हङकङमा घरपालुवा कुकुरमा देखियो कोरोनाको संक्रमण, क्वारेन्टाइनमा राख्ने तयारी

हङकङमा घरमा पालेको कुकुरमा समेत कोरोना भाइरस अर्थात कोभिड–१९० को संक्रमण देखिएको छ। बुधबार हङकङका स्वास्थ्य अधिकारीहरुले कुकुरमा कोरोना संक्रमण भएको पुष्टि गरेका हुन्।

स्वास्थ्य अधिकारीहरुका अनुसार कुकुरमा कोरोना संक्रमण मानिसबाट सरेकाे हाे।  यसअघि जनावरबाट मानिसमा संक्रमण भएको भनिए पनि मानिसबाट जनावरमा संक्रमण भएको यो पहिलो घटना भएको साउथ चाइना मोर्निङ पोस्टले जनाएकाे छ।

समाचारमा उल्लेख भएअनुसार पोमरेनियन प्रजातिको कुकुरको गत शुक्रबारदेखि नै परीक्षण भइरहेको थियो। सुरुमा एकदमै न्यून रुपमा संक्रमण भएको बताइएको थियो। कुकुरको नाक वा मुख कोरोना संक्रमण हुन सक्ने सिँगान तथा र्‍यालजस्ता चिजको सम्पर्कमा पुगेको हुन सक्ने स्वास्थ्य अधिकारीहरुले जनाएका छन्।

संक्रमण देखिएपछि उक्त कुकुरलाई क्वारेन्टाइनमा राखिने समाचारमा जनाएको छ।

‘कुकुरमा कोरोना पोजिटिभ देखिएको छ। कृषि, मत्स्यपालन तथा संरक्षण विभागमा उसलाई क्वारेन्टाइनमा राखिनेछ,’ हङकङकी स्वास्थ्य मन्त्री सोफिया चान सिउ चीले नियमित पत्रकार सम्मेलनमा भनिन्। नियमित रुपमा कुकुरको स्वास्थ्य चेक गरिने र नेगेटिभ नदेखिएसम्म क्वारेन्टाइनमै राखिने पनि उनले जानकारी दिइन्।

विभागले हङकङ विश्वविद्यालय, सिटी विश्वविद्यालय र पशु स्वास्थ्यसम्बन्धी विश्व संगठनसँग पनि यसबारेमा परामर्श गरिरहेको बताएको छ। 

सिटी विश्वविद्यालयकी पशु स्वास्थ्य विज्ञ भेनेसा बार्सका अनुसार सन् २००३ मा सार्स महामारीका बेलामा पनि केही कुकुरमा न्यून तहको संक्रमण देखिएको थियो। घरबेटीलाई कोरोनाको संक्रमण देखिएकाले पोमरेनियन प्रजातिको कुकुरमा देखिएको संक्रमण अचम्मित पार्ने खालको पनि नभएको उनले बताइन्। 

अहिलेसम्म गरिएका खोज अनुसन्धान र प्रमाणका आधारमा कोरोना मानिसबाट मानिसमा मात्रै सरेको देखिएकाले नआत्तिन उनले आग्रह गरिन्।

गत डिसेम्बरमा चीनको वुहानबाट फैलिएको कोरोनाको संक्रमणबाट हङकङमा अहिलेसम्म २ जनाको मृत्यु भएको छ भने १०३ जनामा संक्रमण देखिएको छ।

प्रकाशित मिति: : 2020-03-05 22:01:46

प्रतिकृया दिनुहोस्