‘हामी होटलमै बस्छौं नि। झोला राखिसकेका छाैं,’ मेरा वाक्य भूँइमा खस्न नपाउँदै हिरा बिजुलीले प्रश्न गरे, ‘रुपियाँ मस्तै छुन कि क्या हो?’ त्यसको उत्तरमा हामीसँग चुपचाप लाग्नुको विकल्प थिएन। गमगढीमा रात पर्नै आँटेको बेला भामबाडा जानुपर्ने भयो।
उनले बिहानै विष्णुमायासँग कुरा गरिसकेका रहेछन्, लिएर आउँछु भनेर। विष्णुमाया अर्थात् विष्णुमाया परियार। हिरा नेपालीसँग जोडिएर आएकी विष्णुमाया को होलिन् आफै बुझिहाल्नुभयो होला। नबुझे एक्कैछिन् पर्खिनुस्, सबै थाहा पाइहाल्नु हुन्छ। अँध्यारोमा हिरा बिजुलीका मिठा गफ सुन्दै घर पुगिहाल्यौं।
उनका मिठा गफ सुन्दासुन्दै विष्णुमायाले पकाएको मिठो खाना खायौं। त्यो दिन गफ गर्दागर्दै सुत्नेबेला भइसकेको थियो। दिनभरी गमगढीको उकालो–ओरालो गर्दै जीउ थाकेको थियो।
अहो ! म यो के लखिरहेको छु? कहिलेकाहीँ लाग्छ, म आफ्ना सामान्य कुरा पनि बढो फूर्तिसाथ भनिरहेको हुन्छु। लाग्छ, कतै घमण्डी त हुँदैछैन म। यतिकैमा उखान याद आयो, ‘बाघ मार्यौं, बराया मार्यौं, ती प मार्यौ भुन्नु, खोलिउनाको लोट्या चरो त्यो क्या मार्यौ भुन्नु।’ अब भने साँच्चै लाज लागेर आयो। विषयवस्तुतिरै लाग्छु।
बिहान विष्णुमायाले भान्साको तयारी गरिरहेकी थिइन्। हिरा उनलाई सघाइरहेका थिए, सहायक भएर। भात–भान्साको मुख्य जिम्मेवारी विष्णुकै थियो। जिम्मेवारी?? सोच्ने हो भने यो त निकै ठूलो कुरा हो। तर, यहीँनेर पुरुषसत्ताको गन्ध आउँछ। यद्यपि हिरा सकेसम्म भान्सामा आफूलाई पनि सहभागी गराइरहेका थिए।
बिहान चियाको चुस्की लिँदै हामीले हिरासँग कम विष्णुमायासँग बढी कुरा गर्यौं। हामीलाई उनी गृहणी मात्रै हुन् भन्ने लागेको थियो। तर उनी त कलाकार रहिछिन्। यसपाली मुगु डायरीमा उनै कलाकारलाई प्रस्तुत गर्दैछौं।
हाम्रो कुरा सुरु हुनुभन्दा पहिला हिरा बिजुलीले जिस्किदै भने, ‘हिजोआज हाम्मो झगडा भयो भुन्या, यी मोकन क्या सोच्याछै? मेरा नाडिउँदो शक्ति पलायाछ, बुझिस्, भुन्निछुन्।’
‘सबै कुडा, सबैका अगाडि नगर्या हुन्छियोन,’ लजावती फुलझैं लजाएर विष्णु भन्छिन्, ‘त्यही डाइलग मत्तै थियो, नाटकभरी?’ एकछिनको हाँसोपछि विष्णुमायाकै कुरातिर लाग्यौं।
विष्णुमाया चर्चित नाटक ‘गर्भ्छिटा’की मुख्य पात्र पम्फा हुन्। अर्को नाटक ‘पम्फा फूल’मा पनि उनले अभिनय गरेकी छिन्। गर्भ्छिटामा फम्फा कथित माथिल्लो जातको घरमा जन्मेकी हुन्छे। म नाटककी पात्र पम्फालाई तँ भन्छु। तँ भन्नुमै मलाई सजिलो लागिरहेको छ। हुनत हामी कर्णालीबासी देउतालाई पनि तँ नै भन्छौं।
