महेश कार्की
गत माघ १९ गते मेरो फेसबुक वालमा एउटा फोटोसहितको स्टाट्स देखियो । फोटोमा थिए, सेक्युरिटी गार्डको ड्रेसमा एक युवक।
फेसबुक पेज ‘ठग अफ लाइफ’ले फोटोसँगै राखेको थियो, ‘बिडम्बना ! उहाँ कुलबहादुर शाही विश्व रेकर्ड कायम गर्ने अल्ट्रा धावक (१२ हजार किमी दूरी २१८ दिनमा पार गरेर) । बाँच्नका लागि उहाँ सेक्युरिटी गार्डको काम गर्छन् । दैनिक १२ घण्टा काम गरेपछि मासिक १२ हजार कमाउनु हुन्छ । उहाँसँग राष्ट्रिय खेलकुद परिषद्को राष्ट्रिय खेलाडीको परिचयपत्र छ, तर शरीरमा सेक्युरिटी गार्डको युनिफर्म।’
यो माथिको स्टाट्स पढेपछि नरमाइलो लाग्यो । विश्व रेकर्ड बनाउँदै देशको नाम उँचो बनाएका एक युवा जीवन चलाउन सुरक्षागार्डको काम गरिरहेका छन् । उनको स्टोरी लेख्ने विचार गरेँ र त्यही पेजमा म्यासेज गरेँ, ‘म काठमाडौंप्रेस डटकमबाट । अल्ट्रा धावक कुलबहादुर शाहीको नम्बर पाउन सकिन्छ होला ?’
मैले म्यासेज लेखेको १०–१२ दिनपछि म्यासेजरको घन्टी बज्यो । हेरेँ, तिनै कुलबहादुरको नम्बर आएको रहेछ । नम्बर डायल गरेँ, तर मोबाइल स्वीचअफ रहेछ । एक दुई दिन लगातार फोन गरेँ, तर सम्पर्क हुन सकेन।
यसबीच उनीबारे इन्टरनेटमा सर्च गरेँ । केही समाचार र भिडियो भेटियो। प्रायः सबै समाचार पढेँ, भिडियो हेरेँ । कुलबहादुरका बारेमा धेरै कुरा थाहा पाएँ । उनले नेपालका ७५ जिल्ला दौडेर पूरा गर्दै विश्व कीर्तिमान बनाएका रहेछन् । त्यसपछि उनलाई भेट्न झन आतुर भएँ।
लगभग एक सातापछि गत मंगलबार दिउँसो फेरि फोन गरेँ, फोन उठ्यो । हामीबीच करिब १ मिनेट कुराकानी भयो । मैले आफ्नो परिचय दिँदै भने, ‘तपाईंको स्टोरी लेख्न मन लागेको थियो, कहिले भेट्न सकिन्छ होला ?’