सन् १९९८ फ्रान्सको लागि बिशेष थियो। त्यो वर्ष फ्रान्सले पहिलो पटक फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता विश्व कपको उपाधि मात्र जितेन, अन्तर्राष्ट्रिय फुटबलका भविष्य केलियन एम्बाप्पेको पनि जन्म भयो।
फ्रान्सले विश्व कप जितेको ५ महिनापछि २० डिसेम्बर १९९८ मा जन्मिएका एम्बाप्पेलाई अहिले विश्व फुटबलले चितुवा भनेर चिन्छ। वास्तवमा यो नाम उनलाई दिनुको पछाडि उनको फुटबल मैदानमा दौडिने कला नै हो। व्यवसायिक फुटबल खेलाडी छरिता हुन्छन्। यसमा कुनै शंका छैन। उनीहरू सामान्य मान्छेभन्दा छिटो दौडिन्छन्। तर, यसमध्ये पनि कोही यस्ता खेलाडी हुन्छन्, जसले खेलमा विशेष प्रभाव पार्छन।
फुटबलमा यस्तै क्षमता भएका खेलाडी हुन्, पेरिस सेन्ट जर्मेन (पिएसजी) का स्टार स्ट्राइकर एम्बाप्पे। उनी अरूले खेल्नेभन्दा छिटो मात्र होइन, अरूले हेर्न सक्नेभन्दा छिटो फुटबल खेल्छन। हालै उनी २१ वर्षमा टेकेका थिए। ३८ किलोमिटर प्रतिघण्टा दौडन सक्ने क्षमता उनीमा छ। मैदानमा जब उनी दौडन सुरु गर्छन, उनलाई रोक्न बिपक्षी खेलाडीलाई हम्मेहम्मे पर्ने गर्छ।
उनी विश्व चर्चित स्प्रिन्टर उसेन बोल्टको हाराहारीमा दौडने सामथ्र्य राख्छन्। एम्बाप्पेको दौडिने कला मात्र होइन, फुटबलसम्बन्धि अन्य कला तथा सानै उमेरमा उनले हात पारेको सफलताका कारण अर्जेन्टिनी स्टार लिओनल मेसी र पोर्चुगलका क्रिस्टियानो रोनाल्डोपछि फुटबलको विरासत धान्ने खेलाडीको रूपमा हेर्ने गरिन्छ।
यसको दुई प्रमुख कारण छ। उनी फुटबलप्रति निकै लगनशील छन् र यो खेल उनको नसानसामा दौडिएको छ। वास्तवमा यो अवस्थामा आइपुग्न एम्बाप्पेले निकै मिहिनेत गरेका छन्।
एम्बाप्पेको परिवार फ्रान्सको स्थायी निवासी होइन। उनीहरू कुनै बेला फ्रान्सको उपनिवेश रहेको अफ्रिकी मुलुक अल्जेरियाका आप्रवासी हुन्। उनका बुवा विल्फ्रेड पहिले क्यामरून र त्यसपछि नाइजेरिया हुँदै फ्रान्स पुगेका हुन्। उनकी आमा फयाजा भने फ्रान्सेली नागरिक हुन्। एम्बाप्पेका बुवा विल्फ्रेड पनि फुटबल खेलाडी हुन्। उनले क्यामरुनको एक फुटबल क्लबलाई प्रशिक्षणसमेत दिएका थिए। आमा पनि ह्यान्डबल खेलाडी हुन्। क्यामरुनमा खेल्न गएको बेला यी दुईबीच प्रेम भएको थियो र उनीहरू छिट्टै नै विवाहबन्धनमा बाधिए। विवाहपछि मात्र विल्फ्रेडको बसाईं फ्रान्स सरेको हो।
