ट्रंक रुटतर्फकाे भाडामा बुद्धले दियाे ३५ प्रतिशत छुट

बिएल संवाददाता

काठमाडाै‌ं

बुद्ध एयरले ट्रंक रुटको भाडादर घटाएको छ। बुद्धले ट्रंक रुटतर्फ ३५ प्रतिशत भाडा छुट गरेको जनाएको हो। 

बुद्धले आइतबार एक विज्ञप्ती जारी गर्दै कोरोना भाइरस जस्तो महामारीको विषम परिस्थितीमा नाफालाई नहेरी सेवालाई मुख्य प्राथमिकता दिँदै सर्वसाधारणलाई सेवा दिनको लागि भाडा दर घटाएको जानकारी दिएको छ। 

‘नेपाल सरकारले लामो दुरीको बस संचालनलाई केही दिनलाई रोक लगाएको छ। यस अवस्थामा हवाईमार्ग मात्रै यात्राको पहिलो साधन बन्न पुगेको छ। यस्तो परिस्थितमा नेपाली यात्रुहरुलाई थप सजिलो र राहतका लागि अधिकतम भाडादर आजको मितिदेखि घटाइएको छ, बुद्धद्वारा जारी विज्ञप्तीमा भनिएको छ। 

बुद्धले यात्रुको मागअनुसार हवाई भाडा अधिकतम सिमा ननाघ्ने गरि कम्प्युटरकृत माध्यमले स्वतः घटबढ हुने गरेको बताएको छ।

कोरोनाका कारण पर्यटन क्षेत्रका अरु उद्योग जस्तै हवाईसेवा क्षेत्र पनि सकसमा रहेको भन्दै कम्पनीले यात्रुहरुलाई गन्तव्यमा पुग्न सक्दो सहयोग गर्ने हेतुले भाडादर कम गरी सेवा दिएको बताएको छ।

बुद्ध एयरको नयाँ अधिकतम भाडादर

सरकारले भने वायुसेवा कम्पनीलाई कुनै पनि राहत नदिएकोमा कम्पनीले आपत्ति जनाएको छ। विश्व बजारमा इन्धनको मूल्य प्रति व्यारेल ७५ डलर हुँदा नेपालका वायूसेवा कम्पनीहरुले ९४.५० रुपैयाँ प्रति लिटरमा खरिद गर्दै आएको बताएका छन्।

गत मार्च १५ मा इन्धनको मूल्य प्रति व्यारेल ३४ डलर हुँदा नेपाल आयल निगमले लिटरमा ४.५० रुपैयाँ मात्र घटाए पछि भाडादरमा समायोजन गरिसकेको बुद्धले जनाएको छ। 

एयरलाईन्सको कूल खर्चको ४० प्रतिशत हवाई इन्धन भएको र विशेष परिस्थितिमा नेपाल आयल निगमले हवाई इन्धनमा चर्को मुनाफा नलिई न्यूनतम मुनाफामा विक्री वितरण गरे हवाई भाडा घट्न गई यात्रुहरुले सुविधा पाउने र हवाई कम्पनीलाई पनि राहत हुने कम्पनीले बताएको छ।

करोनाविरुद्ध एयरलाइनको अभियान

अन्तर्राष्ट्रिय संस्था विश्व स्वास्थ्य संगठनले कोरोनालाई महामारी घोषित गरेपछि हवाई सेवा कम्पनीहरुले पनि सतर्कता अपनाएका छन्। यस्तैमा बुद्धले काठमाडौंलगायत अन्य सबै स्टेशनहरुबाट यात्रुको तापक्रम मापन गर्ने र बढी तामक्रम हुने यात्रुलाई सुरक्षितसाथ अफलोड तथा भाडा फिर्ता लागनु गर्ने गरेको जनाएको छ।

त्यसैगरी, जहाज, ¥याम्प बस, भ्यान, लगेज ट्रली, चेक–इन–काउण्टर, कार्यालयलगायत सबै ठाउँमा विशेष सरसफाई, र औषधी स्प्रे गर्ने गरेको पनि बुद्धले जनाएको छ। कर्मचारीलाई सुरक्षित कार्य सम्पादनका लागि आवश्यकताअनुसार स्यानिटाइजर, मास्क र ग्लोभ्स वितरण गरेको छ।

कम्पनीले आफ्ना कर्मचारी माझ संक्रमणविरुद्ध सचेतना अभियान तथा केहीलाई घरबाट कामकाजको निर्देशन र केही अन्यलाई तलवी विदामा बस्न आग्रह गरेको पनि जनाएको छ। 

 

प्रकाशित मिति: : 2020-03-23 03:43:20

प्रतिकृया दिनुहोस्