धेरैजसो मानिसहरूले कोभिड-१९ को महामारीका लागि विश्वव्यापीकरणलाई आरोप लगाउँछन्। उनीहरू यस्ता महामारीबाट जोगिन संसारलाई विश्वव्यापीकरणबाट मुक्त राख्नुपर्ने मत राख्छन्। पर्खाल लगाऊ, आवतजावतमा प्रतिबन्ध लगाऊ, व्यापार घटाऊ- उनीहरू यस्तै भन्छन्।
पक्कै पनि महामारी रोक्न अल्पकालीन क्वारेन्टाइन आवश्यक छ। तर, संक्रामक रोगहरूविरुद्ध वास्तविक सुरक्षा गर्नुको साटो दिर्घकालीन अलगाववाद (आइसोलेसनिज्म) अपनाउँदा आर्थिक पतन निम्तिन्छ। यसको ठ्याक्कै उल्टो गर्नु आवश्यक छ। महामारीको वास्तविक उपचार अलगाव होइन, सहकार्य हो।
विश्वव्यापीकरणको अहिलेको युगभन्दा पहिला पनि महामारीका कारण लाखौं मानिसहरूको ज्यान जान्थ्यो। चौथौं शताब्दीमा हवाइजहाज र पानीजहाज थिएनन् तैपनि प्लेगको महामारी (ब्ल्याक डेथ) पूर्वी एसियादेखि पश्चिमी युरोपसम्म एक दशकभित्रै फैलिएको थियो।
यो महामारीका कारण सात करोड ५० लाखदेखि २० करोडसम्म मानिसहरूको मृत्यु भएको थियो। त्यसरी मर्नेको संख्या त्यतिबेला युरेसियाको जनसंख्याको एक चौथाई थियो। बेलायतमा मात्रै दशमा चारजनाको निधन भएको थियो। इटालीको फ्लोरेन्स शहरले मात्रै एक लाख मानिसमध्ये ५० हजारलाई गुमाएको थियो।
१५२० को मार्च मा ‘फ्रान्सिस्को डे एघिया’ मेक्सिको पुगेका थिए। उनी एक्लैको शरीरमा मात्रै बिफरका किटाणु थिए। त्यतिबेला मध्य अमेरिकामा रेल र बसको त कुरै नगरौं यातायातको साधनको रूपमा गधा पनि थिएन। उनी पुगेको नौ महीनापछि डिसेम्बरबाट त मध्य अमेरिकामा महामारी नै फैलियो जसले सिंगो जनसंख्याको एक तिहाईको ज्यान लिएको अनुमान गरिन्छ।
सन् १९१८ मा केही महीनाभित्रै इन्फ्लुएन्जा भाइरस संसारका ग्रामीण कुनाहरूसम्म फैलिएको थियो। त्यो भाइरसका कारण हुने फ्लुले त्यतिबेला पृथ्वीमा रहेको जनसंख्याको एक चौथाईलाई संक्रमित बनाएको थियो। त्यो फ्लुले भारतको तत्कालीन जनसंख्याको पाँच प्रतिशतको ज्यान लिएको अनुमान गरिन्छ।
टहिटीको समुद्री द्विपमा मात्रै जनसंख्याको १४ प्रतिशतको निधन भएको थियो। अमेरिकी द्विप सामोआमा जनसंख्याको २० प्रतिशतको निधन भएको थियो। एक वर्षभित्रमा त्यो विश्वव्यापी महामारीले एक करोडदेखि १० करोडसम्मको ज्यान लिएको अनुमान गरिन्छ। चार वर्ष चलेको पहिलो विश्वयुद्धमा भन्दा बढीको ज्यान एक वर्षमै यो विश्वव्यापी महामारीले लिएको थियो।