फ्रान्समा काला आप्रवासीप्रति त्यति राम्रो व्यवहार हुँदैन। यद्यपि यहाँ नागरिकको जातको तथ्यांक संकलन गर्नु गैरकानुनी मानिन्छ। तर पनि जनसंख्याविद् फ्रान्सको १० प्रतिशत जनसंख्या उत्तर अफ्रिकी भएको दावी गर्छन। यहाँ ३–४ प्रतिशत संख्या कालाजातिको छ।
एम्बाप्पेका बुवा विल्फ्रेड उनको फुटबल एजेन्ट पनि हुन्। फ्रान्समा बसाईं सरेपछि विल्फ्रेडले फुटबलमै ध्यान केन्द्रित गर्न नखोजेका होइनन् तर त्यो सम्भव भएन।
उनी फ्रान्समा सरेकै वर्ष पेरिसमा जातिय दंगा भड्कियो। यो हिंसाले उनको परिवारलाई नराम्रो असर ग¥यो। तर उनले हार मानेनन्। उनी परिवार पाल्न निजी विद्यालयमा प्रशिक्षण दिन्थे। यति नै बेला एम्बाप्पेको पनि जन्म भएको हो।
‘त्यो समय वास्तवमै हाम्रा लागि कठिन थियो। पेरिस बस्न असम्भव थियो। दिनहुँ हामीमाथि विभेद हुन्थ्यो। हामी मोनाकोमा सर्न चाहन्थ्यौं तर सरकारले हिँडडुल गर्न गाह्रो बनाएको थियो,’ अहिले पनि त्यो घटना सम्झिँदा भावुक बन्छिन्, आमा फयाजा।
आफू स्टार फुटबलर नभएपनि छोरालाई स्टार बनाउने सपना वेल्फ्रेडले राख्नु स्वभाविक हो। उनले छोरोलाई फुटबल खेलाडी बनाउन कोठालाई नै मैदान बनाएका थिए। ३ वर्षको हुँदा एम्बाप्पेले बुवाबाट फुटबलको लगभग सबै ज्ञान सिकिसकेका थिए। तर उनको कलिलो दिमागलाई बुवाले सिकाएको ज्ञान सम्झिन ६ वर्ष लाग्यो। उनले ६ वर्षको उमेरमै चमत्कार देखाउन थालिसकेका थिए। सानैदेखि उनको बलमाथिको नियन्त्रण, ‘ड्रब्लिङ’ र दौडिने कला अरुभन्दा भिन्न थियो।
उनको आत्मविश्वास देखेर बुवा नै कहिलेकाहीँ दंग पर्थे। यसैले उनले ६ वर्षको उमेरमै एम्बाप्पेलाई क्लेयरफोटेनमा भर्ना गरे। क्लेयरफोटेन फ्रान्सको राष्ट्रिय फुटबल खेलाडी उत्पादन गर्ने एकेडेमी हो। जुन एकेडेमीले यहाँ भर्ना हुने खेलाडीको बस्ने र खाने सबै खर्च आफैले उठाउने गर्छ।
एकेडेमीको प्रशिक्षणले उनको खेलमा थप निखार आयो। सानैमा उनी एकेडेमीमा स्टार भइसकेका थिए। उको फुर्तिलो शरिर र बल दौडाउने कलाबाट आकर्षित भएको फुटबल संघले त्यति बेला नै उनी फ्रेन्च फुटबलको सुनौलो भविष्य भएको ठोकुवा गरिसकेको थियो।
‘मेरो छोरा एम्बाप्पे जुन लेभलमा थियो, त्यो लेभल उसका लागि पागलपन थियो। म प्रशिक्षक भएर हेर्दा उनी दिनहुँ ७ घण्टा फुटबलमा बिताउँथे। उसले निजिकबाट आक्रमक खेल खेलेको देख्दा मलाई उ भोको पेट आहाराको लागि दौडिरहेको चितुवा झै लाग्थ्यो,’ बुवा विल्फ्रेड भन्छन्।
