लेखक खगेन्द्र लामिछानेको निर्देशनमा बनेको फिल्म ‘पानीफोटो’ले आफ्नो प्रदर्शन मिति तय गरेको छ।
लामिछानेले फिल्म आउँदो साउन ३० गतेका लागि प्रदर्शन मिति तय गरेका हुन्।
‘टलक्जंग भर्सेस टुल्के’, ‘पशुपती प्रसाद’, ‘धनपति’ लगायतका फिल्म लेखन तथा अभिनय गरिसकेका लामिछाने फिल्म ‘पानीफोटो’बाट निर्देशनमा डेब्यु गर्न लागेका हुन्।
निर्देशक तथा लेखक लामिछानेकै जीवन सङ्गिनी रोजिना सिटौला र रविन्द्र बज्राचार्यको लगानी रहेको फिल्ममा द्वन्द्वकालीन घटनाको किस्सा र बेपत्ता सन्तानको पर्खाइमा रहेका अभिभावकको वेदना समेटिएको छ।
फिल्ममा कलाकार लामिछानेसँगै, अनुप बराल, मेनुका प्रधान, प्रकाश घिमिरे, माओत्से गुरूङ, बुद्धी तामाङ, कमलमणि नेपाल, मलिका महतलगायतको अभिनय छ।