‘दे नारायण गोसाईंय तोइ छै, हाम्मो अगेल्लो पछेल्लो।’ ‘पिड्ना(पिठिउँ) पछाडि राजा न त तो(तँ) भुन्नाछुन्’ भन्दै हुर्केका हौं।
पम्फा गर्भमै हुँदा बाबुले गरेको वाचाको कारण ऊ आफूले मन पराएको मान्छे चाउरेसँग बिहे गर्न पाउँदिन। जो एक सामाजिक कुप्रथा हो। जसअन्तर्गत पेटमै बच्चाको लोग्ने वा स्वास्नी खोज्ने काम हुन्छ। श्रीमती सुत्केरी हुँदैछे र पेटको बच्चा छोरो रहेछ भने कोही इष्टकी छोरी भइ भने उसलाई बुहारी बनाउने वा पेटको बच्चा छोरी रहिछ भने कुनै इस्टको छोरो भयो भने त्यसैलाई छोरी दिने भन्ने वाचा भइसक्छ। लाडु(कसार) दिने, दहीको ठेको लिने दिने, दशैमा टिको पिठा गर्ने, सम्धी, सम्धिनी नाता लगाउने सबै भइसकेको हुन्छ।
गर्भ्छिटाकी पम्फा गर्भमै हुँदा बाले छोरी भएपछि दिने र छोरो भयो भने लिने गरी नाता लाइसकेको हुन्छ। संयोग वाचा गरेको मान्छेको छोरो जन्मिन्छ तर ऊ लाटो हुन्छ, इर्या नाम गरेको। वचन हार्दा आइलाग्ने सामाजिक परिबन्धले गर्दा उसले पम्फालाई लाटो इर्यासँग बिहे गराइदिन्छ। ऊ जन्मिनुभन्दा अगाडिको निर्णयले पम्फाको जिन्दगी बर्वाद हुन्छ।
यदि बाबुले वाचा नगरेको भए पनि ऊ चाउरेसँग बिहे गर्न पाउने थिइन। किनकि चाउरे कथित तल्लो जातको थियो। कथाका लेखक तथा निर्देशक हिरा बिजुली पनि यसो गर्न सक्दैनथे। समाजको कुंस्कारलाई जस्ताको तस्तै देखाउन उनलाई मन थियो। त्यसका साथै उनले पम्फालाई विद्रोही बनाइदिएका हुन्छन्। हुन त प्रेम सँधै विद्रोही नै हुन्छ। संसारका जुनसुकै ग्रेटवाल पनि प्रेमले सजिलै भत्काउन सक्छ।
सन् १९८१ मा मुम्बईबाट एउटा शक्तिशाली फिल्म निर्माण भयाे, ‘एक दुजे के लिए’। उक्त फिल्मका प्रेमी प्रेमका लागि अनि उनीहरुले कल्पना गरेको विशाल भारतका निम्ति भाषा अनि भाषिक संस्कृतिको पर्खाल तोडेर ज्यानको बाजी लगाएर प्रेम गर्छन्। कमल हसन अनि रति अग्निहोत्रीको त्यो जोडीले आज पनि हामीलाई रुवाइदिने क्षमता राख्छ। फिल्मले असल प्रेम मात्र होइन, गरीब र धनीबीच, कुसंस्कार र विभेद तोड्नलाई उत्साहित गरिरहन्छ। समग्रमा विद्रोही बन्न सिकाउँछ।(हेर्नुस्, रवीश कुमार, मुक्त आवाजः लोकतन्त्र, संस्कृति र राष्ट्रबारे, पृष्ठ ११२, सांग्रिला बुक्स) त्यसरी नै हिरा बिजुलीले पम्फालाई गर्भ्छिटामा विद्रोही बनाइ दिएका छन्।
