मुगु बसाईंको क्रममा मुगुको भामबाडासँगको आत्मीयताले हामीलाई अलि फरक महशुुस गरायो। मुगु डायरीको दुईवटा श्रृङ्खलाका दुई पात्र हिरा बिजुली र बिष्णुमाया त्यहीँका थिए। उनीहरुसँग साक्षात्कार गर्न त्यहाँ पुगेका हामी फर्किन लाग्दा केही छुटेजस्तो लाग्यो।
खासमा हेर्दा छुटेको देखिने बस्तु त केही थिएन। तर त्यो गाउँसँगको निकटताले हामीलाई त्यस्तो लाग्ने बनायो। सायद, माया अंकुराइ सकेछ। प्रेमिका छोडेर आए जस्तो भइरहेको थियो। मानौं भर्खर प्रेममा परेको प्रेमी लाहुर जाँदैछ अनि प्रेमिका नि:शब्द शुन्यतामा अडिएकी छे। दृश्य एकातिर प्रेमिल थियो भने अर्कोतिर अलि भावुक पनि।
कार्तिकको महिना किसानको व्यस्त दैनिकीले घरका थाडाथाडामा (छतमा) कोदाका डल्ला जम्मा गरेर अजङ्का पहाड ठडिए जसरी गार (थुप्रो) ठडिएका थिए। यसरी ठडिएका गार र थाडाका डिलतिर वरिपरी लगाइएका सिमी र भटमासका मिन्डा (खात)ले पनि किसानलाई खुसी दिलाएको थियो।
सप्रेको वर्षे बालीलाई सकुशल घर भित्र्याउन पाएपछि किसान बर्षाद थामिएपछि निख्रिएको आकाश जस्तै उज्याला र हँसिला देखिन्थे। अनुहार हँसिलो हुनु र मनमा उमंग छाउनु जतिको आनन्ददायक क्षण सायदै भेटाउन सकिएला। त्यस्तै क्षण झल्को उनीहरुमा झल्किएको देखिन्थो।
गाउँलेसँग हाम्रो कुनै औपचारिक संवाद त भएन। तर उनीहरुको पृष्ठभूमि र उनीहरुको यर्थाथतालाई सूचित गर्ने केही सूचना प्रष्ट देखिन्थे।
भामबाडामा क्षेत्री र कथित दलितको बसोबास छ। यो बसोबास ठ्याक्क यति समय आगाडी देखिको हो भन्न सक्ने गाउँले त कोही छैनन्। तर कतिथ दलित र पाखामा बस्ने पाबैहरु महासामन्त नागराजको सिंजा साम्राज्य भन्दा अगाडीका हुन्। यहाँका पाखामा बस्नेलाई पाबै भनेर चिनिए। पाबै शब्दले भौगोलिक विशेषता र खेतीपातीको विशिष्टतालाई चिनाउँछ।
बेसीतिरका तालहरु फुटेर फाँटिलो जमिन बन्यो। उक्त जमिन खेतीपातीका लागि उर्वर थियो। खेतीपातीका लागि बनेका खेतलाई जिउला र त्यहाँ बस्ने जिउलेल नामले चिनिए। जिउलामा धान उत्पादन भएपछि उनीहरु धान हुने वा भात खाने नयाँ वर्गका नाममा उदाए। त्यस यता उनीहरुले पाखामा बस्नेलाई निम्न स्तरका देख्न थाले।
पाबै शब्दलाई हेला र हाेच्याउन प्रयोग गरियो। यसरी हेला र होच्याउनेहरु जिउला नजिक बस्ने थिए। सत्ताको आडमा आर्जन गरेको शक्तिलाई मनुवादको आधारमा पाबैहरु माथि बाहुनवाद लादियो। जातीय र सांस्कारिक रुपमा आफूलाई सर्वश्रेष्ठ सम्झिने बाहुनवाद सांस्कृतिक रुपमा निकै स्खलित देखिन्छ।
त्यसका लागि एउटा मात्र उदाहरण काफी छ। त्यो हो, हिन्दु धर्मले गाईलाई पुजा गर्छ, गौमाता भन्छ। गौमाताको अर्थ गाई आमा समान हो। तर त्यही गाई मरेपछि बाहुनहरु छुँदैनन् र तल्लो जात भनिएकालाई फाल्न लगाउँछन्। त्यसरी फालिएका गाईको छालाबाट भियालहरु कोदो चुट्ने जाललौरा बनाउँछन् अनि त्यसको प्रयोग सबैले गर्छन्।
