आज मन कति खुशी छ मेरो। यो होस्टेलमा आएदेखि सायद पहिलोपल्ट खुलेर हाँस्ने बाहना पाएकी छु मैले। किन किन उसले हरेकपटक गरेको फोनले मेरो सारा दुख बिर्साईदिन्छ। ऊसंग कुरा हुन थालेको भर्खरै एक हप्तामात्रै भयो तर पनि यस्तो लाग्छ कि म उसलाई बर्षौदेखि चिन्छु। तर अहिलेसम्म भेट्ने मौका भने मिलेको थिएन। व्यस्त जीवनमा आफूले मन पराएको मान्छेसंग दुई मिनेट भेटेर कुरा गर्न पनि कति मुस्किल पर्दोरहेछ। मसंग पनि समय त कहाँ छ र। सदनदेखि सडकसम्मका व्यक्तिहरुलाई भेट्नुपर्ने अनि नुनदेखि सुनसम्मका कुरा समेटेर समाचार बनाउनपर्ने। दुबैजाना व्यस्त भएरै होला भेट्नेभन्दा भन्दै भेट्ने साईत नै नजुरेको। आजै हो उसले बल्ल बल्ल समय मिलाएको।
अंग्रेजीमा विद्यावारिधी गरेको सम्राट हेर्दा कति सरल छ। बाँस जति हलक्क बढे पनि सधै निहुरेकै हुन्छ भने झैं होला उसमा अलिकति पनि घमण्ड छैन। बोलीबचन र व्यवहार पनि उत्तिकै मिठो। भेट्न त मैले मेरी साथीको जन्मदिनको पार्टीमा एकपटक मात्रै भेटेकी हुँ उसलाई। एकै झलकमा उसले मलाई मनपराएको खबर साथी मार्फत् थाहा पाएपछि म पनि फुरुङ्गै भएँ। त्यसैदिन उसले साथीसंग मेरो फोन नम्बर मागेको रहेछ मलाई थाहै थिएन।
मलाई कताकता डर पनि लागिरहेछ। आज सम्राटलाई भेटेपछि मैले मेरो विगतको बारेमा सुनाउनैपर्छ। हुन त मेरो विगतको बारेमा मेरो बहिनी र दाईहरुलाई बाहेक कसैलाई पनि थाहा छैन। तर सबैकुरा लुकाएर गरेको मायाको के अर्थ रह्यो र ? अह ! म केही लुकाउन चाहन्न सम्राटलाई। यसै पनि उ पढेलेखेको छ यति कुरा त बुझिहाल्छ नि।
***
चितवनमा जन्मेर हुर्केकी मैले सानैदेखि हरेक कुरामा संर्घष गर्नुप¥यो। बुवालाई राम्रोसंग चिन्न पनि नपाउँदै छोडेर जानुभयो। बुवा गएको बर्षदिनमै आमा पनि बुवाकै पछि लाग्नुभयो। बाचुञ्जेल पनि बुवाआमा एकछिन पनि एकअर्काबाट छुटिनु भएन। सायद त्यसैले पनि होला स्वर्ग पनि संगसंगै जस्तो जानुभयो। त्यसपछिका दिनहरु झनै संर्घषमा बित्यो।
दुईवटा दाईले विवाह गरेर बस्नुभएको थियो। दिदिको पनि राम्रै ठाउँमा विवाह भएको थियो। मलाई चाहिं किनकिन खासै विवाह गर्न मन थिएन। तर मन नभएर के हुँदो रहेछ र। बुवाआमा बाहेक अरुले त कुरा पनि कहाँ बुझ्छन् र। भाउजु विवाह गरेर ल्याएपछि बिस्तारै दाईहरु परिवर्तन हुदैं गए। भाउजुले आफ्नो फूपू पर्नेको छोरासंग मेरो विवाहको कुरा चलाउनु भयो। आमा समान भाउजुले खोजेको केटालाई मैले नकार्ने कुरै भएन।