सुरुमा बाबुको इज्जतलाई ख्याल गर्दै पम्फा बाबुले दिएको इर्यासँग बिहे गर्छे। तर, उसले प्रेम गरेको मान्छे चाउरे थियो। ऊ चाउरेसँगको हेलमेल बढाइरहेकी हुन्छे। यसै क्रममा उनीहरुबीच सहबास हुन्छ। ऊ गर्भवती हुन्छे। उसले यो कुरा आफ्नो श्रीमानलाई सुनाउँछे। यो तेरो बच्चा होइन भनेर बुझाउन लाखौं कोसिस गर्छे। तर, लाटो न हो उसको श्रीमान्, कुरा बुझिदिदैन। आफूलाई बुझ्नै नसक्नेसँग जीवन बिताउन सकिन्न भन्ने निष्कर्षसहित पम्फाले उसलाई छोडिदिन्छे।
ऊ चाउरेकोमा आएर आफूलाई भगा भन्छे। चाउरे आँट गर्न सक्दैन। उसलाई खुब भरोसा दिन्छे। तर, चाउरे निरीह बनिदिन्छ। त्यहिबेला पम्फाले भनेकी हुन्छे, ‘मेरा नाडीउँदो शक्ति पलायाछ।’ र पनि चाउरेको आँट बढ्दैन। बरु मरिदिन्छ।
यतिञ्जेलसम्ममा पम्फाको बाबुले यो कुरा थाहा पाइसकेको हुन्छ। त्यसैले पम्फा आफ्नो बाबुको घर नगएर अनन्त यात्रामा निस्किदिन्छे। पम्फा अनकन्टार ठाउँमा गएको बेला सपना देख्छे। सपनामा चाउरेलाई बाबुले ज्वाईं साहब भनेको। बच्चालाई दुध खुवाउन आफूलाई आग्रह गरेको। मिठो सपना देख्दै गर्दा विपना नमिठो बनिदिन्छ। त्यहिबेला उसको प्रेमको निसानी गर्भ तुहिन्छ। नाटक सकिन्छ।
नाटकमा गर्भ तुहिएकी विष्णुमाया त्यतिबेला आफ्नो गर्भमा साँच्चीकै बच्चा हुर्काइरहेकी थिइन्। नाटक तयारी गर्दैगर्दा वान्ता हुन थालेपछि थाहा भएको थियो, बच्चा छ भनेर। अहिले त जन्मिसकेको छ, छोरा। त्यहिबेला काठमाडौंमा नाटक प्रदर्शन भएको थियो। उनलाई चरित्रमा भिज्न निकै गाह्रो हुन्थ्यो। त्यसमाथि सबैभन्दा बढी बोल्नुपर्ने पात्रको भूमिकामा रहेकी उनलाई लामालामा संवाद कण्ठ गर्न कम्ताको सकस भएको थिएन। हुनत नाटकको अभ्यासदेखि नै उस्तै भोगाई थियो। कहिलेकाँही दुईवटा शो पनि गर्नुपर्थ्यो। हरेकपल्ट नाटक सकिनेवित्तिकै आराम गर्नुपर्ने उनलाई दुई शो चल्दा सहन मुस्किल पर्थ्यो।
‘दर्शकहरु थियटरमा खचाखच भरिएका हुन्थे,’ उनी भन्छिन्, ‘यस्तो अवस्थामा सबै कष्ट सहेर पनि आफ्नो चरित्रमा भिज्ने कोसिस गर्थें।’
मानिसले भोग्ने साधारण पीडाभन्दा झण्डै १५ सय प्रतिशत बढीको प्रसब पीडा सहनलाई गर्भवती भएकी उनलाई नाटक गर्दाको पीडा केही पनि लागेन। त्यसैले पनि नाटकमा उनले ओकल्नुपर्ने वाक्य थियो, ‘मेरा नाडीउँदो शक्ति पलायाछ।’
