दशाैं पटककाे हिमपातले किसानलाई राहत, यातायात ठप्प

कर्णालीमा दशक पछाडि चैतको महिनामा भारी हिमपात भएको छ। हिमपातसँगै चिसो बढेको छ भने जनजीवन कष्टकर भएको छ। तर किसानले रहत महसुस गरिरहेका छन्।

हिमपातले स्याउ राम्रो हुने गुठिचौरका किसान विर्ष सार्कीले बताए। 'चैत प्राय खडेरी परिरहने समय हो। तर यही बेला स्याउलाई बढी पानी चाहिन्छ', उनले भने, 'यो हिउँ त अमृत समान भयो।'

कृषि कार्यालय जुम्ला प्रमुख बालकराम देवकोटाले चैतमा हिउँ पर्नु स्याउ र वर्षे बालिका लागि राम्रो भएको बताए। 'स्याउका बुटा वरिपरि खाडल बनाएर हिउँका डल्ला राख्दा महिनादिनका लागि सिचाई गर्नै पर्दैन', उनले भने,'नयाँ र पुराना दुबै खाले बिरुवालाई राहत भएको छ।'

शुत्रबारदेखि खराब भएको मौसम आइतबार आंसिक रुपमा खुलेको छ। हावापानी फिल्ड कार्यालय जुम्लाका अनुसार यो हप्ताभरी फाटफुट वर्षा र उच्च भूभागमा हिमपातको सम्भावना छ। 

हिमपातसँगै चिसो बढेर माइनस ६ डिग्री सेल्सियससम्म पुगेको छ। चिसोले बालबालिका र वृद्धवृद्धाहरुलाई मौसमी रुघाखोकीको सम्भावना बढ्ने हुनाले सुरक्षित रहन चिकित्सकले आग्रह गरेका छन्।

यस्तै हिमपातका कारण कर्णालीमा हुने सबै उडान बन्द भएका छन्। कर्णालीको हुम्लाको सिमिकोट, डोल्पाको जुफाल, मुगुको ताल्चा र जुम्ला विमानस्थल शुक्रबारदेखि बन्द छन्।

हिमपातले लामो समय बन्द भएर सुचारु भएको नाग्म गमगडी सडक पुनः अबरुद्ध भएको सडक डिभिजन जुम्लाका प्रमुख लिला बहादुर भण्डारीले बताए।

प्रकाशित मिति: : 2020-03-16 00:38:05

प्रतिकृया दिनुहोस्