इटालीमा कोराना भाइरसका कारण मृत्यु हुनेको संख्या १४ सय ४१ पुग्यो

एजेन्सी

काठमाडाै‌ं

विश्व स्वास्थ्य संगठनले महामारी रोगको संज्ञा दिएको कोरोना भाइरसको संक्रमितबाट इटालीमा मृत्यु हुनेको संख्या शनिबारसम्म १ हजार ४४१ पुगेको छ।  स्वास्थ्य अधिकारीहरुले दिएको जानकारीअनुसार सङ्क्रमितको संख्या शनिबारसम्म १७ हजार ७५० पुगेको छ। कोरोनाको संक्रमितबाट चीनपछि सबैभन्दा धेरै इटालीमै मृत्यु भएको हो।

त्यसैगरी बेलायतमा पनि बिरामीको संख्या एक हजार १४० पुगेको छ। बेलायतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या भने २१ पुगेको अधिकारीले जनाएका छन्।  पछिल्लो पटक मृत्यु भएका दश जनामध्ये सबै ६० वर्षभन्दा बढी उमेरका रहेको बेलायती स्वास्थ्य तथा सामाजिक हेरचाह विभागले जनाएको छ। 

चीनमा तीन हजार १९९ जनाको मृत्यु भएको छ भने ८० हजार ८४४ जना सङ्क्रमित भएका छन्। चीनमा कोरोनाको संक्रमितमा नाटकीय रुपमा सुधार आएसँगै शहर बजारको आवतजावत खुकुलो पारिएको र उद्योग, कलकारखाना खुल्न थालेका छन्।

तेस्रो धेरै प्रभावित हुनेमा इरान परेको छ। इरानमा १२ हजार ७२९ जना सङ्क्रमितमध्ये ६११ जनाको मृत्यु भएको छ।  त्यसैगरी दक्षिण कोरियामा ८ हजार १६२ जना बिरामी र ७५ जनाको मृत्यु भएको छ भने स्पेनमा ६ हजार ३९१ जना बिरामी भएका छन् भने १९६ जनाको मृत्यु भएको छ।

प्रकाशित मिति: : 2020-03-16 04:13:02

प्रतिकृया दिनुहोस्