पहिलोपटक गर्भ्छिटामार्फत् राजधानी छिरेकी मोफसलकी विष्णुमायाको नाडीमा शक्ति भर्न हिरा बिजुलीले खुब भरोसा दिए। विष्णुमायामा आँट पलायो। उनी तयार भइन्। याद गर्ने बानी नपरेकी उनले चरित्रमा भिज्दा सब सामान्य बनाइदिइन्। ‘साँच्चै नाडीउँदो शक्ति पलायो भने चुनौतिका हरेक पहाड छिचोले झैं, जीवनका हरेक नाइल नदी पनि छोटा लाग्दा रहेछन्।’ एक आत्मविश्वाससहितको मुस्कानमा फुस्किन्छ, विष्णुमायाको।
राजधानीमा कर्णाली बोकेर गएका मोफसलको बेजोड अर्गा्निक प्रस्तुितले साराको ध्यान तानिदिएको थियो। राजधानीका लागि पहिलो भएपनि उनले मुगुमा थुप्रैपटक सडक नाटक गरिसकेकी थिइन। उनको टिमले मुगुमा मात्र विभिन्न नाटकको गरेर झण्डै दुई हजार शो देखाइसकेको छ।
पहिलोपटक उनी ११ पढ्ने बेला उनको गर्भमा चार महिनाको बच्चा थियो। त्यहीबेला खाना अरुची हुँदा, वान्ता आउँदा पनि एचआइभी भन्ने नाटक देखाउन गाउँगाउँ हिडिन्। पहिलो नाटकमा उनी बुहारीको भूमिकामा थिइन्। लोग्ने इन्डियाबाट आएपछि उसले शारीरिक सम्पर्क गर्न दिन्न। स्वास्थ्य परीक्षण नगर्दै ऊ मर्छ। इन्डियाबाट आउने जोकोहीलाई सुरुमा स्वास्थ्य परीक्षण गराउन सन्देश दियो, उक्त नाटकले।
यसरी गर्भमा बच्चा बोकेर गाउँगाउँमा दिएको प्रस्तुतिले उनलाई शक्तिशाली बनाउँदै लगेको थियो। राज्यको नजरबाट सधै तिरस्कृत कर्णाली सामाजिक संस्कार र विभेद्को पर्खाललाई भत्काउन तथा शासकको दिमागमा ढ्यांग्रो ठोक्न राजधानी छिरेपछि त झन् नाडीमा शक्ति पलाउने नै भयो।
विष्णुमाया १० कक्षा पढ्दै गर्दा राजधानीबाट पढाइ सकेर आएका हिरा बिजुलीले उनलाई मन पराए। कुरा २०६८ सालको हो, मन परेको के थियो, भगाइ नै दिए। उनले एसएलसी पनि भागेपछि नै दिइन्। ‘बाल्यकाल धेरै थाहा नपाइकनै बिहे गरियो। सुनाउने जस्तो बाल्यकाल नै छैन,’ उनी भन्छिन्, ‘पढ्ने ईच्छा थियो।
हिराले साथ दिएपछि पढाइ रोकिएन। हाल उनको अध्ययन राजनीतिशास्त्र र समाजशास्त्र लिएर बिए तेस्रो वर्षसम्म पुगेको छ। नाटक खेल्दै गर्दा समाजलाई फरक आँखाले हेर्न थालिन्। समाज बुझ्नलाई राजनीतिशास्त्र र समाजशास्त्र जरुरी ठानेर अध्ययन थालिन्।
बजारबाट १५ मिनेटको दूरीमा पर्ने छत्यालबाडा स्कुलको पहुँचभन्दा टाढा थिएन। त्यसैले पढ्ने अवसर मिल्यो। चेतनाको विकास भइनसेकाले पढाइ बीचमै छोड्नेको संख्या धेरै थियो। त्यसैले विष्णुकी दिदी र दाइले पनि बीचैमा पढाइ छोडे। १० वर्षअघि विद्यालयमा भर्ना भएका १३ लाख बढी विद्यार्थीमध्ये झण्डै चार लाख मात्र एसएलसीमा सहभागी हुन्छन्। यही चेतनाले नै हुनुपर्छ। विद्यालय छोड्नेको स्तम्भचित्र रहिरहनेको भन्दा तीन गुणा अग्लो हुन्छ।
