भोइस अफ नेपालले नक्कली कागजपत्र बनाएको खुलासा, १२ लाख भनेर ५० हजारमात्रै दिइयो

सहभागीलाई विश्वास गर्दा धोका पाइयो : भोइस अफ नेपालका निर्देशक

रातोपाटी

काठमाडाै‌ं

भोइस अफ नेपालको पहिलो सिजन समाप्त भएको दुई वर्ष बढी भइसक्यो । तर, सहभागीहरुले अझै सम्झौता बमोजिम पारिश्रमिक नपाएको गुनासो गरेका छन् । अन्तिम चार प्रतिस्पर्धीमध्येका दुई प्रतियोगी श्रीजय थपलिया र सप्तक दूतराजले मंगलबार बिहान आ–आफ्नो फेसबुक पेजमा ‘खुल्ला पत्र’ पोष्ट गर्दै सम्झौता बमोजिमको रकम नपाएको गुनासो गरेका हुन् ।  

अन्तिम चार प्रतिस्पर्धीको नाताले यी दुईले १६ डिसेम्बर २०१८ मा लागु हुनेगरी व्यवस्थापन पक्षसँग सम्झौता गरेका थिए । १५ डिसेम्बर २०१९ मा समाप्त हुने यो सम्झौतापत्रको दोस्रो बुँदामा सम्झौता अवधिभर शीर्ष चारजनालाई काठमाडौंमा खाने बस्ने व्यवस्था आयोजकले नै गर्ने लेखिएको छ । काठमाडौंमा घर हुनेहरु पनि आयोजकले तोकेको स्थानमा नै बस्नुपर्ने र जे जति खर्च हुन्छ, त्यो सबै आयोजककै थाप्लोमा जाने उल्लेख छ । तर, आयोजकले खानेबस्ने व्यवस्था नगरेको श्रीजयको दाबी छ । 

दोस्रो बुँदामा मासिक एक लाख रुपैयाँ तलब दिइने उल्लेख छ । त्यस हिसाबले १२ महिनाको १२ लाख आउनुपर्छ । तर, श्रीजय र सप्तकले अहिलेसम्म ५० हजार रुपैयाँमात्रै पाएको दाबी गरे । 

त्यस्तै, तेस्रो बुँदामा प्रतिस्पर्धीहरुले सम्झौता अवधिभर वल्र्ड टुर गर्ने र त्यसबापत आउने रकमको ७० प्रतिशत आम्दानी प्रतिस्पर्धीकै हुने उल्लेख छ । तर, सप्तक र श्रीजयले बताए अनुसार उनीहरुले भोइसमार्फत् जम्मा दुई देशको भ्रमण गरे – युके र अष्ट्रेलिया । त्यहाँ प्रस्तुति दिएबापत् तोकिएको रकम अझै नपाएको उनीहरुको दाबी छ । 

प्रकाशित मिति: : 2020-03-19 00:46:49

प्रतिकृया दिनुहोस्