चितवनमा ७२ घण्टाभित्र ७० शैय्याको अस्पताल बनाइने

चितवनमा विश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरस अर्थात कोभिड–१९को संक्रमण भएका र आशंका गरिएका बिरामीलाई राख्न अस्पताल बनाइने भएकाे छ। संक्रमण भएका र आशंका गरिएका बिरामीलाई राख्न  ७२ घण्टाभित्र ७० शैय्याको अस्पताल बनाइन लागिएकाे हाे।

उद्योग संघ चितवनको बन्दै गरेको अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रमा अस्पताल तयार गर्न लागिएको चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले जानकारी दिए।

यस्तै अत्यावश्यक सामग्रीहरुको व्यवस्थापन भरतपुर महानगरपालिका, उद्योग वाणिज्य संघ चितवन, उद्योग संघ, जिल्ला समन्वय समितिले गर्ने सहमति भएको छ। अस्पतालका लागि क्यान्सर अस्पतालले २० वटा आईसीयू बेड र ८ वटा भेन्टिलेटर उपलब्ध गराउने जनाइएको छ।

आवासीय रुपमा नै चिकित्सक, नर्स, पारामेडिक्स र ल्याबका कर्मचारीलाई यहाँ राखिने डा. अनिलविक्रम कार्कीले जानकारी दिए। यहाँ आउने बिरामीलाई चार तहको स्वास्थ्य सेवा उपलब्ध गराइने उनको भनाइ छ।

ल्याबको स्याम्पल काठमाडौं पठाउनुपर्ने अवस्था विद्यमान रहेकोले यही नै यस्तो ल्याब बनाउन आवश्यक पहल थालिएको डा.कार्कीले बताए।
 

प्रकाशित मिति: : 2020-03-18 02:47:40

प्रतिकृया दिनुहोस्