क्यान्सरका कारण करिब डेढ वर्ष फिल्मबाट बाहिर रहेका इरफान खान पुनः फिल्ममा फर्किदैछन्। उनी होमी अदजानिया निर्देशित फिलम ‘अंग्रेजी मिडियम’ मार्फत बलिउडमा फर्किन लागेका हुन्।
इरफानले मुम्बई मिररलाई दिएको अन्तर्वार्तामा क्यान्सरको लडाईंमा परिवारले दिएको सहयोग र समर्थनको खुब तारिफ गरेका थिए।
उनले अन्तर्वार्तामा आफ्नो जीवनमा थुप्रै उतारचढाव देखिएको बताए। ‘कहिले काहीँ अनिश्चितताको बीचमा पनि थुप्रै खुसी लुकेको हुन्छ। हामी रुएउ कम हाँस्यौं बढी,’ उनले परिवारको विषयमा बताए।
उनले श्रीमतीका लागि आफू बाच्न चाहेको पनि बताए। ‘म श्रीमति सुतापाका लागि अझैं बाच्न चाहन्छु। उनले मेरो हेरचाह गरिन। उनैको कारण म बलियोसँग उभिए। छोरा बाबिल र अयानबाट पनि खुब सहयोग प्राप्त भयो। किशोर केटाकेटीको लागि यस्तो समय निकै कठिन हुन्छ। यही बहानामा मैले उनीहरूलाई ठूलो हुँदै गरेको देखेँ,’ इरफानले भने।
‘अग्रेंजी मिडियम’ को ट्रेलर १३ फेब्रुअरीमा रिलिज गरिएको थियो। यसअघि उनले एउटा भावुक भिडियो शेयर गरेका थिए। उनले भिडियो सन्देशमा बिरामीका कारण आफूले फिल्म प्रमोट गर्न नपाउने बताएका छन्।
इरफान २०१८ को मार्चदेखि न्युरोएन्डोक्राइन ट्युमरबाट पीडित छन्। यो रोगको उपचारका लागि उनी अमेरिकामा थिए। उनको नयाँ फिल्म २०१७ मा प्रदर्शन भएको ‘हिन्दी मिडियम’ फिल्मको सिक्वेल पनि हो। जसको निर्देशन साकेत चौधरीले गरेका थिए। फिल्म २० मार्चमा रिलिज हुँदैछ। फिल्ममा इरफानलगायत करिना कपुर, राधिका मदान, दीपक डोबरियाल, किकु शारदा, डिम्पल कपाडिया र रणवीर शौरीको मुख्य भूमिका छ।