प्रोफेसर डीपी भण्डारीले महाप्रस्थान गर्नुभएको छ। प्राज्ञिक क्षेत्रका अत्यन्त उज्वल नक्षत्र प्रोफेसर-डाक्टर भण्डारी आफ्नो सिर्जन क्षमताका लागि मात्र होइन उदार दृष्टिकोण, लोकतान्त्रिक मूल्य र मान्यताप्रतिको अप्रतिम निष्ठा र हरेक सामाजिक राजनीतिक मुद्दाहरूलाई लिएर उहाँबाट व्यक्त हुने स्पष्टवादिताका लागि पनि उत्तिकै चर्चित हुनुहुन्थ्यो। आफ्ना वक्रोक्तिहरू र व्यङ्ग्य- शैलीका लागि त उहाँ प्रसिद्ध हुनुहुन्थ्यो नै नेपाली, हिन्दी र अंग्रेजी तीनैवटा भाषाका छाडा ठानिने शब्दहरूलाई बोलीचालीका क्रममा कुनै धक नमानी प्रयोग गर्ने कुरालाई लिएर थोरै बदनाम पनि हुनुहुन्थ्यो।
शैक्षिक तालिमका दृष्टिले अंग्रेजी भाषा र साहित्यको विद्यार्थी डीपीले कलेज जीवनमा सरसङ्गतका कारण हिन्दी सिक्नु भएको र एक ताका हिन्दीमै लेख्ने अभ्यास पनि गर्नु भएको थियो। तर, कालान्तरमा उहाँले आफ्नो अभिव्यक्तिको मूल माध्यम नेपालीलाई बनाउनु भयो। आफ्नो तालिम र कामको हिसाबले अंग्रेजी लेख्नु पनि उहाँका लागि अनिवार्य थियो। उहाँको मातृभाषा नभए पनि गम्भीर अध्ययन र कठोर साधनाबाट भण्डारी सरले लेख्य नेपाली भाषामाथि यस्तो उच्च कोटीको अधिकार कायम गर्न सक्नु भएको थियो, उहाँले लेखेका अत्यन्त रोचक र विचारोत्तेजक निबन्धहरू मार्मिक र कलात्मक नेपाली गद्यका मानक बनिसकेका छन्।
डोटी जिल्लाको निरौलमा आजभन्दा ८४ वर्षपहिले जन्मनु भएका डीपी भण्डारी देशको सुदूर-पश्चिम क्षेत्रबाट राष्ट्रिय स्तरमा स्थापित ती अत्यन्त थोरै व्यक्तित्वहरूमध्ये एक हुनुहुन्थ्यो जसलाई योग्यता र मेधाका दृष्टिले नेपालको त के कुरो, विश्वस्तरकै मान्न सकिन्थ्यो । खेदको विषय त के रह्यो भने क्षेत्रीयतावादका हिसाबले अत्यन्तै संकीर्ण देखिने सुदूर-पश्चिमबाट आएका कुनै पनि ठूला नेताले आफ्नो हातमा अधिकार हुँदा डाक्टर भण्डारीलाई उहाँले स्वाभाविक रूपले पाउनुपर्ने कुनै पद वा सम्मान दिनुपर्ने आवश्यकता देखेनन्। खासगरी, उहाँ मानसिक रूपले जोडिएको पार्टी नेपाली कांग्रेसबाट ४ पटकसम्म देशको प्रधानमन्त्री भएका छिमेकी जिल्ला डडेलधुरामा जन्मेका नेता शेरबहादुर देउवाले समेत् उहाँको कदर गरेनन्। भण्डारी सर् प्रति देउवाजीको ओठे भक्ति भने गज्जबकै थियो।
अत्यन्त स्वाभिमानी व्यक्ति भएकाले डीपीले आफ्ना लागि कहिल्यै कुनै प्रकारको लबिइङ त गर्नु भएन तर कुनै कुटनैतिक पदमा जान पाए राम्रै हुन्थ्यो भन्ने ठानेर शेरबहादुर देउवा पहिलो पटक प्रधानमन्त्री भएकै बेलामा प्रम का नजिक रहेका आफ्ना चेला कांग्रेसहरूमार्फत उहाँले आफ्नो चाहनाको जानकारी गराउनु भएको कुरा भने सत्य हो। त्यसै ताकाको एउटा अन्तरङ्ग जमघटमा उहाँले भन्नू भएको थियो: शेरे आफैँले पनि बुझेर केही गर्नुपर्ने हो मेरो लागि। अहिले त लाजै पचाएर मैले नै उसको कानमा कुरो पारेको छु। हेरौँ के गर्छ!