सन् २०११ मा फ्रेन्च फुटबल आलोचित बन्यो। संघमाथि आरोप लागेको थियो,‘युथ ट्रेनिङ कार्यक्रममा कोटा प्रणालीमार्फत काला खेलाडीको सीमा तोकियो भनेर।’ तर, यो आलोचनालाई मत्थर गराउने काम एम्बाप्पेले गरे। उनी मैदानमा आगो ओकल्ने तीब्र गतिमा दौडिरहेको देखेर सबै दंग पर्थे।
करिव १३ वर्ष एकेडेमीमा ट्रेनिङ गर्ने क्रममा एम्बाप्पेले स्नातक तहको अध्ययन पनि सके। यहीँ उनले विश्व विख्यात खेलाडी क्रिश्टियानो रोनाल्डोसँग पनि भेट गर्ने मौका पाए। रोनाल्डो उनको आर्दश खेलाडी हुन्। रोनाल्डोसँगको भेटले उनलाई फुटबल खेल्न थप हौसला मिल्यो। वास्तवमा उनको खेल हेरेर रियल मड्रिडका प्रशिक्षक जिनेदिन जिदान पनि आश्चर्यमा पर्थे। सन् १९९८ मा विश्वकप जित्दा जिदानले फाइनलमा २ गोल हानेका थिए। जिदान र एम्बाप्पेको बुवा नजिक थिए। जिदानको परिवार पनि अल्जेरियाबाट फ्रान्स सरेको हो। जिदानसँगको बुवाको घनिष्ट सम्बन्धकै कारण एम्बाप्पेले आफ्नो आदर्श खेलाडी रोनाल्डोसँग सानोमा भेट्ने मौका पाएका हुन्।
रोनाल्डोलाई भेटेको दुई वर्षपछि एम्बाप्पेको जिवनले एकाएक मोड लियो। स्नातक सकेपछि एकेडेमीका उनका ‘प्रिन्सिपल’ ले राम्रो क्लबबाट खेल्न सुझाएका थिए। उनै प्रिन्सिपलले विभिन्न क्लबमा उनका लागि प्रस्ताव पनि पठाएका थिए। एम्बाप्पेका लागि उनले स्पेनिस क्लब रियल मड्रिडदेखि इंग्लिस कल्ब म्यान्चेस्टर सिटी र फ्रान्सको मोनाको क्लबसम्मलाई प्रस्ताव पठाएका थिए।
रियलमा आवद्ध हुने विषयमा त्यति बेला सोधिएको एउटा प्रश्नमा एम्बाप्पेले भनेका थिए, ‘यो मेरो लागि चन्द्रमामा जानु सरह हुनेछ। जुन कुरा मेरो लागि असम्भव छ।’
एम्बाप्पेको खेलमा हुन सक्ने निखार, युवा तथा दौडन सक्ने कला र अनुशाषनका कारण मोनाकाका व्यवस्थापक लियोनार्डाे जादिमलाई पहिले नै प्रभावित पा¥यो। उनले सिधै एम्बाप्पेका बुवालाई ४० मिलियन पाउन्डको प्रस्ताव राखे।
यो रकम अल्जेरियाबाट अप्रवासीको रूपमा फ्रान्स प्रवेश गरेको एउटा खेलाडी परिवारका लागि ठूलो थियो। विल्फ्रेडले नाइनास्ती गर्ने कुरै भएन। उनले प्रस्ताव स्विकार गरेपछि एम्बाप्पेले मोनाकोको जुनियर क्लब अवद्दका लागि पहिलो गोल १६ वर्ष ३ सय ४७ दिनमा हाने। उनले १७ वर्षको उमेरमा २० भन्दा बढी गोल गरिसकेका थिए। उनको खेल्नै शैलीबाट प्रभावित भएको मोनाकोको व्यवस्थापकीय टिमले अर्को वर्ष नै उनलाई सिनियर टोलीमा मौका दियो।