भारतको मिडियामै काम गरेर बसेको नेपाली केटा सजल खनालसंग मेरो विवाह सामान्य रुपमा सम्पन्न भयो। सजलको काम भारतमै भएको कारणले विवाहको दोश्रो दिनमै म भारत गएँ मेरो लागि नितान्त अपरिचित व्यक्ति सजलको साथमा। सजलको बुवाआमा नेपालमै बस्नुहुन्थ्यो। त्यसैले सजलको फूपु, सजल र म भारत हिड्यौं।
भारत पुगेको रात म उसको व्यग्र प्रतिक्षामा थिएँ। विवाह पछि त्यो नै पहिलो रात थियो जब हामीले एकअर्काको भावना साट्ने मौका पाएका थियौं। मनभरी अनेकौं कौतुहलता बोकेर म उसैलाई पर्खिरहेकी थिएँ जोसंग मेरो अबको यात्रा तय भएको थियो।
निकैबेर भईसक्दा पनि बेडरुममा नआएपछि म उसलाई खोज्दै बेडरुमबाट बाहिर निस्कें। सजल लाउन्ज रुममा बसिरहेको थियो। म जाने बित्तिकै ऊ झसङ्ग भयो। मलाई देखेर ऊ जति झस्कियो त्यो भन्दा बढी त म झस्कें। लाउन्ज रुमको एउटा कुनामा बसेर ऊ जुत्ताको सोल सँुघिरहेको थियो। विवाह गरेको तीनदिन पनि पूरा नहुँदै देखिएको त्यो कहाली लाग्दो दृश्य मेरो आँखाले देखे पनि मनले विश्वास गर्न सकिरहेको थिएन। त्यो दृश्य देखेपछि सजल लाघुपदार्थको कुलतमा छ भन्ने कुरा ठम्याउन मलाई केही गाह्रो भएन। मैले सजललाई त्यो हालतमा देखेपछि न सजल मसंग बोल्न सक्यो न त शिर ठाडो पारेर हेर्न नै। रातको दश बजिसेकेको थियो। उसलाई देखेर एक्कासी चिच्याउन पुगें। मैले चिच्याएको आवाज सुनेर उसको फूपु समेत अर्धनिन्द्रमै तल ओर्लिनुभयो।
उहाँले कडा स्वरमा प्रश्न गर्नुभयो। “यो आधा रातमा के तमासा देखाएकी सिम्रन, के भो किन चिच्याएकी ?”मेरो आँखाले देखेजति सबैकुरा फूपुलाई बताईदिएँ तर उहाँले मेरो सबैकुराको यसरी प्रतिक्रिया जनाउनु भयो कि मानौं केही भएकै छैन। “सजलको यो बानी हाम्रो लागि कुनै नौलो कुरा हैन विवाह गरेपछि सुध्रिन्छ कि भनेरै हामीले उसको विवाह गरिदिएका हौं। अब तिमी विवाह गरेर धेरै पर आईसक्यौ। यही नै तिम्रो घर हो। आफ्नो ईज्जतको नि ख्याल गर अनि चुपचाप यही बस।” नारीको दुश्मन नारी नै हुन्छ भन्ने सुनेकी थिएँ सजलकी फूपुले प्रमाणित नै गरिदिनु भयो। त्यति भयानक घटनालाई उहाँले कति साधारण तरिकाले भन्नुभयो।
सजलको कुलतको पर्दाफास भएपछि मैले कहाँ जाने र के गर्ने भन्ने बारे सोच्न पनि सकिन। अचानक सि.ए पढ्दै गरेकी मेरी बहिनीको मलाई याद आयो। मैले तुरुन्तै उसलाई फोन गरें। सबैकुरा सुनेपछि उ राती नै म बसेको ठाउँमा आई। म सजलको तीनदिनको साथलाई त्यही छोडेर बहिनीसंग गएँ।