कुनै कुरो घत पर्यो वा रौसमा कसैलाई गाली वा प्रशंसा गर्नुपर्यो भने जमेर मुख छाड्ने आफ्नो बानी अनुसार डाक्टर डीपी भण्डारीले नेपाली भाषामा गाली जनाउने एक दुइटा भीषण शब्द उच्चारण गर्दै थर्थराइरहेको हातले हस्ताक्षर गरेको त्यो सिफारिसी-पत्र मेरो हातमा राखिदिनु भएको थियो। म गद् गद् भएको थिएँ। डाक्डर दुर्गाप्रसाद भण्डारीका मुखबाट गाली पनि मीठो सुनिन्थ्यो ।
विडम्बनाको कुरो, पश्चिमको त्यही क्षेत्रबाट बलबहादुर कुँवर, अर्जुनजङ्गबहादुर सिंह जस्ता उहाँभन्दा हरेक हिसाबले कनिष्ठ स्वजनहरूलाई राजदूत बनाउने शेरबहादुर देउवाजीले डीपी सरका लागि भने केही पनि गर्नु भएन। भण्डारी सर् हुनुहुन्थ्यो मानवीय चरित्रका कमजोरीहरूका सुविज्ञ विश्लेषक, त्यसैले, नातावाद, भ्रष्टाचार र चाकरी-चाप्लुसी नै राजकाजका लागि उमेदवारहरूको छनौट गर्ने मुख्य आधार बनाएको वर्तमान शासकीय प्रणालीमा आफूले कुनै प्रकारको आशा राख्नु नै ठूलो भूल भएको कुरो स्वीकार गरेर उहाँले त्यसपछि सबै प्रकारका राजनीतिक सम्पर्कबाट आफूलाई टाढा राख्नु भएको थियो। उहाँले जिन्दगीको बाँकी समय लेखाइ-पढाइमै बिताउने, अरू केही पनि काम नगर्ने र कुनै पनि प्रकारको अभिलाषा पनि नराख्ने प्रण गरेको कुरा खिन्न हाँसोका साथ मसँग नै भन्नु भएको थियो सान्ध्य-मिलनको एउटा अवसरमा।
त्रिभुवन विश्वविद्यालय, अंग्रेजी विभागबाट अवकास लिएको केही वर्षपछि डाक्टर भण्डारीको स्वास्थ्यमा समस्या देखिन थालेको थियो। हिंडाइ डुलाइ, भेटघाट र लेखन पनि कम हुँदै गएको थियो। केही वर्ष यतादेखि त गम्भीर तहमा पुगेको डिमेन्सियाका कारण उहाँ यो दुनियाँमा भएर पनि नभए बराबर हुनुभएको थियो ।
म डाक्टर भण्डारीको त्यति धेरै नजिक थिइन तर उहाँको स्नेहको विस्तृत छहारीको एक छेउमा भने थिएँ अवश्य पनि। एक दुई पटक मेरा कविताहरूको चर्चा पनि गर्नु भएको थियो उहाँले। उहाँको निबन्ध संग्रह मृगस्थलीको मैले गरेको समीक्षा मन परेको कुरा पनि गर्नु भएको रहेछ एउटा जमघटमा। एक पटक मलाई अंग्रेजी भाषाको प्रोफेसियन्सीको सिफारिस चाहिने भयो अंग्रेजी सम्बन्धी काम गरिरहेको विज्ञबाट। झट्ट सम्झनामा उहाँको नाम आएपछि म उहाँको बानेश्वरको घरमा गएको थिएँ। मेरो कुरो सुनेपछि उहाँले सजिलैसँग भन्नु भएको थियो: हरिका लागि जे लेखिदिनु पर्ने हो लेखिदिन्छु नि तर म लेख्न सक्दिनँ हात काँम्छ।
हात काँम्ने भएर डाक्टर साहेब केही पनि लेख्न नसक्ने हुनुभएको कुरो थाहा पाएर उहाँको नामबाट घरमै एउटा सिफारिसी-पत्र तयार गरी टाइप गराइवरी लिएर गएको मैले धुक्चुक मनले त्यही पत्र उहाँको हातमा राखिदिएको थिएँ। त्यो पत्रलाई सर्सर्ती पढेर उहाँले मेरो काँधमा आफ्नो न्याँनो र कोमल हात राख्दै 'यो चिठी कसले ड्राफ्ट गरेको हो' भने सोध्नु भएको थियो।
"म आफैँले गरेको हो डाक्टर साहब"
"तिमी मुजी बाहुनको अंग्रेजी त फ्ललेस् रे' छ नि ! ल लैजाउ !"
कुनै कुरो घत पर्यो वा रौसमा कसैलाई गाली वा प्रशंसा गर्नुपर्यो भने जमेर मुख छाड्ने आफ्नो बानी अनुसार डाक्टर डीपी भण्डारीले नेपाली भाषामा गाली जनाउने एक दुइटा भीषण शब्द उच्चारण गर्दै थर्थराइरहेको हातले हस्ताक्षर गरेको त्यो सिफारिसी-पत्र मेरो हातमा राखिदिनु भएको थियो। म गद् गद् भएको थिएँ। डाक्डर दुर्गाप्रसाद भण्डारीका मुखबाट गाली पनि मीठो सुनिन्थ्यो।
विदा ! सधैँका लागि विदा डाक्टर डीपी !