जुम्लामा जोखिम उच्च, तयारी शुन्य, भारतबाट धमाधम भित्रिदै जुम्लीहरु

भनाइ नै छ– ‘चैत १२ गते नआएको जुम्ली मर्‍यो भनी जान्नु।’ हरेक वर्ष  बर्षे बाली भित्र्याएसँगै व्यापार तथा काममा हिडेका जुम्लीहरु धमाधम घर फर्किन लागेका छन्। हरेक वर्षको चैत महिनाको १२ गते मार्सीधानको बीउ भिजाउने चलन छ। जसलाई धान खेतीको लागि विशेष दिन बारुवा पर्व भनिन्छ। 

चैत १२ गतेदेखि धान खेतीको क्यालेन्डर सुरु हुन्छ। क्यालेन्डरअनुसार धात बताउने, सुकाउने, भिजाउने तथा बेर्ना बनाउन जोत्ने, हिले बनाउने र घरमा अंकुराएको बीउ छर्नुपर्ने हुन्छ। खनजोत जस्ता काम पुरुषले गर्ने भएकाले भारत तथा देशभर घुम्ती व्यापार गर्न र काममा हिडेको जुम्ली चैत १२ गते जताकताबाट घर पुग्नुपर्ने हुन्छ। 

यदि चैत १२ गते धान भिजाउने बेला घर नआएको जुम्ली मर्‍यो होला भन्ने अनुमान गरिने हुनाले यस्तो उखान भन्ने गरिएको संस्कृति सम्बन्धिका जानकार रमानन्द आचार्य बताउँछन्। ‘सूचनाका अन्य माध्यम नभएको र सम्पर्क नहुने हुनाले चैत १२ गते घर नपुगेको जुम्ली मरेको आशंका गरिन्छ,’ उनेले भने, ‘पहिले पहिले धान भिजाउने बेला घर नपुगेका सदस्यको किरिया गर्ने चलन थियो। तराइमा गर्मीका कारण औलो लाग्ने र छिटै चिसोमा बस्ने मानिस मर्ने सम्भावना हुनेहुँदा पनि यस्तो गर्ने गरिन्थ्यो।’ 

विश्वको अग्लो स्थानमा फल्ने मार्सीधान खेतीको सुरुवात चैत १२ गते बीउ भिजाएबाट हुन्छ। १२ गते भिजाएको धान १६ गते उतार्ने, घरमा न्याने गरि राख्ने, बिहान बेलुका पानी हाल्ने र अंकुराइसकेपछि २० गते बेर्नामा छर्ने गरिन्छ। २० गतेलाई विशुवा पर्वको रुपमा पनि मनाइन्छ। यो एक प्रकारको उत्सव नै हो।

यतिबेला विशुवा पर्व मनाउन हुलका हुल जुम्लीहरु भारतबाट घर आइरहेका छन्। व्यापार तथा कामको सिलसिलामा नेपालको अन्य क्षेत्रभन्दा कर्णालीका मान्छे भारतमा बढी जाने गरेका छन्। विज्ञका अनुसार भारत कोरोनाको लागि इटलीपछि उच्च जोखिम भएको देश हो। यसरी भारतबाट आउनेमा कोरोनाको संक्रमण हुन सक्ने भएकाले कर्णालीमा जोखिम बढेको छ।

हिउँदे व्यापार र कामको सिलसिलामा भारत पुगेका यतिबेला स्वास्थ्य परीक्षण नगरिकनै घर फर्किरहेका छन्। कोरोना संक्रमण देखिएको र उच्च जोखिम रहेको भारतबाट जिल्लामा मानिस सहजै आउजाउ गरिरहेका छन्। जिल्लाका नाकामा हेल्थ डेक्स स्थापना गर्ने, जिल्ला भित्रिने हरेक मानिसको स्वास्थ्य परीक्षण गर्ने जनाएपनि तयारी शुन्य रहेको छ। दैनिक सयौं मानिस सडक तथा हवाई मार्गबाट जिल्ला भित्रिरहेका छन्। जिल्लामा मान्छे आउजाउ गर्ने नाका भने स्वास्थ्य परीक्षण भइरहेको छैन।

जुम्ला प्रवेश गर्ने मुख्य नाका नाग्ममा स्वास्थ्य परिक्षणको व्यवस्था मिलाउन नसकिएको सिमानाको तिला गाउँपालिका अध्यक्ष रतननाथ योगीले बताए। ‘हामीसँग स्वास्थ परीक्षणका लागि चाहिने मेसिन छैनन्। चाहेर पनि हेल्थ डेक्स स्थापना गर्न सकेका छैनौं,’ उनले भने, ‘स्वास्थ विज्ञान प्रतिष्ठानलाई आग्रह गरेका छौं। बाहिरबाट आउनेको स्वास्थ्य परीक्षण हुन नसकेकाले जोखिम बढेको छ।’

