चारैतिरबाट खुला कक्षाकोठा । सबै विद्यार्थी भुइँमा बसेर पढ्छन् । न ढोका छन्, न डेस्क–बेन्च । त्यसैले हिउँदमा सिरेटो र धुलोको सकस सहनै पर्छ । वर्षामा टिनको छानोबाट खस्ने पानी सीधै कक्षाकोठामा आइपुग्छ । त्यसमाथि चारैतिर चर्किएको विद्यालयको भवन भत्किने डर । तैपनि, वर्षौंदेखि त्रास बोकेर पढिरहेका छन्, अछामको तुर्माखाँद गाउँपालिका–५ नाडाको कालिकेश्वरी माविका बालबालिका ।
विद्यालय व्यवस्थापन समिति, समुदाय र विद्यालय प्रशासनको लापरबाहीले यो विद्यालयका बालविकास कक्षाहरूको अवस्था विजोग छ । यहाँ कक्षा १ देखि ५ कक्षासम्मका बालबालिका सबै भुइँमा सबेर पढ्छन् । यस विद्यालयमा साविकको नाडा गाविसका १६ बढी टोलका दुई सय ६४ बालबालिका अध्ययनरत छन् । विद्यायलमा छात्रको संख्या एक सय ३६ र छात्राको संख्या एक सय २० छ । उनीहरूमध्ये कक्षा १ देखि ५ सम्मका सानासाना बालबालिका बस्ने सबै कक्षाकोठाको अवस्था दयनीय छ ।
‘यहाँ त पढ्न होइन्, सजाय दिन पठाएको जस्तो भइरहेको छ,’ शिक्षक मनिराम थारूले भने, ‘सुविधाको अवस्था शून्य छ । कक्षामा पुगेर थचक्क भुइँमा बस्नुपर्छ । गतिलो शौचालय छैन, अन्य पूर्वाधारको अवस्था पनि नाजुक छ ।’ उनका अनुसार चौबाटोमा रहेको यो विद्यालयमा घेरा पर्खालसमेत छैन । जसका कारण बालबालिका बीचमै कक्षा छाडेर भागेर घर जान्छन् । वस्तुभाउसमेत सहजै विद्यालय परिसरभित्र प्रवेश गर्छन् । कहिलेकाहीँ त वस्तुभाउको मलमूत्रको दुर्गन्ध सहेरै पढाउनुपर्ने बाध्यता रहेको शिक्षक थारूले बताए ।
व्यवस्थापन समितिमा भने होड
पूर्वाधार र सुविधाको हिसाबले नाजुक रहे पनि विद्यालय व्यवस्थापन समितिको अध्यक्ष बन्न भने हानथाप हुने गरेको छ । विद्यालयमा भौतिक तथा शैक्षिक गुणस्तर सुधारमा भने कसैले पनि प्रभावकारी चासो नदिँदा अवस्था झन् बिग्रिँदै गएको प्रधानाध्यापक देवचन्द्र भण्डारीले बताए । ‘विद्यालयमा हुनुपर्ने कुनै पनि वातावारण यहाँ छैन,’ प्रअ भण्डारीले भने, ‘अफिस भताभुंग छ, कक्षाकोठा लथालिंग छन् । यस्तो हुँदा पनि कतैबाट चासो दिइएको छैन ।’