काभ्रेमा रासायनिक विषादीको खपत घट्यो

कुनै समय थियो, काभ्रे जिल्ला अझ पाँचखालको भन्नेबित्तिकै बढी रासायनिक विषादी प्रयोग भएको तरकारी भन्दै उपभोग गर्नेहरु डराउने अवस्था थियो। तर, यतिखेर पाँचखाल उपत्यकालगायत समग्र जिल्लामै रासायनिक विषादीको खपत घटेको सरकारी तथ्यांकले समेत प्रमाणित गरेको छ।

कृषि ज्ञान केन्द्र काभ्रेका प्रमुख डा. जनार्दन खड्का भन्छन्, ‘आर्थिक वर्ष ०७०/७१ देखि काभ्रे जिल्लामा विषादीको खपत स्वात्तै घटेको पाइन्छ। यसो हुनुमा किसानले रासायनिक विषादीको विकल्पमा जैविक विषादीको प्रयोगमा बढावा दिएका र पछिल्ला वर्षमा एकीकृत शत्रुजीव व्यवस्थापन (आइपिएम) प्रणालीमा आधारित खेती बढेकाले समेत सम्भव भएको हो।’

केन्द्रको तथ्यांकअनुसार आव ०७०/७१ मा कीटनाशक, ढुसीनाशक, झारनाशक र अन्य गरी ८६ मेट्रिक टन विषादी खपत भएको थियो। आव ०७२/७३ मा एकैपटक ११ मेट्रिक टन विषादी खपत घटेपछि यो दर ओरालो लाग्दै आएको छ। आव ०७४/७५ सम्म आइपुग्दा साढे ७१ मेट्रिक टन खपत भएको छ। यसमा कीटनाशक, ढुसीनाशक र झारनाशक विषादीको बाहुल्य रहेको छ।

आकस्मिक रुपमा भएका अनुगमनबाट समेत विगतझैं जथाभावी विषादी बिक्री वितरणको अवस्था नरहेको खड्काको भनाइ छ। ‘किसानले विषादी प्रयोगको मात्रा घटाएको मात्रै नभई विषादी छर्केपछि पर्खनुपर्ने अवधिलाई समेत पालना गर्दै गएको पाएका छौं। एग्रोभेट पसलको अनुगमनका क्रममा समेत घातक विषादीको बिक्री वितरण रोकिएको पाएका छौं,’ पाँचखालमा आयोजित अन्तरक्रियामा उनले भने।

प्रकाशित मिति: : 2020-03-19 21:46:32

प्रतिकृया दिनुहोस्