प्रसंग झन्डै १५ वर्ष अघिको हो। त्यतिबेला उनी बाँसुरी बजाउँथे मात्रै। संगीतका पारखी भएकाले विभिन्न स्केलको बाँसुरी चाहिन्थ्यो। तर, उनीसँग सबै स्केलका बाँसुरी थिएन। ई-स्केलको बाँसुरी चाहिएपछि भारतबाट मगाए। त्यो एउटा बाँसुरीका लागि उनले त्यतिबेला पाँच हजार भारू तिर्नु परेको थियो। बाँस प्वाल पारेर बनाएको साधारण बाजालाई पनि नेपाली आठ हजार रूपैयाँ तिर्न परेपछि उनलाई झोंक चल्यो। उनले आफैंले बाँसुरी बनाउने अठोट गरे। र, शुरू गरे त्यसको पहल। अहिले उनले बनाउने बाँसुरी स्थानीय बजारदेखि अमेरिकासम्म विक्री हुन्छन्।
यो कथा योगेन्द्र बहादुर खड्काको हो। बाँसुरी बनाउने उनको उत्सुकता भने बाल्यकालदेखिकै हो। २०२७ सालमा झापाको जुरोपानी–७, दुधाली गाउँमा जन्मिएका थिए योगेन्द्र। उनी हुर्किएको जमाना रेडियोको थियो। तर, उनको घरमा रेडियो थिएन। गाउँघरतिर अरुका घरमा बजेको रेडियो सुन्थे। त्यसमा गीत बज्थे। गीतको बिचबिचमा सुरीलो धुन बज्थ्यो। के को स्वर हो, उनले सानोमा खुटयाउन सकेनन्।