हिरा बिजुली खस साम्राज्यभन्दा अगाडिका कथित दलितहरुको कला, संस्कृति, संस्कार र सभ्यतामाथि भएको अतिक्रमण र युगौंदेखि दबाइएका उनीहरुको कला, सीप, आविस्कार र संस्कृतिलाई संरक्षण तथा प्रवर्द्धन गर्न सम्भावनाको सहर काठमाडौं छोडेर मुगु फर्किएका थिए। यो एक हिसाबले जोगी बन्ने अभियान नै थियो।
विष्णुमायासँगको बिहेपछि उनीहरु दुबैको धारणा एउटै बन्यो। दलितहरुको सीप जोगाउन कलाबाहेक अन्य विकल्प नदेखेका उनीहरु नाटक गर्न थाले। अभियान यति सशक्त भयो कि जिल्लाका हरेक कुनाकुनामा पुगे। बालबिबाह र मानव बेचबिखन रोक्न शृंखलाबद्ध रुपमा नाटक प्रस्तुत गरे।
यी नाटक यति प्रभावकारी भए कि गाउँलेहरुबाट ललाई फकाई जिल्ला बाहिर लिएका बालबालिकाको एक एक तथ्यांक बाहिर आउन थाल्यो। फर्काउने अभियान नै चल्यो। संस्थागत रुपमा पचास बालबालिका घर फर्किए भने अभिभावक सचेत भएर आफैले फर्काएका बालबालिकाको संख्या डेड सय बढी पुगिसकेको छ। त्यसरी बालबालिका फर्काउने र पारिवारिक मिलन गराउने काम हालसम्म पनि चलिरहेको छ। यी परिणामहरुले नै शक्ति दिइरहेका थिए।
‘जीवनको सबैभन्दा ठूलो सन्तुष्टी नै त्यही थियो, जतिबेला हाम्रो नाटककै कारण अवैध रुपमा जिल्ला बाहिर गएका बालबालिकाहरु धमाधम फर्काइए। पारिवारिक मिलनको त्यो सुखद क्षणका साक्षी हामी आफै थियौं,’ सन्तोषले नै होला, विष्णुमायाको अनुहार चम्किलो हुन्छ।
हिरा बिजुलीले कर्णाली बोकेर काठमाडौं जानेबेला विष्णुको काँध पनि गह्रौं थियो। अब काठमाडौंले वास्ता गरोस् नगरोस्, मुगालीहरु काठमाडौंदेखि चिढिदैछन्। यसले सत्ताको खाल्डो खनिदैछ। ढिलो वा चाँडो त्यो खाल्डोमा सत्ता जाकिन्छ नै। यदि सत्ताले बेलैमा होस पुर्याएन भने।
नाटकले विष्णुलाई विभेदको विरुद्ध बोल्ने शक्ति दियो। उनी हिजोआज गाउँमा कहीँ कतै छुवाछुतको आभास पाउने वित्तिकै लड्न जान्छिन्। अभियान चलाउँछिन्। राजनीतिशास्त्र र समाजशास्त्रले दिएको ज्ञान र नाटकले भरेको शक्तिको परिणाम हुन्, ती। यदि कसैले विभेद् गरिहाल्यो भने पनि विष्णुमाया अन्यायको विरुद्ध बोल्ने एकमात्र वास्तविक पात्र हुन्छिन्।