बहिनीसंग बसुन्जेल सजलले एक कल फोन गर्ने चेष्टा समेत गरेन। बरु उल्टै उसको फूपुले मेरो बारेमा भए नभएको कुरा नेपालमा फोन गरेर लगाउनु भएछ। बहिनीसंग बिदा मागेर म नेपाल फर्के। नेपाल फर्केर सरासर घर गएँ। सानो दाई र भाउजु अमेरिका गईसक्नु भएछ। घरमा ठूलो दाई मात्रै हुनुहुन्थ्यो। ठूल्दाई त मलाई देखेर खुशी हुनुभयो। मैले सोचें सजलको फूपुले जे भनेपनि मेरो लागि दाई भाउजुको मनमा उत्तिकै माया रहेछ। तर म त गलत रहेछु। माया त दाईको मनमा मात्रै रहेछ। जब भाउजु बाहिरबाट घरभित्र पस्नु भयो अनि ठूलो ठूलो स्वरमा दाईसंग झगडा गर्न थाल्नुभयो। उहाँ भन्दै हुनुहुन्थ्यो “सिम्रनलाई खुरुक्क यो घरबाट निस्केर जानु भन हैन भने म माईती जान्छु।” अचम्म लाग्यो मलाई जब उहाँलाई रिस उठ्दा आफ्नो माईती जान मन लाग्छ भने फेरि म आफ्नो माईती बस्दा उहाँलाई के आपत्ती ?
मेरो कारणले म दाइलाई कुनै असहज नहोस भन्ने उदेश्यले मैले एक रातमात्रै बसेर भोलिपल्टै काठमाण्डौ आएर फल्याटमा बस्न थालें। पत्रकारिता गर्दागर्दै बिचैमा छोडेर गएकी थिएँ फेरि त्यही सुरु गरें। म जुन घरमा फल्याटमा बस्थें त्यहाँको घरबेटी बुवा साह्रै मिजासिलो हुनुहुन्थ्यो। उहाँकी श्रीमती अर्थात् घरबेटी आमा पनि मलाई साह्रै माया गर्नुहुन्थ्यो। घरमा मिठो पाक्यो भने मलाई खान बोलाई हाल्नुहुन्थ्यो। मलाई फेरि आफ्नो बुवाआमाको अर्को रुप भेटे जस्तो लाग्थ्यो।
काठमाण्डौ आएको एक महिनामा बडो मुस्किलले मेरो र सजलको कानुनी रुपमा डिर्भोस भयो। यसबिचमा मलाई सजलको बुवाआमाले एकपटक पनि कुरा गर्न आउनुभएन। उहाँहरुसंग एकैपटक अदालतमा भेट भयो सजलको साथमा। सजलको अवस्था टिठ लाग्दो थियो। दुब्लाएर हाड र छालामात्रै बाँकि रहेछ। जे भए पनि विवाहको पहिलो रातको त्यो दृश्य मैले बिर्सेकी थिइन।
सजलसंग कानुनी रुपमा डिभोर्स भएपछि मेरो लागि घरबेटी बुवा र आमाकोे हेर्ने नजरमा एक्कासी परिवर्तन भयो। केही दिन अगाडीमात्र छोरी जस्तो सोच्ने मेरा महान घरबेटी बुवाआमाको नजरमा म चरित्रहिन महिला भएँ। मात्र यसकारणले कि मेरो डिभोर्स भएको हो। मलाई घर छोडेर जान हुकुम दिएपछि म निस्केर यस होस्टेलमा आएर बसेकी हुँ।
ओहो म त सोच्दा सोच्दै झण्डै सम्राटलाई भेट्न जानै बिर्सेको। ऊ मलाई पर्खिरहेको होला। नभन्दै सम्राटको फोन आयो। म हतारहतार उसलाई भेट्न निस्कें। बालाजुदेखि दरबारमार्ग सम्म पुग्दा बाटोभरीको जामलाई छिचोल्दै अन्गिन्ती सपनाहरु संगालिरहें। होस्टेलको भात खाँदा खाँदा वाक्क भएको मेरो मुखले अब मिठो खानेकुरा पाउने छ। एक्लै हिड्दा हिड्दै अडेका मेरा पाईलाहरुले संगसंगै चाल्ने अर्को पाईला भेट्ने छन्। हरेक रात निन्द्रा नलागेर लठ्ठ पर्ने मेरा आँखाहरुले मिठो निन्द्रा पाउने छन्। एक्लो असहज मेरो जिन्दगीले सहजता पाउनेछ, आड र भरोसा पाउने छ। यस्तै सपना सजाउँदा सजाउँदै दरबारमार्ग आईपुग्यो।
