ज्ञापनपत्र बोकेर आएका प्रदेशप्रमुख भेटै नपाई फर्किँदै

उपचाररत प्रधानमन्त्रीको मात्रै होइन, प्रदेशप्रमुखहरूले राष्ट्रपतिको समेत समय पाएनन्

प्रदेशको मर्यादाक्रममा क्रमशः पहिलो र दोस्रो स्थानमा रहेका सातवटै प्रदेशका प्रदेशप्रमुख र मुख्यमन्त्रीहरू आइतबार केन्द्रीय राजधानी (काठमाडौं) मा देखिए । मुख्यमन्त्रीहरू कोरोना भाइरस नियन्त्रणका सम्बन्धमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलसँग बैठकमा देखिएका थिए भने प्रदेशप्रमुखहरूचाहिँ नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँगको छलफलमा । 

उपप्रधानमन्त्री पोखरेलको अध्यक्षतामा कोरोना भाइरस नियन्त्रणका लागि गठित ‘कोरोना भाइरस नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समिति’को बैठकका लागि काठमाडौं आएका मुख्यमन्त्रीहरूले कोरोना नियन्त्रणका लागि केन्द्रबाटै बजेट व्यवस्था गर्नुपर्ने माग गरेका थिए भने प्रचण्डसँग भेट गरेर प्रदेशप्रमुखहरूले आफूहरूको वरीयता र सुविधा वृद्धिका लागि ‘लबिङ’को सुरुवात गरेका थिए । 

नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको भेटअघि प्रदेशप्रमुखहरूले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि भेटघाटको योजना बनाए । यद्यपि, भेटका लागि उनीहरूले पहिला नै समय मागेका थिए । तर, राष्ट्रपति र प्रधानमन्त्रीको कार्यालयबाट भेटको समय नमिलाएपछि उनीहरू प्रचण्डकहाँ पुगेका थिए । 

राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष प्रचण्डलाई सातबुँदे ज्ञापनपत्र बुझाउने योजनासहित प्रदेशप्रमुखहरू काठमाडौं आएका थिए । तर, भेट्न नपाएपछि उनीहरूले राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्र बुझाउन पाएनन् । तर, प्रचण्डलाई भने बुझाए । 

प्रकाशित मिति: : 2020-03-17 21:54:54

प्रतिकृया दिनुहोस्