चैत मसान्तसम्मका लागि सबै तहका विद्यालयहरूका पठनपाठन बन्द हुने भएको छ।
बुधबार उपप्रधानमन्त्री तथा रक्षामन्त्री इश्वर पोखरेलको संयोजकत्वमा गठन भएको कोभिड–१९ संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले सबै पठनपाठन बन्द गर्ने निर्णय गरेको हो।
‘चैत ६ गतेदेखि सञ्चालन हुन गइरहेको एसईई परीक्षा प्रत्येक केन्द्रहरुमा स्वास्थ्य जाँचसहितको हेल्थ डेस्क स्थापना गरी सुरक्षित एवम् व्यवस्थित रुपमा सम्पन्न गर्ने’, बैठकपछि सार्वजनिक विज्ञप्तिमा भनिएको छ, ‘तर बाल विकास केन्द्र, आधारभूत तथा माध्यमिक विद्यालयहरु र विश्वविद्यालयहरुमा पठनपाठन २०७६ चैत मसान्तसम्मका लागि बन्द गर्ने ।’
समितिले परीक्षालाई व्यवस्थित बनाउनका लागि सबै केन्द्रहरूमा हेल्थ डेस्क स्थापना गराउन निर्देशन समेत दिएको छ।