सम्राट मलाई पर्खेर बसिरहेको रहेछ। मलाई देख्नासाथ उसको मुहारमा अनौठो किसिमको चमक आयो। सम्राटसंग बसेर कफि पिईसके पछि मैले निकै साहस बटुलेर उसलाई सबैकुरा भनें। डिभोर्स भएको कुरा भनें। मैले डिर्भोस भएको कुरा भन्नासाथ अघिसम्म चमक देखिएको सम्राटको मुहारमा एकाएक बादल लाग्यो। उसले भन्यो “म अहिलेसम्म विवाह नगरेर बसेको कुमार केटाले डिभोर्स गरेको केटी विवाह गर्न कसरी सक्छु र ?, सरी सिम्रन म तिमीसंग अघि बढ्न सक्दिन। उसको कुरा सुनेर मलाई पुषको जाडोमा पनि चिट्चिट् पसिना आयो। अरुबाट जे जस्तो भए पनि कमसेकम पढेलेखेको सम्राटबाट मैले त्यस्तो आशा गरकी थिइन। कुमारी त म पनि कुमारी नै थिएँ। विवाह गरेर गएपछि एक रात पनि श्रीमानको नजिक समेत नपरेकी म कसरी बिटुलो भएँ ? के सिउँदोमा परेको एक चिम्टी सिन्दुरले मात्रै मेरो चरित्रको निर्धारण गर्छ ? के त्यही एक चिम्टी सिन्दुरले मात्रै मलाई बिटुलो बनायो ? म त सुरुकै रात घर छोडेर बहिनीको घरमा गएर बसेकी थिएँ। तर यो समाज र सम्राट जस्तो पढेलेखेको शिक्षितले पनि सिउँदोमा कसैको सिन्दुर परेको थाहा पाउनासाथ बिटुलो सोच्छ भने यसमा दोष कसको ?
मलाई बिटुलो देखेर छोड्ने सम्राट के देशविदेश घुमिसक्दा पनि चोखै छ त ? ऊ कुमार छ कि छैन भन्ने कुरामा कुनै प्रश्न उठ्दैन ? मैले चाहेको भए उसलाई मेरो विगतको बारेमा नसुनाउन पनि त सक्थें। तर मेरो मनले मानेन। यसकारण कि मैले यो कुरा लुकाएँ भने मेरो मनभित्रको लठ्ठीले मलाई सधैं हानिरहनेछ। एकैछिन अगाडीको उसको प्रेमिल मुहारमा अचानक म प्रति घृणा झल्कियो। उसको मुहारभित्र झल्केको त्यो घृणाले मेरो मनभित्र पुन आगो सल्कियो।
हामी दुबैबिचको असमझदारीको घैंटो प्वाट्ट फुट्यो, निथ्रुक्क हामी दुबैजानालाई भिजायो र छताछुल्ल पोखियो। त्यो असमझदारीसंग सम्झौता गर्न चाहेन सम्राट। जतिसुकै पढे पनि देशविदेश घुमेपनि पुरुषभित्रको पतृसतात्मक सोच कहिल्यै परिवर्तन हुन नसक्ने रहेछ। यदी मनभित्र कुनै करुणा पलाएन भने के काम त्यो विद्यावारिधीको ? म निरिह, निर्दोष र नगुमेको मेरो कुमारीत्वलाई तिमी जस्तो पढेलेखेकोले त स्विकार्न सकेनौं भने अरु कसले सक्छ ? शिक्षित वर्गले परिवर्तन गर्न नसकेको यो समाज कसले परिवर्तन गर्ला त ?