प्रेमको पीडा पखाल्ने ‘फिट्किरी’

बाह्रखरी

काठमाडौं

रत्न प्रजापति

‘प्रेम र क्यान्सर उस्तैउस्तै हुँदारै’छन् क्यारे । दुवै विस्तारैविस्तारै, थाहै नभई फैलने ।’नयाँ पुस्ताका लेखक सीधै उपन्यास लेख्छन् । मान्नैपर्छ यो आँट र हिम्मतलाई । पहिलापहिला छोटा विधाका छोटाछोटा मुक्तक, गीत, गजल हुँदै कविता र कथा लेख्न थालिन्थ्यो । थोरैले मात्रै उपन्यास लेख्ने आँट गर्थे । धेरै त कथासम्म पुगेर रोकिन्थे । अहिले त लेखनको सुरुवातै उपन्यासबाट गर्छन् । नयाँ पुस्ताको सिर्जना क्षमतालाई सलाम गर्नैपर्छ । भलै त्यो सिर्जना स्तरीय होस् वा नहोस्, पाठकले रुचाएकै छन् कतिपय नयाँ पुस्ताका लेखकको सिर्जनालाई । 

पहिलापहिला देवकोटाको ‘मुनामदन’, माधवप्रसाद घिमिरेको ‘गौरी’, गुरूप्रसाद मैनालीका ‘नासो’ अथवा ‘परालको आगो’, अथवा ‘बिदा’, गोविन्द गोठालेको ‘पल्लो घरको झ्याल’, विजय मल्लको ‘अनुराधा’ अथवा ‘कोही किन बरबाद होस्’, विश्वेश्वरप्रसाद कोइरालाका ‘सुम्निमा’ अथवा ‘नरेन्द्रदाइ’ आदिबाट साहित्यको पठन सुरु गर्थे । अहिले भने सीधै जेके रोलिङबाट सुरु गरेर चेतन भगत, पाउलो कोहेलो हुँदै हारुकी मुराकामी पढ्न थाल्छन् । त्यसैले पठनमा जस्तै लेखनमा पनि एक प्रकारको छलाङ मारेको अवस्था छ । सीधै उपन्यासबाटै थाल्छन् आफ्नो लेखन अहिलेका लेखकहरू । लेखनको धार पनि फरक छन् अहिलेका लेखकका । अङ्ग्रेजी साहित्यबाट प्रभावित भएर होला, नेपाली साहित्य लेखनमा पनि फरकफरक धार देखिन थालेका छन् । परम्परागत नेपाली धारलाई युवालेखकले कमै पछ्याएको पाइन्छ । यसो त धेरैजसो युवालेखकहरू प्रेमकथामै सीमित छन् । फरक कथ्यशैली र प्रस्तुतिमा नयाँपन पनि भेटिन्छ । लेखनमा क्रमबद्धता हुनुपर्छ भन्ने पुरानो मान्यतालाई केही युवालेखकले भङ्ग गरेका छन् । जहाँबाट पनि सुरु गर्न सकिने, जसरी पनि कथानकलाई अघि बढाउन सकिने र जसरी पनि अन्त्य गर्न सकिन्छ भन्ने मान्यतालाई नयाँपुस्ताका युवालेखकले स्थापित गर्न खोजेको आभास हुन्छ ।

प्रकाशित मिति: : 2020-03-08 02:32:23

प्रतिकृया दिनुहोस्