कोरोनाबाट मर्नेको संख्या ११ हजार नाघ्यो, इटाली, चीन, इरान र स्पेनमा हजार बढीकाे मृत्यु

कोरोना भाइरस कोभिड–१९ का कारण शनिबार बिहानसम्म विश्वव्यापि रूपमा ज्यान गुमाउनेको संख्या ११ हजार ३ सय ८५ पुगेको छ। हालसम्म सबैभन्दा बढी इटालीमा ४ हजार ३२ ले ज्यान गुमाइरहेका छन्। 

शुक्रबार मात्र थप ६ सय २७ जनाले ज्यान गुमाएको र लास ओसार्न सेनाको बंकर प्रयोग हुन थालेको जेनेभास्थित हाम्रो ब्युरो संवाददाता लक्ष्मण देवकोटाले जानकारी दिएका छन्। कोरोनाको उद्गमस्थल मानिएको चीनको उहान शहरमा भने मर्नेको संख्या दिनहुँ घट्दै गइरहेको छ। 

इटालीपछि चीन कोरोनाको संक्रमणबाट मर्नेहरूको संख्यामा दोस्रो नम्बरमा छ। यहाँ ३ हजार २ सय ५५ जनाले ज्यान गुमाएका छन्। पछिल्लो रिपोर्टअनुसार ७ जनाको ज्यान गएको छ। 

इटाली र चीनपछि सर्वाधिक ज्यान गुमाउनेमा इरान तेस्रो नम्बरमा छ। इरानमा १४ सय ३३ जनाले ज्यान गुमाएका छन्। पछिल्लो समय यहाँ थप १ सय ४९ जनाले ज्यान गुमाएका छन्। 

चौथोमा स्पेन रहेको छ। स्पेनमा १ हजार ९३ जनाले ज्यान गुमाएका छन्। स्पेनमा पनि पछिल्लो एकदिनमा २ सय ६२ जनाले ज्यान गुमाएका छन्, त्यसले यहाँको अवस्था पनि गम्भीर रहेको छ। यी ४ देशमा हजारभन्दा बढि मानिसले ज्यान गुमाइसकेका छन्। 

यसपछि पाँचौ नम्बरमा फ्रान्स रहेको छ। फ्रान्समा ४ सय ५० जनाको ज्यान गइसकेको छ। पछिल्लो एक दिनमा फ्रान्समा मर्नेको संख्या थप ७८ पुगेको छ। छैटो नम्बरमा अमेरिका छ। अमेरिकामा २ सय ५८ जनाले ज्यान गुमाएका छन्। शुक्रबार र शनिबार २४ घण्टाभित्र यहाँ थप ५१ जनाले ज्यान गुमाएका छन्। 

अमेरिकापछि सातौं नम्बरमा बेलायत रहेको छ। बेलायतमा १ सय ७७ जनाको ज्यान गइसकेको छ। पछिल्लो २४ घण्टामा यहाँ मर्नेको संख्या ३३ थपिएको छ। आठौं नम्बरमा नेदरल्यान्ड छ। नेदरल्यान्डमा पनि १ सय ६ पुगेको छ भने पछिल्लो एकदिनमा थप ३० जनाले ज्यान गुमाएका छन्। 


 

प्रकाशित मिति: : 2020-03-21 19:58:06

प्रतिकृया दिनुहोस्