सभ्यताको विकाससँगै प्रकृति पुजालाई विशेष महत्त्व दिएका कर्नालीबासी आफूलाई लाभ दिने हरेकलाई उच्च सम्मान स्वरुप पुजा गर्ने गर्छन्। उदाहरणको लागि बाज (चरा) को व्यापार गर्नेले बाजबाट प्रसस्त लाभ लिने हुनाले बाजलाई घरको सदस्य बराबरको हैसियत दिन्छन्। घरमा भएको बाज, बाज खेल्ने थला वा जंगलमा बाज मरेको भेटाए पनि त्यसको विधि पुर्याएर काज किरिया गरिन्छ। (हेर्नुस् ‘कर्णाली लोक संस्कृति, भौगोलिक दृष्टिकोण’, स्थिरजंग बहादुर सिंह, पृष्ठ १६८०)
तर संस्कृतिको हिन्दुकरण गर्ने बाहुनहरु बाँचुुन्जेल गाईलाई आमा, लक्ष्मी भन्ने, पुजा गर्ने, दुध खाने तर मरेपछि छुनसम्म नमान्नेलाई व्यवहारिक रुपमा स्खलित नै देखाउँछ। कि उसले उक्त व्यवहार आफूलाई जन्माउने आमालाई समेत गरेको हुनु पर्यो। कि भने गाईको पनि विधिपूर्वक दाहसंस्कार गरेको हुनुपर्यो।
बाहुनवादको सबैभन्दा ठूलो संरक्षक मनुवादबाट प्रभावित सत्ताले सीपको आधारमा जातको बाँडफाड गरेपछि जातीय विभेदले चरम रुप लिन थाल्यो। यसरी सत्ताको आडमा सबैभन्दा बढी हेपिएका कथित दलित नै हुन पुगे र यो शृङ्खला आज पर्यन्त कायम छ। जसबाट भामबाडामा पनि नराम्रोसँग पिल्सिएको छ।
मान्छेबीच विभेदको पर्खाल लाउनुभन्दा अगाडी प्रजातन्त्रको सुन्दर पक्ष अल्पमतलाई उचित सम्मान दिए जस्तै भामबाडामा पनि समानता र भातृत्वको वातावरण थियो। तर संस्कृतिको हिन्दुकरणसँगै बनेका जातीय मूल्य मान्यताले समानता र भातृत्वको परम्परागत मूल्य मान्यता माथि नराम्ररी प्रहार गर्यो र समाज खल्बलिन पुग्यो।
सत्ताले प्रजातन्त्रको मूल्यमान्यता बिर्सिए जस्तै भामबाडाले पनि हिजोको सहकार्य र सहअस्तित्व भुलेर विभेदका बढेबढे खाडल खन्यो। परिणाम उत्पत्ति हुँदा नै खासै भेदभाव नजानेका लिभरल क्षेत्रीहरु पनि भिँयाल (कामी) र दमाइलाई तल्लो जात देख्न थाले र नछुने गर्न थाले।
सीपका सीपालु भन्दा, मुखका र कुटिलचालका सीपालु हावी भएपछि असली सिपालु र व्यवहारका सोझाहरु पछि परे। त्यसैले गाउँमा भिँयाल (कामी), दमाई हुँदा पनि सिंगो समाजको सौन्दर्य भर्नेलाई गरिने अपमानको शृङ्खला भामबाडाले मात्र होइन हरेक समाज र सत्ताले चलाइरहेको छ। चाहे ती एक्काइसौं शताब्दीका तथाकथित कम्युनिष्ट, कांग्रेस वा राजावादी जो सुकै हुन्। तर हरेक कालो बादलभित्र चाँदिको घेरा हुन्छ। चरमा निराशाको बीचमा पनि आशा जागेको हुन्छ। भामबाडामा पनि आशा जिवितै छ। कालान्तरमा त्यो आशा नै भरोसामा परिणत हुनेछ। टाठाबाठाले धमिल्याएका कामी, दमाईका मुहारमा उज्यालो भर्न त्यसैले काम गर्नेछ।
त्यो भरोसाको केन्द्र भनेको कला र साहित्य, सीप अनि आविस्कार हो। जातीय र वर्गीय विभेदले उकुसमुकुश बनेको भामबाडाले आफ्नो वास्तविक रुप सबैको सामु देखाउन नामी कलाकारको जन्म गराएको छ। त्यसैले भामबाडा मुगु चिनाउन युगौंदेखि कलाकार जन्माउँदै आएको छ। व्यवहारका भलाभला (राम्रा) मान्छे जन्माइरहेको छ। उनीहरुको कला र सीपले समाजका अनेकौं आवश्यकता पुरा गर्दै आएको छ। हुन त कर्णालीमा कलाकार नजन्माउने र नजन्माएका गाउँ सायदै होलान।