त्यस्तै जुम्ला प्रवेश गर्ने अर्को मुख्य नाका जुम्ला विमानस्थलमा पनि स्वास्थ्य परीक्षणको व्यवस्था मिलाइएको छैन। यसले जुम्लामा जोखिममा उच्च रहँदा पनि तयारी शुन्य छ। उच्च जोखिममा रहेको जुम्लामा यसबारे सचेतना कार्यक्रम पटक–पटक भएपनि क्वारेन्टाइन गरेर जिल्ला भित्र्न दिने व्यवस्था भने अझै हुन सकेको छैन। 

यी समस्यालाई मध्यनजर गर्दै जुम्ला विमानस्थल र बसपार्कमा हेल्थ डेक्स राख्ने तयारी गरिरहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिस्टार विश्वराज काफ्लेले बताए। कोरोनासँग मिल्दो जुुल्दो लक्षण भएका बिरामी उपचारको लागि अस्पताल आए आइसेलुसनमा राखेर उपचार गर्ने व्यवस्था मिलाइएको उनले थपे।

प्रतिष्ठानले शैक्षिक कार्यक्रम स्थागित गरि सबै जनशक्ति स्वास्थ सेवामा लाउने भएको छ। कर्मचारीलाई बिदा नबस्न निर्देशन दिएको काफ्लेले बताए। ‘हामी तयारीमा जुटेका छौं। अस्पताल आउने सबैलाई प्रारम्भिक स्वास्थ परीक्षण थालिएको छ,’ उनले भने, ‘१५ वटा आसोलेसन बेड तयार छन्। उपचारमा कुनै कसुर बाँकी राखिने छैन।’

अस्पतालले आइसुलेसनको व्यवस्था गरेपनि जिल्लाका नाका खुला भएकाले मानिस सहजै आवतजावत गरिरहेका छन्। अध्ययन लगायत विभिन्न कामको सिलसिलमा काठमाडौं नेपालगन्ज लगायतका शहरमा बस्दै आएका पनि धमाधम घर फर्किन थालेका छन्। उनीहरुलाई स्वास्थ्य परीक्षण नगरि जिल्ला भित्र्याउँदा जुम्लामा कोरोनाको जोखिम बढ्न सक्ने स्थानीय तुलबहादुर डागीले बताए। 

‘भारतमा कोरोनाको संक्रमण बढिरहेको  सुनिन्छ। त्यहाँ हाम्रा दाजुभाई धेरै छन्,’ उनले भने, ‘कामको लागि भारत गएका सबै फर्किदै छन्। उनीहरुको स्वास्थ्य जाँच गर्न जरुरी छ।’ 

गत साता चन्दननाथ नगरपालिका र जिल्ला समन्वय समितिले सरोकारवाला निकायको उपस्थितिमा जिल्लाका सबै नाकामा हेल्थ डेक्स राख्ने र जिल्ला भित्र्ने सबै मानिसको स्वास्थ्य परीक्षण गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जारेले बताइन्। 

‘आइतवार विपत व्यवस्थापन समितिको बैठक बसेर कसरी अघि बढ्ने भन्ने निर्णय गर्नेछौं,’ उनले भनिन्, ‘हिउँदको समयमा जिल्लाबाहिर गएका अहिले जिल्ला भित्रिने क्रम बढेको छ। नाकामा स्वास्थ्यकर्मीसहितको टोली राखेर कसरी स्वास्थ्य परीक्षण गर्ने भन्ने विषयमा आइतबारको बैठकमा छलफल गरिने छ।’ 

विपतको समयमा कुइक रेस्पोन्सको लागि टिम गठन गर्ने तथा भोलिसम्म स्वास्थ्य परीक्षणका उपकरण जिल्ला आइपुग्ने भएकाले यस्तो बेला सबैलाई सहयोग गर्न जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ।

यसैबीच कर्णाली प्रदेश सरकारको बिहीबार बसेको मन्त्री परिषद बैठकले एक हजार बेडको क्वारेन्टाइन स्थापना गर्ने तथा भारतबाट आउने सबैको स्वास्थ परीक्षण अनिवार्य गर्ने निर्णय गरेको छ। तर भारतबाट आउने गाउँमा पुगि घुलमिल भइसकेकाले जोखिम बढेको छ।
 

प्रकाशित मिति: : 2020-03-23 03:06:49

प्रतिकृया दिनुहोस्