उनले च्याम्पियन्स लिगअन्तर्गत इंग्लिस क्लब म्यानचेस्टर सिटीविरूद्ध गोल गर्दै कान्छो उमेरमा गोल गर्ने कीर्तिमान पनि बनाए। उनको यो कीर्तिमानलाई अहिले बार्सिलोनाका आन्सु पातीले तोडेका छन्।
करिव तीन वर्ष मोनाकोमा बिताएपछि उनी पेरिस सेन्ट जर्मेन (पिएसजी) को नजरमा परे। एम्बाप्पेले मोनाकोबाट ए र बि टिममा गरी कूल ५३ गोल गरेका छन्। उनलाई २०१८ मा ऋण सम्झौंतामा पिएसजीले क्लबमा भित्र्याएको थियो। उनले पहिलो वर्ष नै क्लबका लागि ३३ गोल गरे र फुटबलको सर्बोच्चनिकाय फिफाले प्रदान गर्दै आएको ‘बलोन ‘डि ओर’ को टप–३मा पर्न सफल भए। हाल उनले पिएसजीका लागि ६४ खेलमा ७६ गोल गरिसकेका छन्।
२०१८ कै विश्वकपको क्वाटरफाइनमा उनले मेसीको कप्तानीमा रहेको अर्जेन्टिनालाई पराजित गर्न एक्लैले २ महत्वपूर्ण गोल गरे। फ्रान्स फाइनलमा ४–३ गोलअन्तरले विजयी हुँदै दोस्रो पल्ट विश्व विजेता बन्यो। फाइनलमा उनले आफू जन्मिएको वर्ष फ्रान्सलाई विश्व कप जिताएका जिदानको खेलको याद दिलाए। उनी प्रतियोगितामा ४ गोल गर्दै सर्वोत्कृष्ट खेलाडी समेत बनेका थिए।
अश्वेत भएका कारण र किशोर अवस्थामा उनले प्राप्त गरेको ख्यातीका कारण धेरैले उनको तुलना ब्राजिलका महान खेलाडी पेलेसँग गर्ने गर्छन। आफ्नो तुलना पेलेसँग भएपछि उनी मुसुक्क हाँसेका थिए। र, प्रतिक्रियामा भनेका थिए, ‘ पेलेजस्ता महान खेलाडीसँग मेरो तुलना हुनु चाहिनेभन्दा बढी प्रंशसा हो।’
ट्रेनिङ टिप्स
एम्बाप्पे हरेक दिन हल्का वार्मअपबाट आफ्नो अभ्यास सुरु गर्छन्। वार्मअपले शरीरलाई सन्तुलित राख्ने उनको मान्यता छ। त्यसपछि उनी शरीरमा शक्ति बढाउने किसिमका ट्रेनिङ गर्छन्। जसलाई रेजिस्ट्रेन्स ट्रेनिङ भनिन्छ।
एम्बाप्पे झनै कडा खालको एड्भान्स्ड रेजिस्ट्रेन्स ट्रेनिङ गर्छन्। त्यसपछि एम्बाप्पे कार्डियो प्रशिक्षण गर्छन्। त्यसका लागि खेल मैदानवरिपरि चक्कर लगाउँछन्। यस्तो अभ्यासले मनोबल बढाउन मद्दत गर्ने उनको विश्वास छ।
साथीको सहयोगमा एम्बाप्पे ब्यालेन्स ट्रेनिङ गर्छन्। जसले टिमका अन्य साथीबीच उनलाई सन्तुलित बनाउँछ। टिम स्प्रिट मिल्छ।
एम्बाप्पे ट्रेनिङ दौरान शरीरलाई हानि पु¥याउने कुनै पनि पदार्थ सेवन गर्दैनन्। मुड फ्रेस होस् भन्ने हेतुले एम्बाप्पे ट्रेनिङमा जानुअघि र ट्रेनिङपछि आफूलाई मन परेका गीत सुन्छन्। साथै, साथीहरूसँग रमाइलो गर्छन्।
एजेन्सीको सहयोगमा