तर अहिले हाम्रो मानसपटलमा बामबाडाका कलाकार भन्नेवित्तिकै मिन भाम, राजेश खत्री, हिरा बिजुलीदेखि कालोपोथीको काले खड्कराज नेपाली, विष्णुमाया परियार र अरु नाटकका कलाकारहरु नाचिरहेका छन्। जो सानो वा ठूलो पर्दामा देख्न सकिने कलाकारभित्र परेका छन् भने छाँयामा वा पर्दा पछाडि परेका कलाकारहरु तमाम छन्। जो दामह बजाउँछन्, मागल गाउछन्, झोडा, चुट्किला हाल्छन्, हुड्के नाच्छन्।
कर्णाली नदीको सुसाहठलाई नै चुनौती दिने बाजा कर्नालको आविस्कार गर्ने पनि कलाकार नै हुन। ती हुन, हालको कथित तल्लो जातिका पुर्खा। हरेक घरको हरेक व्यक्ति कलाकार भै जन्मिएपछि नै कर्णाली शील्प सभ्यताको विकास भएको हो र क्षेत्रकै नाम कर्णाली रहन गएको हो। उनीहरुले नाच्दा देखाउने ढाल तरबारले नै संस्कृतिलाई बचाइरहेको छ।
यसरी हालसम्म बाजाका धुन र गीतका लय आविस्कार गर्ने र बचाइराख्ने कलाकार भामबाडाले जन्माएपछि नै मुगुको उचाई बढेको छ।
लोक साहित्यको थिति बसालेका उनीहरु सबै कलाकार हुन। दमाईका तीस धंङ (घरधुरी) मा भएका प्रत्येक सदस्य कलाकार हुन। हरेक भियाल कलाकार हो। उनीहरुले कुनै न कुनै माध्यमबाट संस्कृति बचाइराखेका छन्। जसले दैनिक रुपमा चाहिने भाँडाकुडादेखि अन्य कुराको निर्माणमा रातदिन लागि परेका छन्। उनीहरुले कुनै न कुनै माध्यमबाट संस्कृति बचाइराखेका छन्, जसले समाजलाई रंगीन बनाइराखेका छन्। चार सयबढी घरधुरी रहेको भामवाडामा कलाकारको हर्जा कहिल्यै भएन।
एशियाका ठूला गाउँ मध्ये एक भनेर चिनिएको भामबाडाका कलाकारले कालो पोथि फिल्मको सशक्त प्रस्तुुति मार्फत पुरै एसियाको मात्र होइन, विश्वको ध्यान मुगुमा खिच्न सफल भए। कर्णाली बोकेर काठमाडौं जाने हिरा बिजुलीहरुले कला र संस्कृतिको मानवशास्त्रीय तथा अर्थशास्त्रीय महत्त्व दर्शाए। समय सँधै उस्तै कहाँ रहन्छ र? विस्तारै कला साहित्यको माध्यबाट प्रश्न गर्ने दिमागमा पट्किएका ताला फोडिदैछन्।
सामजिक यथार्थता प्रस्तुत गरेर उनीहरुको वास्तविक अवस्था देखाउने र प्रश्न गर्न लगाउने खालका प्रस्तुतीहरु थालिएको छ। विभेदविरुद्ध बोल्ने स्वरहरु गगनभेदी हुँदैछन्। आफ्नै कलाकारीता र सीपको प्रयोग गरेर प्रश्न गर्ने समाजका असली हिराहरु तयार छन्। सार्बजनिक स्थलमा बोल्न र प्रतिकार गर्न सक्नेहको जमात बढिरहेको छ। जसको गतिलो माध्यम कलाकारिता बनेको छ। शक्ति र सत्ताको आड लिनेले विभेद गरिरहन्छन् अनि भामबाडाले विभेद् चिर्न कलाकार जन्माइरहन्छ। डियर भामबाडा ‘आइ लाभ यु’।
९)‘मेरा नाडीउँदो शक्ति पलायाछ’ (भिडियाेसहित)
८)डेढ सयबाट व्यवसाय शुरु गरेकी धनमाया बुढा मुगुमै बसेर कराेड कमाउँछिन् (भिडियाे)
७)जव ‘३६’ हुनुपर्नेमा ‘६३’ हुन्छ, अनि चुलिन्छ मुगाली आक्रोश
६) नेपाल भ्रमण वर्ष–२०२०: यसरी त कसरी सफल होला र?
५) कालो बादलभित्र चाँदीको घेरा (भिडियाे)
४) मुगुका हिरा अर्थात् हिरा बिजुली
३) रारा : सके धेरैपटक, नसके पनि एकपटक
२) इतिहास बाँङ्गिने 'तुङ्गनाथ' चिन्ता