नयाँ पत्रिका फ्रन्ट लाइन
रेखा थापा
संसद्मा पुगेका महिलाको भूमिका के छ ? कोट र लिपिस्टिक लगायो, ताली पड्कायो । खोइ संसद्को नीति निर्माणमा महिलाको हस्तक्षेप ?
नेपाली चलचित्र उद्योगमा म अहिले जुन ठाउँमा छु, आरोह–अवरोह पार गर्दै र आलोचना खेपेरै आइपुगेकी हुँ । यसबीचमा मैले आफ्नो कला देखाउने र जीविका चलाउने मात्र होइन, नेपाली चलचित्र उद्योगमा महिलाको नायकत्व किन हुँदैन भनेर जवाफ खोज्ने प्रयास पनि गरेकी छु । तर, उपयुक्त जवाफ अहिलेसम्म फेला परिसकेको छैन ।
चलचित्र उद्योगलाई अलिक पर राखेर समग्र देशकै कुरा गर्ने हो भने राज्यसत्ताको माथिल्लो ओहदादेखि तल सडकसम्म रहेका महिलाको अवस्था कस्तो छ ? राष्ट्रपतिजस्तो पदमा महिलाले प्रतिनिधित्व गरिरहँदा यो देशका कति दिदी–बहिनीले सडक र आफ्नो पेसामा सुरक्षित र समानताको अनुभूति गरेका छन् त ? आज बहस गर्नुपर्ने विषय यो हो ।
हाम्रो चलचित्र उद्योगमा अधिकांश महिला पात्रलाई कमजोर, पीडित र सहानुभूतियोग्य देखाउने गरिन्छ । प्रश्न के उठ्छ भने महिला साँच्चै कमजोर, पीडित र सहानुभूतिका पात्र मात्रै हुन् ? यसै प्रश्नले मलाई सधैँ घोचिरहन्छ । त्यसैले कम्तीमा मैले आफैं बनाउने चलचित्रमा महिलालाई कमजोर देखाउनु हुन्न भन्ने मान्यता बोकेकी छु । मैले कहिल्यै पनि महिलाका दुःख, पीडा, संवेदना देखाउनुलाई मात्र महिला सशक्तीकरणको मार्ग हो भनेर स्विकारिनँ । मानिसको दुःख, पीडा, संवेदना एउटा पक्ष हो भने सशक्तीकरण अर्को पक्ष हो । यी दुवैलाई एकै अर्थमा बुझ्नुहुँदैन भन्ने मेरो मान्यता छ ।
हाम्रो चलचित्र उद्योगमा ‘नायिकाको रोदनले निर्मातालाई फाइदा हुन्छ’ भन्ने धारणा थियो । तर, वास्तविक जीवनमा के पुरुष कहिल्यै रुँदैनन् ? रुन्छन्, तर चलचित्रमा किन महिलालाई मात्र रुवाइराख्ने ? खासमा चलचित्र निर्माताले महिलाको छेको पारेर पुरुषका संवेदनालाई नजरअन्दाज गरेका हुन् । यसले महिलालाई मात्र होइन, पुरुषलाई पनि अन्याय गरेको छ ।
मैले चलचित्र बनाउने मेसोमा देशव्यापी अभियान गरेँ र धेरै बाबुआमा भेटेँ । त्यहीँबाट मैले हाम्रो कमजोरी कहाँ रहेछ भन्ने बुझेँ । मानिसलाई लाग्दो हो, राज्यसत्ता र चलचित्रको के सम्बन्ध छ ? चलचित्र त आखिर मनोरञ्जन मात्रै हो भन्ने मानसिकता बोकेका निर्माता–निर्देशकले आफ्नै कर्मलाई पनि अवमूल्यन गरेका छन् । होइन भने राज्यसत्ताको चरित्रले सिनेमालाई पनि प्रभावित पार्छ । जबसम्म देशको राज्यसंरचनाको कमजोर सांस्कृतिक धरातल भत्काउन सकिँदैन, तबसम्म अर्थपूर्ण सिनेमा बनाउन सकिँदैन । र, त्यस्तो चलचित्रले समाजलाई पनि कुनै सन्देश दिन सक्दैन । कुनै चेत र सन्देश नबोकेको चलचित्रले महिला अथवा पुरुष कसैको पनि सशक्तीकरणमा योगदान गर्न सक्दैन ।
हुन त महिलाको चरित्रलाई लिएर समाजमा कैयौँ शताब्दीदेखि नकारात्मक धारणा छ । यसैको परिणाम हो, हामीले लगाएको लुगामा पनि समाजले बारम्बार खोट देख्छ । त्यसैले समाजलाई अघि बढाउने मानिस जहिले पनि बागी बन्नुपर्छ । तर, हाम्रा महिलाको मस्तिष्कमा सत्ताले एउटा यस्तो चित्र कोरिदिएको छ, जसबाट उनीहरूलाई बाहिर निस्कन अहिले पनि धौ–धौ परेको छ । सत्ताले एकैदिनमा यो चित्र कोरेको भने होइन । आज पनि हाम्रा दिदी–बहिनीलाई अरूले के भन्लान् भन्ने चिन्ता छ । तर, बागीलाई केको चिन्ता ? त्यसैले महिलाले सामाजिक संस्थाहरूलाई मान्नेभन्दा पनि आफैँमा एउटा संस्था भएर उभिनुपर्नेछ । इखले पनि बाँच्न सिकाउँछ ।
अहिले पनि महिला अरू कसैको नजरमा सुन्दर, सुसंस्कृत देखिनुपर्ने, अरू कसैले उनीहरूलाई राम्रो भनिदिनुपर्ने, के यो दृष्टिदोष होइन ? के उनीहरूको छुट्टै अस्तित्व छैन ? हामीले हाम्रो अस्तित्व देखाउन अरूबाट अनुमोदन पर्खने होइन, सही र गलतको निर्णय आफैँले गर्ने हो । तपाईंलाई आफूले सही गरिरहेकी छु भन्ने लाग्छ भने समाजको मतलब गर्ने होइन । तर, सवाल अझै पनि सकिएको छैन । चुरो कहाँ छ भने महिला आफैंलाई पनि शृंगारिक वस्तु बन्ने बानी लागेको छ । यो आफैँमा एउटा कुलत हो । चलचित्र उद्योगलाई मात्र होइन, संसद् भवनलाई नै हेरे पुग्छ । अपवादलाई छाड्ने हो भने अधिकांश महिला शृंगारिक वस्तुका रूपमा मात्र देखिन्छन् । कोट लगायो, लिपिस्टिक लगायो, अनि संसद्मा ताली पड्कायो । के उनीहरूसँग विद्रोह गर्ने शक्ति र सामथ्र्य छ ? दिनदिनै बलात्कारका घटना भइरहँदा महिला सांसद कहाँ छन् ? यो आफैँमा खोजीको विषय बनेको छ । मूल कुरा के हो भने सत्तादेखि सडकसम्म महिलालाई शृंगारिक वस्तुमै सीमित राखिएको छ । महिलालाई ‘तिमीहरू महिला मात्र हौ’ भनेर अनुभूत गराइएको छ । महिलाहरू त्यहाँबाट उठ्न सक्नुपर्नेछ । मेरो कुरा गर्दा मैले आफूलाई कहिल्यै पनि महिला मात्र भएको आभास हुन दिइनँ । किनभने म आफ्नो संरक्षण आफैँ गर्न सक्छु ।