इटालीमा कोरोना भाइरस अर्थात कोभिड–१९ का कारण अहिलेसम्म १०७ जनाको मृत्यु भएको छ। युरोपमा सबैभन्दा बढी प्रभावित भएको देश इटाली हो।
इटालीमा अहिलेसम्म तीन हजार भन्दा बढी मानिसमा संक्रमण पुष्टि भएको छ। इटालीको उत्तरी क्षेत्रमा कोरोनाको संक्रमण फैलिएको छ। तर देशका २० क्षेत्र मध्ये १९ क्षेत्रमा कोरोनाको संक्रमण पुष्टि भएको छ।
इटालीले बिहीबारदेखि १० दिनका लागि सबै विद्यालय बन्द गर्ने भएको छ।
यस्तै सबै व्यवसायिक खेलकुद प्रतिस्पर्धाहरु बन्द रंगशालामा हुने भएका छन्। यसरी बन्द रंगशालमा हुने खेलमा इटालियन सिरी ए फुटबल अन्तर्गतका खेलहरु पनि छन्। युभेन्ट्स र एसी मिलानबीच बुधबार युभेन्टसको मैदानमा हुने तय भएको खेल स्थगित भएको हो।
विश्वभर कोरोना भाइरसका कारण झण्डै ३२ सय जनाको ज्यान गएको छ। यस्तै ९० हाजर भन्दा बढी संक्रमित भएका छन्। संक्रमित हुनेमा अधिकांश चीनका छन्।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले अहिलेसम्म कोरोना भाइरसलाई विश्वव्यापी महामारी घोषणा गरेको छैन। तर जर्मनीका स्वास्थ्य मन्त्रीले बुधबार कोरोना भाइरसको संक्रमणलाई विश्वव्यापी महामारी घोषणा गरिनु पर्ने बताएका छन्।