आज म तपाईंहरूलाई कालभैरवको कथा सुनाउँछु। हनुमानढोका दरबारको मूल प्रांगणमा कालभैरवको विशाल मूर्ति धेरैले देख्नुभएको होला। काठमाडौं बाहिरका पाठकहरू, जसले हनुमानढोका घुम्नुभएको छैन, उहाँहरूले पनि कहीँ–कतै यसको तस्बिर त पक्कै देख्नुभएको छ।
कालो वर्ण, रौद्ररूप र नौ हात अग्लो यो मूर्ति झट्ट हेर्दा निकै डरलाग्दो देखिन्छ। त्यसमाथि यसको शारीरिक हाउभाउ नै भयंकर।घुँडा–घुँडासम्म मुण्डमाला भिरेर, भुइँमा उत्तानो परेका बेताललाई बेफिक्रीसाथ कुल्चेका कालभैरव देख्दा कसको मन सिरिंग नहोला!