्प जस्तै छ। नेपालमा पनि कोरोना भाइरस संक्रमणको त्रास बढेको छ।

फ्रान्सबाट आएका एक जनामा सोमबार कोरोनाभाइरसको संक्रमण पाइएपछि सरकारले मंगलबार बिहानदेखि एकसाताका लागि लकडाउन गरेको छ। यो एकसाता अत्यावश्यक कामबाहेक घरबाहिर निकस्न पाइने छैन। घर बसाइसमा के गर्दै छन् त सेलेब्रिटी? काठमाडौंप्रेसले केही सेलेब्रिटीलाई प्रश्न सोधेको छः

स्क्रिप्ट लेख्दै दीपकराज

हास्यकलाकार तथा निर्देशक दीपकराज गिरी एक महिनादेखि घरमै छन्। उनी चर्चित फिल्म छक्कापञ्जाको चौथो सिरिजको स्क्रिप्ट लेखिरहेका छन्। ‘म त एक महिनादेखि घरमै बसिरहेको छु,’ उनले ठट्यौली पारामा भने, ‘पहिला पनि क्वारेन्टाइनमै थिएँ, अहिले पनि क्वारेन्टाइनमै छु।’

उनी स्क्रिप्ट लेखनमै व्यस्त छन्। ‘एक महिनायता अघिकांश समय घरमै स्क्रिप्ट लेखेर बिताइरहेको छु, जानै पर्ने काममा मात्र बाहिर निस्कने गरेको थिएँ,’ दीपकले भने, ‘कोरोना भाइरसको महामारी फैलन नदिनँ सरकारले लकडाउन गरेको छ, अब निस्कने कुरै भएन। घरमै बस्नु हाम्रा लागि नै राम्रो हो।’

दीपकले घरमै बस्दा बोर भए युट्युबमा गएर प्राणायम र योग सिक्न पनि सुझाव दिएका छन्। उनले आह्वान गरेका छन्, ‘शरीरमा लाग्ने कोरोनालाई लकडाउन, मन र मस्तिष्कमा लाग्ने कोरोनालाई तह लगाउन योग ।’

अरुले चन्द्रमा, मंगल ग्रहमा पुगेर, विश्वकप जितेर रेकर्ड राखेका छन्, हामीले घरमै बसेर कोरोनाभाइरसलाई पराजित गर्दै रेकर्ड राख्नु पर्ने उनको भनाइ छ। उनले सामाजिक सञ्जालमार्फत सकारात्मक सन्देश फैलाउन पनि सुझाए।

प्रकाशित मिति: : 2020-03-27 01:58:15

प्रतिकृया दिनुहोस्