कोरोना भाइरस विश्वभर महामारी बनिरहँदा संसारभरका लाखौँ–करोडौँ जनता यतिबेला ‘आइसोलेसन’मा छन् । त्यसैले भूराजनीतिक विषयभन्दा यतिबेला स्वास्थ्य–सुरक्षा पहिलो प्राथमिकतामा छ । तर दीर्घकालिन रुपमा विशेषगरी अमेरिकाको विश्वव्यापी प्रभावका सवालमा यो विषय पेचिलो बन्नसक्छ । सुरुमा विस्तारै र त्यसपछि एकैपटक परिवर्तन हुने गरेको विश्वव्यापी मान्यताको इतिहास छ । १९५६ मा सुइज नहरमा हस्तक्षेप असफल हुँदा बेलायतको महाशक्तीको ताज खासियो । अहिलेको परिस्थिती सम्बोधन गर्न अमेरिका चुक्यो भने कोरोनाभाइरसको महामारी उसका लागि अर्को ‘सुइज अभियान’ का रुपमा चिनिनेछ, आजका दिन अमेरिकी नीति–निर्माताले यो तथ्य स्विकार्नैपर्छ ।
अन्धभक्तबाहेक बाँकी सबैलाई थाहा छ, कोरोनापछि प्रारम्भिक प्रतिक्रिया देखाउन अमेरिका असफल भएको छ । ह्वाइटहाउस, डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटी तथा रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सिडिसी) का गलत कदमले अमेरिकाको क्षमता र आत्मविश्वासको अवमूल्यन भएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पका सार्वजनिक अभिव्यक्ति (चाहे राष्ट्रपति कार्यालयबाटै आएका सम्बोधन हुन् वा बिहानै आउने ट्वीट) यसले द्विविधा र अस्थिरता फैलाउन सहयोग गरेको छ । यो महामारीले एक्लै अघि बढ्ने ट्रम्पको स्वभाव र वैश्विक मामिलामा वासिङ्टनको निम्छरो तयारी छर्लङ्ग पारेको छ । पछिल्ला सात दशकमा विश्वको नेताका रुपमा अमेरिकाको हैसियत पैसा र शक्तिकै आडमा मात्र बनेको होइन – घरेलु सुशासन, बाँकी विश्वका जनताप्रतिको राम्रो व्यवहार र विश्वव्यापी संकटमा सबैलाई संयोजन गर्नसक्ने क्षमता तथा इच्छाशक्तिले यसमा महत्त्वपूर्ण भूमिका खेलेको छ । कोरोना भाइरसको महामारीले अमेरिकी नेतृत्वका यी सबै गुणको परीक्षा लिदैँछ र वासिङ्टन असफल हुँदैछ ।