कोरोना भाइरसले पोर्चुगलका राष्ट्रपति नै 'क्‍वारेन्टाइन'मा

एजेन्सी

एजेन्सी :

विश्‍वभर महामारीको रुप लिइरहेको कोरोनाका कारण पोर्चुगलका राष्ट्रपति समेत 'क्‍वारेन्टाइन'मा बसेका छन्।

पोर्चुगलका राष्ट्रपति मार्सेलो रेबेलो डे सौजालाई कोरोना भाइरसको आशंकामा क्‍वारेन्टाइनमा बसेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।

उनका लागि त्यहाँको सरकारले राष्ट्रपति निवासमै 'क्‍वारेन्टाइन' बनाएर राखेको हो। राष्ट्रपति सौजाले सोमबारै कोरोना भाइरसको परीक्षण गर्ने भएका छन्।

राष्ट्रपति मार्सेलो फेलुगिरासस्थित एक विद्यालयको सार्वजनिक कार्यक्रममा सहभागी भएपछि क्‍वारेन्टाइनमा जानु परेको हो। त्यस विद्यालयका विद्यार्थीहरुमा कोरोना संक्रमण पुष्टि भएपछि राष्ट्रपतिले पनि क्‍वारेन्टाइनमा बसेका हुन्। 

आइतवारदेखि क्‍वारेन्टाइनमा बस्‍न थालेका राष्ट्रपति सौजा अबको १५ दिन त्यहीँ रहनेछन्। यदि कोरोना भाइरस पोजेटिभ भेटिएमा उनले अस्पतालको आइसोलेसन वार्डमै जानुपर्ने हुन्छ।

'७१ वर्षीय राष्ट्रपतिलाई कोरोनाको लक्षण भए नभएको परीक्षण भइरहेको छ', उनको सचिवालयले भनेको छ, 'कोरोना भएको भेटिएमा नयाँ कदम चालिनेछ।'

कोरोना देखिएपछि पोर्चुगलको फेलुगिरासमा सार्वजनिक सेवाहरू ठप्प भएका छन्। विद्यार्थीलाई कोरोना पुष्टि भएपछि फेलुगीरास र लौसादाका सबसै विद्यालय बन्द गरिएको छ।

पोर्चुगलको स्वास्थ्य महानिर्देशनालयले हालसम्म त्यहाँ कोरोना भाइरसका ३१ जना संक्रमित भएको पुष्टि गरेको छ। जसमध्ये १६ जना उपचारपछि ठीक भएका छन्। पोर्चुगलमा कोरोनाबाट कसैको ज्यान नगए पनि छिमेकी मुलुक इटालीमा ३६६ जनाले ज्यान गुमाइसकेका छन्। 

कोरोना भाइरस गत डिसेम्बरमा चीनको वुहानबाट फैलिएको हो।

कोरोना भाइरस अहिलेसम्म विश्‍वका १०३ मुलुकमा पुगिसकेको छ। कोरोनाकै कारण नेपालले चीनसँग जोडिएका सिन्धुपाल्चोकको तातोपानी र रसुवाको रसुवागढी नाका बन्द गरिदिएको छ।

 

प्रकाशित मिति: : 2020-03-10 05:56:18

प्रतिकृया दिनुहोस्