इटालियन फुटबल फेडेरेशनले युरोकप फुटबल पछि सार्न आग्रह गरेको छ।
कोरोना भाइरस अर्थात कोभिड–१९ को संक्रमणका कारण रोकिएका सिरी ए फुटबलका खेलहरु सकिन समय प्रदान गर्नका लागि युरोकप केही समय पछि सार्न इटालियन एफएले आग्रह गरेको हो।
कोरोनाका कारण इटाली नराम्रोसँग प्रभावित भएपछि गएको मंगलबार सिरी ए फुटबलका खेलहरु तत्कालका लागि स्थगित भएका छन्। लिगका बाँकी खेल सक्न केही सयम लाग्ने छन्। यस्ताे समयमा टिमले प्रयाप्त अभ्यास गर्ने समय नपाउने हुँदा खेल सार्न आग्रह गरिएकाे हाे।
इटालियन एफएका अध्यक्ष गाब्रिएल ग्राभिनाले यो प्रस्ताव मंगलबार बस्ने युरोपियन फुटबलको प्रशासकीय निकाय युइएफएको आपतकालीन बैठकमा पेश गरिने जानकारी दिए। युरोकप फुटबल आउँदो जुन १२ देखि सुरु हुनेछ।
इटालीमा कोरोना भाइरस अर्थात कोभिड–१९ बाट गएको २४ घण्टामा थप ३ सय ६८ जनाको ज्यान गएको भने ३५ सय ९० जना नयाँ बिरामी थपिएका छन्।
योसँगै इटलीमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ८ सय ९ पुगेको छ। २४ हजार ७ सय ४७ जनामा संक्रमण भएको छ। २० हजार ६ सय ५ जना उपचार गराइरहेका छन्।