विभेद् कम गर्नलाई संघर्ष अनेक तवरबाट भएपनि दलितहरुमा चेतनाको कमीका कारण ‘हाम्रो भाग्य नै यस्तै हो’ भनेर बाहिर बसेर खाइदिन्छन्। विष्णुमायालाई खुब दुख्छ। ‘हामी घरभित्र गई खान खोज्दाछु। हाम्मा मान्ठ घर बाहिरै बसी खाइदिदाछन्। दे कहरी कुडा मिल्या भयो त,’ उनी भन्छिन्, ‘दलित विश्लेषकहरुले भनेजस्तै हाम्रो रगतमै संक्रमण पो छ कि? उसो त चेतना कम भइकन पनि हुनसक्छ।’
पछि छोरो दुई वर्षको हुँदा काँधमै बोकेर गाउँगाउँ पुगिन्। हिमाली सिरेटोसँगको संगतले पनि उनलाई शक्तिशाली बनायो। उनमा शक्ति एक्कासी पलाएको थिएन। नत कुनै देउताले नै यो शक्ति भरिदिएका थिए। देउता त पछिल्लो समय शासकका गुनगान गाउन थालेका छन्। सुरुमा देउता कथित दलित जातिकै भएपनि अब देउताले रुप बदलिसकेका छन्। हुनेखानेका अगाडी भाषा बदल्छन्, भेष बदल्छन्। त्यसैले त देउता आजकाल फेल भइसकेका छन्। ‘लाग्छ आजकालका देउताहरुको मार्क्सिटभरी असफलताका चिन्ह छन्,’ विष्णुमायालाई लागेको कुरा थियो यो।
‘शिरिषको फूल’की पारिजात र ‘अनिदो पहाडसँगै’की परिजातमा आकाश–जमीनको फरक छ। पारिजातले आफ्नो धारणा परिपक्व बनाउँदै गर्दा एक सशक्त प्रगतिशील साहित्कार बनिसकेकी थिइन। समकालिन सात्यिदेखि हालसम्म पनि परिजातलाई उछिन्न सक्ने साहित्कार जन्मिएका छैनन। त्यस्तै समाज बुझ्ने र बुझाउने अभियानमा लाग्ने विष्णुमायाको उत्साह झन् बढिरहेको छ। समयले उनलाई परिपक्व र शक्तिशाली बनाउँदै लगेको छ।
थिएटरमा काम गर्दा, नाटक खेलेर समाजलाई सचेत बनाउने अभियानमा लाग्दा स्वभाविक रुपमा अभावको जिन्दगी जिउनुपर्ने रहेछ। तर, उद्देश्य नै त्यही भएपछि भोक, प्यास सब गौढ हुँदा रहेछन्। त्यसैले उनलाई लाग्छ, सिंगो कर्णालीको भूगोलले भोक मेटाउनेछ अनि सिंगो कर्णाली नदीले नै प्यास मेटाउनेछ। त्यसैले विष्णुमायाका नाडीउँदो शक्ति पलायाछ, पलाइरहन्छ उनी लागिरहन्छिन्, पुरै आत्मविश्वासका साथ। ‘एकदिन कर्णाली नदीले सारा दु:ख बगाउने छ।’
यो पनि हेर्नुहोस्
८)डेढ सयबाट व्यवसाय शुरु गरेकी धनमाया बुढा मुगुमै बसेर कराेड कमाउँछिन् (भिडियाे)
७)जव ‘३६’ हुनुपर्नेमा ‘६३’ हुन्छ, अनि चुलिन्छ मुगाली आक्रोश
६) नेपाल भ्रमण वर्ष–२०२०: यसरी त कसरी सफल होला र?
५) कालो बादलभित्र चाँदीको घेरा (भिडियाे)
४) मुगुका हिरा अर्थात् हिरा बिजुली
३) रारा : सके धेरैपटक, नसके पनि एकपटक
२) इतिहास बाँङ्गिने 'तुङ्गनाथ' चिन्ता