इको–इटरी!
एउटा आलिशान ‘फुड कोर्ट’ छ। ‘भर्टिकल गार्डेन’ले भित्ताहरू छपक्कै छन्। यहाँ हावा पनि विशेष किसिमका ‘फिल्टर’ भएर आउँछ। बाहिरको धुलो–धुँवाले केही फरक पार्दैन क्या गज्जब!
सफा र शुद्ध हावाबाहेक यहाँ आधुनिक ‘मेन्यु’ पनि उपलब्ध छ। तर यस्ता ‘इको–इटरी’ अर्थात् वातावरणमैत्री रेस्टुरेन्टको आनन्द जोकोहीले लिन सक्दैनन्।
हो, असाध्यै महँगा छन्। वर्षैभरि धुलो र धुँवाको कुइरीमण्डलले ढाकिने शहरमा प्रदूषणबाट उम्किने कुनै उपाय नभएका गरिबको पहुँचभन्दा बाहिर छन्।
लान्सेट प्लानेटरी हेल्थले गरेको अध्ययन अनुसार वायु प्रदूषणले प्रत्येक वर्ष दश लाख भारतीयको ज्यान लिन्छ। नयाँ दिल्ली सबैभन्दा ‘विषाक्त’ शहरमध्ये एक हो। यहाँ विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले तोकेको मापदण्डभन्दा बढी प्रदूषण छ।
तर के गर्नु ? रामावतार सिंह यो प्रदूषणबाट भागेर कहाँ जाऊन्! शहरका अधिकांश गरिबजस्तै उनी पनि बाहिरै खान्छन्, सुत्छन् र काम गर्छन्।
‘म दिनमा छदेखि आठ घण्टा काम गर्छु । छोराछोरी पनि धेरैजसो बाहिरै खान्छन् र सुत्छन्,’ पाँच सन्तानका पिता सिंहले भने। उनी सडकछेउको ठेलामा दालभात खाँदै थिए।